खिचरा महोत्सवमा दर्शकको चाप बढ्दै, दोस्रो दिन भए यी कार्यक्रम

आठौं खिचरा महोत्सवको दोस्रो दिनउल्लेख्य संख्यामा दर्शकले अवलोकन गरे। आज भएको भलिबलको खेलअन्तर्गत पहिलो चरणको चार खेल सम्पन्न भएको छ। खैरहनी वार्ड-९, सैनिक स्कुल सेक्युरिटी ग्रुप, एपिएफ भण्डारा र माडी नगरपालिकाले क्रमशः इन्द्र टोल खैरहनी-३, नवज्योति युवा क्लब राप्ती-८, लामा स्पोर्ट्स राप्ती-३ र कालिका सिर्जनशील राप्ती-८ लाई हराएर दोस्रो चरणमा प्रवेश गरेका छन्।

त्यस्तै सैनिक स्कुल सेक्युरिटी ग्रुप र रुपिटर स्टार रसौली बीच दोस्रो चरणको खेलमा सैनिक स्कुल सेक्युरिटी ग्रुपले जीत हासिल गरेको छ। भोलि दोस्रो चरण सम्पूर्ण खेल सम्पन्न भई भोली नै फाइनल हुने शिक्षा तथा खेलकुद समितिका संयोजक धनवीर चौधरीले जानकारी दिए।

त्यसैगरी सितोरियो कराँते प्रतियोगिता पनि आजदेखि सुरु भएको छ। भोलि फाइनलका लागि सबै समूहका खेल हुने कराँते प्रतियोगिताका संयोजक जीवन महतोले बताए।

स्टेज कार्यक्रममा आज दाङ र कैलालीका थारु साँस्कृतिक भेषभुषा प्रदर्शन हुनुका साथै कैलालीका लक्ष्मी रानाले आफ्नो गायन प्रस्तुती दिएका थिए। तेस्रो दिन दोस्रो चरणको खिचरा डान्स आइडल हुने नृत्य प्रतियोगिता संयोजक हरिशरण चौधरीले जानकारी गराए। अडिसन राउण्डबाट २५ जना नृत्य प्रतियोगीहरू दोस्रो चरण प्रवेश गरेका थिए।

भोलि गायक छेवाङ लामा, रत्ननगर कला मन्दिर र थारु साँस्कृतिक नृत्य तथा गायन प्रस्तुति रहने छ। भोलि नै चित्रकला प्रतियोगिता र पेहनी होड पनि हुने आयोजक समितिले जनाएका छन्।

आठौं खिचरा महोत्सव परिसरमा भएको निःशुल्क स्वास्थ्य शिबिरमा आज दोस्रो दिन वरिष्ठ डाक्टर गौरीराम महतोले २६ जनालाई निःशुल्क सेवा दिनुका साथै आँखा शिबिरबाट ६४ जनाले आँखा परीक्षण गरे। भोलि ३० गते हाड,जोर्नी तथा नशा रोग विशेषज्ञ डा. प्रितम चौधरी दिउँसो २ देखि ४ बजेसम्म सेवा दिने स्वास्थ्य समितिका संयोजक भोला चौधरीले जानकारी गराए।

आठौं खिचरा महोत्सवको दोस्रो दिन महोत्सव परिसरमा भएको प्रतियोगितात्मक कृषि प्रदर्शनीको मूल्यांकन भएको छ। मूल्यांकनका लागि रामपुर कृषि क्याम्पस, खैरहनीका प्रमुख मिलन सुवेदी, कृषि विकास अधिकृत दिपेन्द्र अर्याल, कृषि प्राविधिक यमुना सापकोटा, माटो प्राविधिक मनिष पौडेल, कृषि सेवा केन्द्रका नरनाथ आचार्य लगायतले मूल्यांकन गरेका हुन्। कृषि प्रतियोगिताका पुरस्कार माघ २ गते १०:३० बजे हुने कृषि परिसर समितिका संयोजक हरिकुमार चौधरीले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *