लुम्बिनी प्रदेशसभामा धर्म र राजकुमार चौधरीको चर्चा

खुट्टामा जुत्ताचप्पलको सट्टा काठका खराउ। सेतो लुंगी। शीरमा सेतो टोपी। कोट पनि सेतै लगाएर लुम्बिनी प्रदेशसभामा आइतबार शपथ ग्रहणमा सहभागी सांसद धर्मबहादुर थारूको भेषभूषा अरुभन्दा फरक र आर्कषक देखिन्थ्यो। बर्दिया क्षेत्र नं. २ (२)बाट प्रत्यक्ष निर्वाचित उनी खाँटी थारू पोसाकमा ठाटिएका थिए।

उनीसँगै रहेका बर्दिया क्षेत्र नम्बर १ (२)सांसद राजकुमार चौधरीले पनि खराउ लगाएका थिए। धोती, कालोकोट र ढाका टोपीमा सजिएका चौधरी पनि अरूभन्दा भिन्न थिए। थारु भेषभूषा र मौलिकताको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले खराउ लगाएका यी दुई सांसदले धेरैको ध्यान खिचेका थिए।

रामायणमा रामले भाइलाई खराउ दिएको प्रसंग उल्लेख छ। जुत्ता चप्पलको जमाना सुरु नहुँदै आदिवासी जनजाति थारुले काठको खराउ बनाएर लगाउँथे। अहिले त खराउ लोप भइसकेको छ। दाङको राप्ती गाउँपालिका–३ मसुरीयास्थित नवनिर्मित लुम्बिनी प्रदेशसभामा सांसद मौलिक पोसाकमा थिए। रुकुम पूर्वका सरुन पुन पनि आफ्नै जातीय भेषभूषामा थिए। उनले ढाका टोपी, लुंगी, गाँदो,स्टकोट सहितको पहिरनमा उपस्थित थिए। बर्दियाकी समानुपातिक सांसद कृष्णा कुस्मा थारू, दाङकी सीता थारू पनि आफ्नै भेषभूषामा थिए।

उनीहरू लेहेंगा, चुर्‍या, पैसक माला, चन्द्रमा, शिरबन्दी, बाला, कडासहितको परिहनमा सजिएर शथप ग्रहणका लागि प्रदेशभवनमा उपस्थित भएका थिए। अरूभन्दा फरक भेषभूषामा उपस्थित हुँदा नौलो अनुभूति रहेको उनीहरूले बताए। बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही, रोल्पा र रुकुम पूर्वका सांसदहरू भने आफ्नै जातीय पहिरनमा उपस्थित भएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *