नागरिक उन्मुक्ति सरकारमा सहभागी, अब रेशम चौधरी छुट्ला?

रेशम चौधरीको रिहाइ शर्त राखेको नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी भएको छ। नेकपा माओ‌वादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेको छ। शुक्रबार र शनिबार चलेको केन्द्रीय कमिटी बैठकले पनि रेशम चौधरीको रिहाइ गर्ने गठबन्धनमा आबद्ध हुने निर्णय गरेको थियो। त्यसको भोलिपल्टै नागरिक उन्मुक्ति सरकारमा सहभागी भएको हो।

सरकार गठन हुनुअघि पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी नेकपा एमाले अध्यक्ष केपी शर्मा ‌ओलीको निवास बालकोटा पुगेका थिए। ओली र प्रचण्डसँग निर्णायक वार्तामा बसेका रञ्जिताले रेशम चौधरीको रिहाइ शर्त राखेकी थिइन्। ओली र प्रचण्ड दुवैले फौजदारी संहितासम्बन्धी सरकारले ल्याएको अध्यादेशलाई प्रमाणीकरण गरी रिहाइको ढोका खोल्ने प्रतिबद्धता जनाएका थिए। ओली र प्रचण्डको प्रतिबद्धतासँगै नागरिक उन्मुक्ति सरकारमा गएको सो पार्टीका एक नेताले बताए।

उनका अनुसार टीकापुर राजबन्दीलाई रिहाइ गर्ने, टीकापर घटनालाई राजनीतिकरण गर्नेलगायत मुद्दामा ‌ओली र प्रचण्ड दुवै साकारात्मक छन्। प्रचण्ड नेतृत्वकै सरकारले यी मुद्दा पूरा गर्ने ती नेताको दाबी छ।

प्रचण्ड प्रधान्त्रीमा नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नियुक्त गरेकी छिन्। राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा प्रचण्डलाई नियु्क्त गरेकी हुन्। राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले सोमबार ४ बजे शपथको तयारी गरिएको जानकारी दिए।

विभिन्न ६ राजनीतिक दलले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरियोस् भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र बुझाएका थिए। हस्ताक्षर गर्नेमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी छन्।

प्रचण्डलाई प्रधानमन्त्री बनाउन आग्रह गर्दै राष्ट्रपति कार्यालयमा बुझाइएको पत्रमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति ज्यूबाट पुस ३ गते नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्न दावी पेश गर्न आह्वान भएकोमा सोही समयसीमाभित्रै प्रतिनिधि सभा सदस्य तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री पदमा हाम्रो समर्थन रहेको व्यहोरा अनुरोध गर्दछौँ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *