सुदूरपश्चिममा मुख्यमन्त्री, उपसभामुख र तीन मन्त्री लिन नागरिक उन्मुक्तिलाई कांग्रेसको प्रस्ताव

नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशको सरकार बनाउन नागरिक उन्मुक्ति पार्टीलाई प्रस्ताव गरेको छ। डिल्लीबजार कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई भेटेर कांग्रेस नेताहरूले सो प्रस्ताव गरेका हुन्।

नागरिक उन्मुक्ति पार्टीका एक नेताका अनुसार कांग्रेसले मुख्यमन्त्रीसहित उपसभामुख र तीन मन्त्रालयको जिम्मेवारी लिनसमेत प्रस्ताव गरेको छ। ‘कांग्रेसले हामीलाई सरकार बनाउन र उपसभामुखसहित तीन मन्त्रालयको प्रस्ताव गरेको छ,’ ती नेताले अन्नपूर्णसँग भने। ती नेताका अनुसार नागरिक उन्मुक्तिले यसबारे भोलि (बुधबार) निर्णय लिनेछ।

सुदूरपश्चि प्रदेशमा मुख्यमन्त्रीको दाबी गर्ने भोलि अन्तिम दिन पनि हो। यद्यपि नागरिक उन्मुक्ति पार्टीले संघमा गठबन्धनलाई समर्थन गरेको छ। रेशम चौधरीको रिहाइ नगरेसम्म सुदूरपश्चिम र लुम्बिन प्रदेशमा कसैलाई समर्थन नगर्ने नीति नागरिक उन्मुक्तिले लिएको हो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *