सुर्खेतका थारूहरूले मनाए माघी कार्यक्रम

माघी पर्वको महान अवसरमा वीरेन्द्रनगरमा लखागिन थारु उत्थान मञ्च सुर्खेतको मूल आयोजना र राष्ट्रिय थारु कलाकार मञ्च सुर्खेतको सहआयोजनामा नयाँ वर्षको रुपमा मनाइने थारु समुदायको माघी मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम विविध सांस्कृृतिक नाचगान गरी सम्पन्न गरेको छ।

कार्यक्रममा माघी पर्वकोे महत्व एवं मौलिकताका बारेमा नयाँ पुस्तालाई थाहा नहुँदा संस्कृतिप्रति सद्भाव हराउदै गएकोले वीरेन्द्रनगर नगरपालिकाको वडा नं २ मा यस पर्वको महत्वको बारेमा एवं मघौटा नाचसहित कार्यक्रम मनाएको कुरा लखागिन थारु उत्थान मञ्च सुर्खेतका अध्यक्ष मान बहादुर चौधरी ‘पन्ना’ले बताए।

माघी पर्वको महत्वको बारेमा मानविर थारुले थारुहरुको महान पर्व माघी मनाउने विधि तौरतरिका, समुदायमा यसको महत्व र वर्तमान विभिन्न संस्कृतिको प्रभावको चुनौेती र नयाँ पुस्ताले आफ्नो संस्कृतिलाई आत्मसात गर्नुपर्ने लगायतको विषयमा विचार व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि सुर्खेत वीरन्द्रनगर नगरपालिकाका वडा नं २ को वडाअध्यक्ष गजबहादुर बुढाले थारुहरुको ऐतिहासिक चाड माघीमा सबै गाउँबाट जम्मा भएर मनाउने कामले संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने बताए। यस्तो रचनात्मक कार्यक्रमले पनि थारु संस्कृति संरक्षणमा टेवा पुग्ने भएकाले यसलाई अझै व्यापक र बृहत गर्दै जानु पर्ने बताए। संस्कृति देशको पहिचान र चिनारी भएकोले सबै जातजातिको संरक्षण गर्न आफूले सहयोग गर्ने प्रतिवद्धता जनाए।

कार्यक्रमका लालबहादुर थारुले थारुहरुको मौलिक संस्कृति पहिचान धरोहर माघी पर्व पनि हो । यसलाई बचाउने जिम्मा सरकारले दायित्व बोध गर्नुपर्नेमा वेवास्ता गर्दा संस्कृति धरापमा परिरहेको चिन्ता व्यक्त गरे।

वीरेन्द्रनगर नगरपालिकाका वडा नं २ का वडासदस्य सरिता चौधरीले सुर्खेतका थारुहरुको भाषा संस्कृति संरक्षण संवर्द्धन गर्न थारु समुदाय आफै पनि जागरुक हुनुपर्नेमा जोड दिए। युवालाई पुराना पुर्खाहरुले सिकाउनुपर्ने र युवाहरु पनि आफ्नो संस्कार संस्कृतिलाई माया गर्दै जर्गेना गर्नुपर्नेमा जोड दिए। युवाहरुले अवको बदलिंदो परिवेशमा सांस्कृतिक रुपान्तरण गर्न जरुरी भए पनि मौलिकतालाई भुल्न नहुनेमा जोड दिए।

कार्यक्रममा २ नं वडासदस्य रमेश चौधरी, कालुराम दहित, थारु वुद्धिजीवि अमर चौधरी, शेर बहादुर थारु, टिकाराम थारु, लगायतका वक्ताहरुले थारुहरुको मौलिक पहिचान बचाउन सबैले साथ दिनु पर्नेमा जोड दिएका थिए।

कार्यक्रममा विभिन्न स्थानीय थारु कलाकारहरुको थारु नृत्य तथा गीतहरु समेत प्रस्तुत गरिएको थियो। कार्यक्रम लखागिन थारु उत्थान मञ्चका अध्यक्ष मान बहादुर पन्नाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन लखागिन थारु उत्थान मञ्च सुर्खेतका सचिव जित बहादुर चौधरीले गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *