खिचरा महोत्सवमा गृहमन्त्री रवि लामिछानेले खाए घोङी, भने- थारूको मुद्दामा सकरात्मक छु

पूर्वी चितवनको खैरहनी नगरपालिका-५ जबकौली (गौचरन)मा आजदेखि ‘आठौं खिचरा महोत्सव’ सुरु भएको छ। महोत्सवको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले समुद्घाटन गरेका छन्।

गृहमन्त्री लामिछानेले थारु समुदायको कलासँस्कृति सरंक्षरणका लागि सरकार प्रतिबद्ध रहेको बताए। उनले थारु समुदायको उत्थान, विकास र मुद्दामा ध्यान र विवेक पुर्‍याउने बताए। ‘थारू समुदायको उत्थान, विकास र मुद्दामा ध्यान र विवेक पुर्‍याउनेछु,’ उनले भने।

थारू संस्कृति जगेर्ना हाम्रो जिम्मेवारी भएको भन्दै यो समुदायको संस्कृति जगेर्ना गर्नका लागि यस्ता मेला महोत्सव आवश्यक पर्ने उनको भनाइ थियो। ‘थारु समुदायबाट अन्य समुदायले सत्कार र सम्मानको विषयमा सिक्नुपर्छ,’ उनले थपे। जनताको दिएको जिम्मेवारी पूरा गर्नका लागि समय व्यवस्थापन गर्दै थारु समुदायको उत्थानमा लाग्ने उनको भनाइ थियो।

थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नम्बर ७ ले हरेक वर्ष माघ १ गते खिचरा पर्वको अवसरमा खिचरा महोत्सव गर्दै आएको छ। महोत्सवमा देशभरका थारु जातिको रहनसहन र भेषभूषाका साथै थारु जातिले खाने खानाका परिकारलाई प्राथमिकता दिइएको मूल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीले जानकारी दिए। थारुको बसोबास रहेका २५ जिल्लाका थारुको खाना एकै ठाउँमा पस्किने प्रयास गरिएको उनले जानकारी दिए। महोत्सवमा ३० वटा होटलसहित एक सय ५० वटा व्यावसायिक स्टल रहेका छन्।

खिचरा महोत्सवमा शुक्रबार कराँते प्रतियोगिता
खिचरा महोत्सवमा शुक्रबार र शनिबार जिल्ला स्तरीय सितोरियो कराँते प्र्रतियोगिता हुने भएको छ। नेपाल सितोरियो कराँते डो संघ चितवन तथा उपशाखा डोजो पर्सा खैरहनी एवं आठौं खिचरा महोत्सवको संयुक्त आयोजनामा प्रतियोगिता हुने भएको हो। प्रतियोगितामा २२ वटा डोजोका २६० खेलाडीहरुको सहभागीता रहनेछ । शुक्रबार बिहान ९ बजेदेखि शुरु हुने सितोरियो कराँते टुर्नामेन्टका संयोजक जीवन महतोले जानकारी दिए।

आजदेखि शुरु भएको भलिबल प्रतियोगितामा दुई खेल सम्पन्न भएको छ। ती दुई खेलमा सेभेन ग्रुप चितवनलाई सेन्ट्रल कलेज भरतपुरले र एनवाईसी हर्नरीलाई रुपीटार नेपाल रसौलीले जितेको छ। भोलि ५ खेल हुने शिक्षा तथा खेलकुद समिति संयोजक धनवीर चौधरीले जानकारी दिए। त्यस्तै शुक्रबार विशेषज्ञ चिकित्सकहरुको निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । डा. गौरीराम महतोलगायत चिकित्सकले चेकजाँच गर्नेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *