थारू माघीले जोडेको संसार

मदन चौधरी

नेपालमा थारूहरूको बसोबास पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म छ। देशकै चौथो ठूलो जनसंख्या भएको थारू समुदायमा भाषा, संस्कृति र चाडपर्वमा ठूलो विविधता छ। झापामा बोलिने भाषा सुनसरी आइपुग्दा फरक हुन्छ। प्रत्येक तीन जिल्लाको फरकमा थारू भाषामा विविधता पाइन्छ। चाडपर्वमा पनि थारूहरूको विविधता छ। सम्पूर्ण थारूले माघ १ लाई नयाँ वर्षको रूपमा मनाउँछन्। तर यसलाई ठाउँअनुसार तिला सकराइत, खिचरी, खिचडा, माघलगायत विभिन्न नामले मनाउने चलन छ।

विविधताले नै होला, थारू समुदाय पूर्व र पश्चिमका नाममा विभाजित थिए। पूर्व र पश्चिमका थारूहरूमा एकअर्कालाई ‘डोमिनेट गर्ने’ प्रवृत्ति थियो। त्यो प्रवृत्ति दुई दशकअघिसम्म विद्यमान थियो। यही प्रवृत्तिलाई मेटाउने काम गर्‍यो माघी महोत्सवले। २०५८ सालमा पहिलोपटक काठमाडौंमा थारू माघी महोत्सव आयोजना भयो। पढाइ वा कामका सिलसिलामा काठमाडौं उपत्यकामा रहेका थारूहरूले संगठित रूपमा माघी महोत्सवको शुभारम्भ गरेको थियो। जसको संयोजन थारू कल्याणकारिणी सभाले गरेको थियो।

यही महोत्सवले पूर्व र पश्चिमका थारूहरूबीच सद्भावमात्रै कायम गरेन, दुई क्षेत्रबीच आत्मीय सम्बन्ध विस्तारको बीजारोपणसमेत गर्‍यो। यही महोत्सव पश्चिम तराईमा कुरितको रूपमा रहेको कमलरी प्रथा उन्मूलनको कारक तत्त्व बन्यो। थारू पर्वमा सार्वजनिक बिदा दिनुपर्छ भनी बहस सिर्जना गर्‍यो। अनि गर्‍यो थारू परिकार घोङी, ढिक्री, खिचडी, अन्दीको भातलाई प्रवद्र्धन। जसले थारू पहिरन लेहेंगा, धोतीलाई चिनायो। समग्रमा थारू पहिचानलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चिनाउने काम पनि गर्‍यो।

पूर्व-पश्चिम बिहेवारी

थारूहरू अहिले पनि कुनै न कुनै रूपमा पूर्व र पश्चिमका नाममा विभाजित छन्। यसको मूल कारण भाषाको विविधता नै हो। तर महोत्सवले जुराएको बिहेवारी प्रथाले पूर्व–पश्चिमको दूरी घटाउने काम गरेको छ। पछिल्लो दशकमा हजारौं थारूहरूले पूर्व–पश्चिममा विवाह गरेका छन्। पूर्व सुनसरी, सप्तरीका युवायुवतीहरूको बिहे पश्चिम कैलाली कञ्चनपुरसम्म भएका छन्। उसैगरी कैलाली, कञ्चनपुरका युवकयुवतीको विवाह सुनसरी, सप्तरीमा भएका छन्। जसले उनीहरूबीच भाषिक–सांस्कृतिक ‘एक्सचेन्ज’ भएको छ। विवाहकै बहानामा एकले अर्काको भाषा बुझेका छन्, संस्कृति र चाडपर्व बुझेका छन्, रहनसहन बुझेका छन्।

थारू समुदायमा पछिल्लो समय मानक भाषा बनाउने अभियान पनि तीव्र रूपमा भइरहेको छ। भाषाविद्हरूले थारू मानक भाषा बनाउन कठिन रहेको बताउँदै आएका छन्। तर बिहेवारीपछि हुने भाषिक सांस्कृतिक एक्सचेन्जले पछिल्ला केही दशकमा थारू मानक भाषा बनाउन पक्कै महŒवपूर्ण भूमिका खेल्ने उनीहरूको बुझाइ छ। ‘दुई फरक भाषीबीचको बिहेवारीले कुनै न कुनै रूपमा दुवै जनाले दुवैतर्फका भाषा, संस्कृति र रहनसहनसँग साक्षात्कार गर्छ। त्यो काम बालबच्चा हुँदै नाति पनातिसम्म पनि पुग्न सक्छ। यसले आगामी दिनमा मानक भाषा बनाउन सहयोग पुग्छ,’ साहित्यकार हृदयनारायण चौधरी भन्छन्।

खाना र पहिरनको ब्रान्डिङ

दुई दिन अघिमात्रै अस्ट्रेलियाको ओपेरा हाउसअघि थारू पहिरनमा खिचिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल बन्यो। लहेंगा चोली र अचरा खडकीमा सजिएकी तीन जना थारू युवतीको तस्बिर भाइरल बन्नुको कारण पनि सांस्कृतिक पहिरन नै हो। माघी महोत्सवले चिनाएको यी पहिरनहरू देशमा मात्र होइन, विदेशमा पनि लोकप्रिय बनेको छ। पछिल्लो समय प्रवासमा रहेका थारूहरूले पनि माघी महोत्सव आयोजना गर्दै आएका छन्। प्रवासमा पनि उनीहरूले मौलिक पहिरनलाई बढावा दिँदा यसको माग पनि उच्चदरले वृद्धि भएको छ। यो वर्षमात्र अस्ट्रेलिया, अमेरिका, दुबई, कोरिया, कतारलगायत देशमा माघी महोत्सव आयोजना हुँदैछ। जहाँ उपस्थित थारू युवकयुवती लेहेंगा चोली र धोतीमा सजिनेछन्।

नेपालमै हुने महोत्सवमा पनि थारू पहिरन सामान्य भइसकेको छ। हरेक झाँकी र्‍याली होस् या कुनै कार्यक्रम, विशेषतः थारू युवती आफ्नै मौलिक पहिरनमा उपस्थित हुन्छन्। थारू पहिरनको माग पनि पछिल्लो समय उच्च दरले वृद्धि भएको छ। काठमाडौंसहित तराईका प्रमुख सहरमा थारू गरगहना र पहिरनको व्यापार फस्टाउँदो छ। उनीहरूले वर्षमा लाखौं आम्दानी गर्दै आएका छन्। ‘कुनै समय वृद्धवृद्धाले मात्र लगाउने थारू पहिरन अहिले युवकयुवतीदेखि बालबालिकासम्मले लगाउने फेसन चलेको छ। लोप हुने अवस्थामा पुगेको थारू गरगहना र पहिचन महोत्सवका कारण पुस्तान्तरण भएको छ। यो महोत्सवको राम्रो पक्ष पनि हो,’ अनुसन्धानकर्ता शत्रुघन चौधरी भन्छन्।

त्यस्तै कुनै बेला घोङी भनेपछि छिछि र दुरदुर गर्नेको संख्या धेरै थियो। ‘शंखे किरा नि खान्छन् कोही ?’ भन्नेहरू अहिले महोत्सवमा गएर घोङीको स्वाद लिइरहेका छन्। गृहमन्त्रीसमेत रहेका रवि लामिछानेले बिहीबारमात्रै चितवनको खिचरा महोत्सवमा घोङीको स्वाद चाखे। घोङी खाइसकेपछि उनले गज्जबको परिकार भन्दै तारिफ गर्न भ्याए।

महोत्सव प्रवद्र्धन गरेको थारू खानकी अब रेस्टुरेन्टका मेनुमा पनि समावेश भएका छन्। थारूका नाममा खोलिएका थुप्रै रेस्टुरेन्टमा घोङी, ढिक्री, जाँरको झोल, गँगटाको चटनी उपलब्ध छन्। काठमाडौंमै पनि बरघर रेस्टुरेन्ट थारू परिकारका लागि लोकप्रिय नाम हो। बरघरका सञ्चालक सीताराम थारू समुदायको पहिचान प्रवद्र्धन गर्न रेस्टुरेन्ट खोलेको बताउँछन्। ‘महोत्सवले प्रवद्र्धन गरेको थारू खान्कीबारे साथीभाइले बेलाबखत कहाँ खान पाइन्छ भन्दै सोध्ने गर्थे। वर्षमा एकपटक आउने महोत्सव कुराउन पनि भएन। खोजेको बेला सजिलै खान पाइयोस् भनेरै मैले बरघर रेस्टुरेन्ट खोले। नाफा नोक्सान आफ्नो ठाउँमा होला तर यसले थारू परिकारलाई प्रवद्र्धन गर्दैछ भनेर बुझेको छु,’ उनी भन्छन्।

माघीमा के हुन्छ ?

थारूहरूका लागि माघ महिनामात्रै हैन, आर्थिक वर्षको प्रारम्भ हो। मानव अधिकारको दर्शनको आधारमा भन्नु पर्दा कमैया र कमलरीहरूका लागि माघी मुक्ति दिवस हो। थारू संस्कृतिका जानकार अशोक थारूका अनुसार माघी सामाजिक सद्भाव, मेलमिलाप, मानमर्यादा, सेवा सत्कारको पर्व हो। माघीका लागि असोज–कात्तिक महिनामै नजिकको खोला, नदी आदि जलस्रोतमा बाँध बाँधी, वनस्पतिका हाँगा पानीमा राखी माछाहरूका लागि बासस्थान बनाइन्छ, जसलाई थारू भाषामा ‘भिउँरा डर्ना’ भन्ने गरेको उनी बताउँछन्।

माघीका लागि मंसिरदेखि नै जाँड–रक्सी बनाउने तयारी हुन्छ। जाँडमध्येमा अनदी चामलको जाँड विशेष रूपमा बनाइन्छ, जसको क्वाथ भनौं या झोलको निकै महŒव हुन्छ। अशोक भन्छन्, ‘यस पर्वमा जाँड (जाँर) को यति महŒव हुन्छ कि यस पर्वमा नाचिने नाचको टेक ‘नै सखी ए हो ! माघक पिली गुरी जाँर !” बनेको छ। जसको अर्थ माघी पर्वमा जाँडको महŒव साथीबीच गाएर बताइन्छ।’ माघी पर्वको दिन थारूहरू ढमार गाउँदै, मादल, डफ बजाउँदै नदी, कुलो, खोलानाला, घाट, जलाशयमा नुहाउँछन्। थारू समुदाय प्रकृतिपूजक भएकाले यस पर्वमा उनीहरू ‘कुवँरवर्ती’सँग आफ्ना दुःख, सुख सुनाउने चलन छ। पानीमा डुबेर कुनै कुरा इच्छा पूरा हुने जनविश्वास छ। माघीमा नुहाउने चलन स्वस्थ्यको दृष्टिकोणले पनि वैज्ञानिक मानिन्छ। नुहाइसकेपछि तीलको ढाँटको आगो ताप्ने चलन छ। आगो तापिसकेपछि त्यसकै खरानीको टीको लगाउँदा पाप कट्ने जनविश्वास छ। नुहाएर घरमा आइसकेपछि नाङ्लोमा तयार पारिएको चामल, मासको दाल र नुन छुने चलन छ, जसलाई निसराउ भनिन्छ। निसराउ आफ्ना चेलीबेटीलाई कोसेलीको रूपमा दिइन्छ। निसराउ छोइसकेपछि आफूभन्दा ठूलाहरूलाई ढोग गरेर आशीर्वाद लिने गरिन्छ। अशोकका अनुसार माघीको पर्याय खुसी हुनु रहेकोले त्यस दिन आफूभन्दा सानालाई खुसीसाथ आशीर्वाद दिने र ठूलासँग खुसीसाथ आशीर्वाद लिने गरिन्छ।

भएन पुस्तान्तरण

माघी महोत्सवले सांस्कृतिक रूपमा थारूहरू अब्बल देखिए पनि मौलिक हिसाबले झनै कमजोर भएको संस्कृतिविद्हरू बताउँछन्। जसको मूल कारण हो, पुस्तान्तरण नहुनु। दुई दशकमा जसरी महोत्सवले फड्को मार्‍यो, त्यसरी नै माघी पर्वका मौलिक पक्षहरू कमजोर बन्दै गए। पछिल्ला युवा पुस्ताका लागि माघीको पर्याय महोत्सवमात्र भएको छ।  महिना दिनअघिदेखि सुरु हुने माघी पर्वको रौनक गाउँघरमा शून्य बराबर भएको छ। ‘जितामर्ना’देखि ‘भुराखेल’सम्म गरिने गतिविधिबारे युवा जानकार छैनन्। माघीमा गरिने अहिलेका पुस्ता कोसौं टाढा छन्। माघीले थारू गाउँमा नयाँ बरघर, महटँवा चुन्ने र नयाँ आर्थिक वर्षको सुरुआत गर्ने काम अहिलेका पुस्ताले गर्दैनन्। माघका नाममा ‘सखिए हो, माघीक् पिली गुरी जाँरबाहेक अन्य गीतहरू उनीहरूलाई गाउन आउँदैन।

‘बाबाकीसगरवा मुरिया लहान गैनु हाँ बाबाकीसगरवा, सखी ए हो ! टोपिया छुटल पानी घाट, सखी ए हो’ जस्ता गीतका आफ्नै मर्म छन्। मनभित्र गुम्सिएर रहेका पीडालाई बिर्साउन र धेरै दिनदेखि छुट्टिएर बसेका साथीभाइ, इष्टमित्रसँग भेटघाटमा जोडिदिएको अनुभूत गराउन थारूले यस्ता गीतहरू गाउने चलन रहेको कवि छविलाल कोपिला बताउँछन्। उनी भन्छन्, ‘माघीलाई कैयौंले मनोरञ्जन र खानपिनसँग तुलना गर्ने गर्छन्। मूलतः चाड पर्वहरू खानपिन र मनोरञ्जनकै लागि हो। यद्यपि थारू समुदायको लागि माघी आंशिक रूपमा यी दुवैसँग जोडिने कुरा स्वाभाविक भए पनि खाममा यसको महिमा व्यवस्थापन हो।’ उनका अनुसार, यसले परम्पराभन्दा पनि अझ लोकतान्त्रिक तथा समृद्ध संस्कृतिको विकास गर्छ। यसलाई अझ समृद्ध बनाउन थारू समुदायका पछिल्लो पुस्ताहरू जागरुक हुन जरुरी छ।




Leave a Reply

Your email address will not be published.