खिचरा महोत्सवमा लोपोन्मुख थारु लोक साहित्य

सवाल- गागल फरे लदाभदी रसिया हेरि हेरि जाई।

हे गोरी मुई पुछसो तोर गागल कैसे बिकाई?

कुनै सुन्दर युवती देखेपछि थारु युवक मोहित हुन्छ। त्यसपछि युवतीको मनस्थिति बुझ्न युवकले यसरी सवाल प्रस्तुत गर्ने गर्दछ। यस्तो सवाल सुनेपछि प्रत्युत्तरमा युवतीले लयात्मक लवजमा जवाफ फर्काउँछिन्।

जवाफ- लाखोन हिरा लाखोन मोती लाखोन सम्पत बिकाई।

जकरसे दिलचित मिल्तई वसहिं गागल बिकाई।

यसखालको सवाल-जवाफलाई थारु लोक साहित्यमा ‘गाहा’ भनिन्छ। विगतमा यसखालका मौखिक लोक साहित्य थारु गाउँघरमा निकै चर्चित थियो। तर विस्तारै लोप हुँदै गयो। लयात्मक शैलीमा सवाल जवाफ गरिने भएकाले पनि धेरैजसोका लागि यो गाह्रो हुन्थ्यो। गाहा केटाकेटीमा मात्र नभई श्रीमान् श्रीमतीबीच पनि हुन्थ्यो।

श्रीमान्- किहागोरी लहावत, किहागोरी खोरत, किहागोरी झमिलावत केस।

यसने हतिय मोर तिरीया, केहके जेतही मुई परदेश।

श्रीमती- भाजभाजे रे बटोहिया तोर मुह जुवावा तोर मुखचिनी तोर।

मुख बहिलियाक फूल यगति देखले झेंङटकुटुवा यखना यखिया फुटलउ तोर।

यस किसिमको सवालहरुलाई लयबद्ध जवाफ फर्काउन नसक्दा एकदुई शब्दमै पनि जवाफ फर्काइन्थ्यो। एकदुई शब्दमा जवाफ आउने सवाल जवाफलाई ‘पेहनी’ भनि । नेपाली भाषामा यसलाई ‘गाउँ खाने कथा’ भनिन्छ।

सवाल- हर्दीक चुक्चुक पितरीक ल्वाटा,

जुन नाहि जाने बनरक ब्याटा,

कथि हलई?

जवाफ- बिरोरीक छाता

नेपाली भाषा साहित्यमा गाउँ खाने कथाको अस्तित्व अझै छ। तर थारु लोक साहित्यमा पेहनी सँस्कृति युवा जमातमा लोप हुँदै गइरहेको छ। यस वर्षको खिचरा महोत्सवमा यसखालको प्रश्नोत्तरले स्थान पाउने भएको छ।

सवाल- सात कोस मोर बबुवा रे भितर गेलिहे पेट

ऐसन ससुरा गारी देलिहे सैया से हैनो भेट,

कथि हलई?

सवाल-    हर्दीक चुक्चुक पितरीक ल्वाटा,

जुन नाहि जाने बनरक ब्याटा,

कथि हलई?

सवाल- सित झबाझव निर्मल पानी,

सेहे फूल गाथे कौने रानी,

कथि हलई?

सवाल- चार लरन, चार गरम, चार झरी झरी,

यगुडा हरिनक बारह खुर बिलगे बिलगे चह्री,

कथि हलई?

सवाल- याहि पारा गंगा वाहि पारा गंगा बिचे बिचे रुख,-

ताहि रुखमा लागल बाणे दिलके बाण दुःख,

कथि हलई?

यस्ता सयौं पेहनीको सवाल जवाफको रौनक यसवर्ष आठौं खिचरा महोत्सवमा पहिलो पटक देख्न पाइने भएको छ। यही पुस २८ देखि माघ ४ गतेसम्म चितवनको खैरहनी नगरपालिका वडा नं. ५, गौचरनमा हुने आठौं खिचरा महोत्सवमा थारु लोक साहित्यलाई जगेर्ना गर्नका लागि ‘जिल्ला स्तरीय पेहनी होड’ कार्यक्रम पनि राखिएको छ।

कार्यक्रममा थारु कल्याणकारिणी सभा चितवनको हरेक क्षेत्रबाट तीन-तीन जनाको एउटा समूह बनाई भाग लिन सकिनेछ। विजेता समूहलाई नगद पुरस्कार र प्रमाण पत्रको व्यवस्था गरिएको छ।

लोपोन्मुख थारु साहित्य जगेर्नाका लागि खिचरा महोत्सवमा पेहनी होड कार्यक्रम आयोजना गरिन लागेको थारु कल्याणकारिणी सभाका पूर्व केन्द्रीय सदस्य लक्ष्मण प्रसाद चौधरीले बताए। महोत्सवमा भलिबल, चित्रकला, नृत्यलगायत थुप्रै खुला प्रतियोगिताको आयोजना गरिएको र थारु विशेषका लागि पेहनी होड आयोजना गरिएको मूल समिति संयोजक कृष्णलाल चौधरीले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *