काडमाडौंको टुडिखेलमा माघी महोत्सव दुई दिने हुने

काठमाडौं उपत्यकामा बसोबास गर्ने थारू समुदायले टुडिखेलमा थारू माघी महोत्सव मनाउने भएका छन् । पुस ३० र माघ १ गते हुने महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन्।

थारु राष्ट्रिय माघी महोत्सव २०७९ मूल आयोजक समिति, काठमाडौंको आयोजनामा हुन गइरहेको महोत्सवमा करिब एक सय वटा स्टल रहने आयोजकले जनाएको छ। थारू कल्याणकारिणी सभा (थाकस) केन्द्रीय समितिको संयोजकत्व तथा विभिन्न २५ वटा थारू संघ संस्थाको सहसंयोजनमा हुने महोत्सवमा थारु सांस्कृतिक प्रदर्शनसँगै, भेषभुषा, अधिकारका सवालबारे बहस हुने आयोजकले जनाएको छ।

थारू समुदायले २०५९ सालदेखि काठमाडौंमा माघी महोत्सव मनाउँदै आएको छ। यसअघि कोभिडकालमा महोत्सव हुने सकेको थिएन। थारू समुदायको कला, संस्कृति, भेषभुषाको प्रदर्शन र समुदायको राजनीतिक मागमुद्दा सम्बोधनका लागि खवरदारी गर्ने थलोको रुपमा मनाइँदै आएको महोत्सवमा यस वर्ष करिब पन्ध्र लाख रुपियाँ खर्च लाग्ने अनुमान आयोजकले गरेको छ।

थाकसका उपमहामन्त्री मिनराज थारुले महोत्सव नाफामुखी नभएर समुदायको भाषा, संस्कृति, पहिचान र अधिकारको प्रचार र खवरदारीका लागि आयोजना गर्ने गरिएको बताए। उनले महोत्सवको करिब सबै तयारी पूरा भइसकेको बताए।

महोत्सवमा थारू हस्तकला, थारू खानाका परिकार, थारु पत्रपत्रिका तथा जर्नल, थारु नृत्य प्रदर्शनसहित राजनीतिक मुद्दामा बहस हुने महोत्सव आयोजक समितिका सदस्यसचिव कानुनलाल चौधरीले बताए। उनका अनुसार महोत्सवले थारु पहिचानको संरक्षण तथा सम्बर्धन गर्ने काम गरिरहेकाले महोत्सवको महत्व रहेको बताए।

थारू विद्यार्थी समाजका केन्द्रीय अध्यक्ष तथा महोत्सव टेन्ट व्यवस्थापन, आर्थिक संयोजक र उपसमितिसमेत रहेका चन्द्रप्रसाद थारुले महोत्सवका लागि आर्थिक स्रोत संकलन तथा अन्य व्यवस्थापनको काम भइरहेको बताए। उनका अनुसार महोत्सवमा आउने दर्शकलाई निःशुल्क रुपमा प्रवेशको व्यवस्था मिलाइएको जानकारी दिए। महोत्सवमा करिब एक लाख दर्शकले अवलोकन गर्ने उनको भनाइ छ।




2 thoughts on “काडमाडौंको टुडिखेलमा माघी महोत्सव दुई दिने हुने

  1. एसै गरि अरू आगाडी बढुन हम्रो थारू हरू एहि भन्ना चाहन्छु हेप्पि माघी

Leave a Reply to jit singh chaudhary Cancel reply

Your email address will not be published. Required fields are marked *