खिचरा महोत्सवको उद्घाटन गृहमन्त्री रवि लामिछानेले गर्ने

आठौं संस्करणको ‘खिचरा महोत्सव–२०७९’ को समुदघाटन गृहमन्त्री रवि लामिछानेले गर्ने भएका छन्। खिचरा महोत्सव आयोजक समितिले आज एक प्रेस विज्ञप्ति जारी गर्दै महोत्सवको समुदघाटन गृहमन्त्री रवि लामिछानेले गर्नुहुने जानकारी गराएका छन्।

पुस २८ गते गृहमन्त्री आउने भएपछि जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीले आज अपरान्ह महोत्सव स्थलको निरीक्षणसमेत गरे। खैरहनी नगरपालिका-५, जबकौलीस्थित गौचरनमा हुने महोत्सवको सम्पूर्ण तयारी पुगेको आयोजकले जनाएका छन्। महोत्सव समुदघाटन अघि मंगनी चोकदेखि महोत्सव स्थलसम्म बृहत् झाँकीसहितको शोभा यात्रा निकालिने महोत्सव मूल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीले जानकारी दिए।

महोत्सवमा जिल्लास्तरीय भलिबल प्रतियोगिता, डान्सिङ आइडल, चित्रकला प्रतियोगिता, कृषि उपज प्रतियोगिता, पेहनी होड, रक्तदान कार्यक्रम, आँखा शिबिर, क्यान्सर स्क्रिनिङ कार्यक्रमका साथै दैनिक विशेषज्ञ चिकित्सकहरूद्वारा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध हुनेछन्।

महोत्सवमा मनोरञ्जनात्मक कार्यक्रमहरूमा स्थानीय तथा राष्ट्रिय स्तरका गायक कलाकारहरूबाट विविध साँस्कृति कार्यत्रक्रम, बाल उद्यानहरूसमेत रहनुका साथै विभिन्न खानाका परिकार र व्यापारिक स्टलहरूसमेत रहने आयोजकले जनाएको छ।

थारू कल्याणकारिणी सभा क्षेत्र नं. ७, चितवनले आयोजना गरेको आठौं खिचरा महोत्सवको खैरहनी नगरपालिका र थारू कल्याणकारिणी सभा चितवन संरक्षक र खैरहनी चेम्बर अफ कमर्शले सहआयोजकको भूमिका निर्वाह गरेको महोत्सवका प्रवक्ता नारायण प्रसाद महतोले जानकारी गराएका छन्। महोत्सव पुस २८ देखि माघ ४ गतेसम्म हुनेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *