‘अन्यायमा परेकालाई न्याय दिन नागरिक उन्मुक्तिको उदय’

अघिल्लो निर्वाचनमा एमालेबाट उठ्नु भएको थियो। अहिले किन स्वतन्त्र उम्मेदवारी दिनुभयो ?
कहिलेकाहीँ समय परिवेशले पनि कोल्टो फेर्छ। त्यतिबेला मैले छोरालाई सुरक्षित राख्न कुनै पार्टीमा उठे हुँला। एमाले मात्रै नभनौं। त्यसैले हामी बाबुछोरा नै त्यही पार्टीमा भइदिए मेरो छोराको के हालत हुन्थ्यो ? त्यसैले म स्वतन्त्र उठे। म छोराको रिहाइका लागि, थारूहरूको मुक्ति, वास्तविक माग मुद्दा र पहिचानका लागि उम्मेदवार बनेको हुँ। सधैभरी आदीवासी थारूहरूले माया गर्ने मान्छे म हुँ। सबै जातजातिका लागि काम गर्ने मान्छे हुँ।

मेरा छोरालगायत ५८ जनालाई जुन ज्यानमारा र डकैतीको झुटा मुद्दा लगाइएको छ त्यसबारे राज्यसँग वास्तविक पहल गरी न्यायपूर्ण फैसलाको लागि मैले लडेको हुँ। त्यसैले जनताले चुनावमा मलाई विजय गराए। म स्वतन्त्र रूपमै उठे पनि विजय भएँ। जनताले सही पहिचान गरेका हुन्। त्यसकारण म जनताको मान्छे हुँ। अब यो वा त्यो भन्नुभन्दा पनि जनताले मलाई विश्वास गरे। जनतालाई धन्यवाद दिन चाहन्छु। मेरो पहिलो मुद्दा नै मेरो छोरालगायत ५८ जनाको मुद्दा किनारा लगाउन राज्यसँग पहल गर्नु हो।

पहिलोपटक संसद् जाँदै हुनुहुन्छ, कस्तो अनुभव भइरहेको छ ?

संसद् जाँदैगर्दा म खुसी छैन र धेरै दुःखी पनि छैन। किनभने यथार्थ रूपमा नेपाली जनताले न्याय पाउनुपर्छ र हाम्रो देशले हिमाल जस्तै विश्वमा शिर ठाडो गरोस्। त्यही हिसाबबाट मैले वास्तविक नेपाली नागरिकको हैसियतले नेपाली जनताको हकहितको लागि, बुद्धीविवेक र सामथ्र्यले भ्याए जति म काम गर्छु भनेर अगाडि बढेको छु।

अब संसद्मा गएर कस्तो मुद्दा उठाउनु हुन्छ ?

पहिलो नम्बर मैले बर्दिया क्षेत्र नम्बर २ को समस्याका मुद्दा उठाउँछु। यस क्षेत्र नदीले घेरेको छ। बाढीको समस्या विकराल छ। प्रदेशसभा क्षेत्र नम्बर २ (२) लाई नदी नियन्त्रण गरी संरक्षण गर्नुपर्छ। तटबन्धन, सिँचाइको व्यवस्था गर्नुमा मेरो प्राथमिकता रहन्छ।

दोस्रो मुद्दा भनेको बर्दियामा वन्यजन्तुबाट मानवीय क्षति धेरै भइरहेको छ। त्यसको वास्तविक न्यूनीकरणका लागि कसैले पहल गरेको छैन त्यसैले यो समस्याको समाधानमा लाग्छु।

तेस्रो मुद्दा भनेको गरिबहरूले शिक्षा आर्जन गर्न नपाएको, १० जोड २ सबै राजनीतिक दलको घोषणापत्रमा मात्रै सीमित छ। त्यसैले आमजनताले निःशुल्क पढ्न पाउनुपर्छ भनेर निःशुल्क शिक्षामा जोड दिन्छु।

चौथो कुरा, बर्दियामा स्वास्थ्य समस्या छ। यसको विकासमा पहल गर्छु। अस्पताल नभएकोले मान्छेले छिटोछरितो औषधि पाएको खण्डमा बाँच्न सक्नेगरी स्वास्थ्य अस्पतालको पहल गर्नेछु। र बाँकी विकासका कुराहरू बाटो बनाउने, ग्राभेल बनाउने, रोड बनाउने, विभिन्न सामान्य नदी नियन्त्रण, सिँचाइ सुधार गर्ने यी विकासका अघि बढ्ने प्रक्रिया हुन्। तर, पनि मेरो तर्फबाट यो पहल गर्छु र काम गर्छु भन्ने हेतुले म संसद् भवनभित्र छिरेको दिनमा प्रतिबद्ध हुनेछु।

तपाईं सरकारमा जानु हुन्छ ?
जबसम्म हामी थारूहरूको पहिचान र माग मुद्दा सरकारले सुन्दैन। यसलाई सरकारले न्यायिक रूपमा निर्णय गर्दैन तबसम्म म सपथ ग्रहण पनि लिन चाहान्न। मेरो दलले पनि शपथ ग्रहण गर्दैन। म अहिले स्वतन्त्र भन्दाभन्दै पनि म नागरिक उन्मुक्ति पार्टी कै हुँ। सरकारको नम्सले मात्रै म स्वतन्त्र भएको हुँ। त्यसैले यो पहिलो मुद्दा भनेको हाम्रो रेशम चौधरीलगायत राजबन्दीहरूलाई रिहाइ नै हुनेछ। त्यो जबसम्म किनारा लाग्दैन तबसम्म म शपथ ग्रहण लिँदैन।

नागरिक उन्मुक्ति पार्टी किन यति शक्तिशाली भयो ?

वास्तममा नेपालमा जनताका लागि काम गर्ने नेता छैनन् भनेर जनताले पहिचान गरिसके। नेपाली कांग्रेस भारतको सहयोगबाट खोलिएको दल हो भने नेकपा एमालेले चीनको सहयोगमा खुलेको दल हो। त्यस्तै, राप्रपाले दरबारको सहाराबाट खुलेको दल र माओवादीले सबै दलहरूलाई मिलाएर झुकेर खुलेको दल हो। तर, नागरिक उन्मुक्ति मात्रै एउटा यस्तो पार्टी हो जुन चारखाल अड्डाभित्र बसेर भए पनि वास्तविक नेपाली जनताको लागि, भूमिपुत्रका लागि दल खोलिएको छ।

  •     रेशम चौधरीलगायत ५८ जना राजबन्दीलाई न्याय दिलाउन राज्यसँग पहल गर्ने
  •     शिक्षा, स्वास्थ्य क्षेत्रका सुधारका लागि विशेष पहल गर्नेछु
  •     बर्दिया क्षेत्र नम्बर २ बाढीले ग्रस्त क्षेत्र हो, यसको समाधानमा लाग्छु

एकदम सही समयमा खोलिएको छ। जेलभित्रबाट पार्टी खोल्ने मेरो छोरा भए पनि मेरो नेता हो। उसलाई एकदमै धन्यवाद दिन चाहान्छु। हाम्रो पार्टीले सबै नागरिकलाई समान अधिकार दिँदै सबैलाई न्याय दिलाउन चाहान्छ।

छोराले के उद्देश्यले पार्टी खोलेका हुन् तपाईंलाई थाहा छ ? 
मेरो छोरा नेता हो। उसको विषयमा टिकाटिप्पणी गर्न चाहान्न। उसले जनताको वास्तविक पिरमर्का बुझेको छ। जनतालाई न्यायदिने विचार लिएर पार्टी खोलेको हो। त्यसैले त्यही विचार सर्वोपरी रहेको छ।

सरकारले ल्याएको अध्यादेशको चौतर्फी विरोध भइरहेको छ नि, के भन्नुहुन्छ ?

सरकारले अध्यादेश रेशमको लागि मात्र ल्याएको होइन। नागरिक उन्मुक्ति पार्टीको लागि मात्रै पनि ल्याएको होइन। यसमा सीके रावतको कार्यकर्ताहरू पनि जेलवन्दी हुनुहुन्छ, माओवादी विप्लवजीको पनि कार्यकर्ताहरू जेलबन्दी हुनुहुन्छ। मधेसको आन्दोलन गर्दैगर्दा मधेसको साथीहरू पनि जेलबन्दी हुनुहुन्छ। वास्तवमा यो राजनितिक मुद्दा लिएर काम गर्दैगर्दा यस्तो घटना भएकोले यसलाई राजनितिक मुद्दा बनाएर यिनलाई वास्तविक नागरिकका रूपमा यिनलाई न्यायदिनु पर्छ भनेर यो अध्यादेश ल्याएको हो भन्ने कुरा मैले बुझेको छु।

रेशमलाई जिल्ला र पुनरावेदनले दोषी ठहर गरेको छ। तर पनि उहाँलाई किन छाड्नुपर्छ भन्ने लाग्छ यहाँलाई ?

तपाईं पत्रकार हो यो विषयमा मभन्दा बढी बुझ्नु भएको होला, तमाम लेख लेख्नुभएको होला। यदि तपाईंले सही रूपमा कलम चलाउने पत्रकार हो भने टीकापुर घटना भएको ७/७ वर्ष हुँदासम्म पनि ७ गतेको घटनालाई मात्र तपाईं विभेद गर्नुहुन्छ । तर, ८ गतेको घटना के हो नेपाली होईनन् ?, नेपाली जनता होईनन् ? नेपाल होइन ? कसरी मलाई प्रश्न गर्नुहुन्छ म तपाईलाई प्रश्न गरे के हो यो न्यायिक नेपाल हो यो ? कानुनी राज्य हो नेपाल ? म त्यही कुरा भन्न चाहान्छु।

उहाँको रिहाइका लागि राज्यलाई संविधान र कानुन नै मिच्नुपर्ने अवस्था आएको छ यसमा तपाई के भन्नुहुन्छ ? 
विल्कुलै मिचेको छैन। न्यायिक रूपमा राज्यले एउटा विधेयक ल्याउँदैछ। सम्पूर्ण नेपाली जनतालाई समान रूपमा न्याय गर्नुपर्छ भनेर विधेयक ल्याएको हुनाले यो अन्याय हुँदै होइन। समय सापेक्षित अध्यादेश ल्याएको छ। यो नेपाल सरकारलाई अध्यादेश ल्याएकोमा धन्यवाद दिन चाहान्छु।

नागरिक उन्मुक्ति पार्टीलाई परिवारवाद र जातीय पार्टीको आरोप लगाउनेहरूलाई के भन्नुहुन्छ ?

हाम्रो पार्टीको अध्यक्ष रंजिता श्रेष्ठ चौधरी, सुनिता चौधरी उपाध्यक्ष, कोमल ज्ञवाली कोषाध्यक्ष, प्रवक्ता दामोदर पण्डित, महामन्त्री रतन थापा अनि यो एकल जातीय पार्टी कसरी भयो ? हामीले टिकट दिँदा पनि दलित, जनजातीलगायत सबै जातिलाई मिलाएर दिएका थियौं। लामा, तामांङ, बाहुन, क्षत्री, ठकुरीलगायत सबै छौं। त्यसैले अब यो प्रश्न नगर्नुहोला। नागरिक उन्मुक्ति पार्टी भनेको विशुद्ध नेपाली जनताका लागि हो। नेपाली नागरिकको लागि हो।

  • अन्नपूर्ण पोस्ट्बाट




Leave a Reply

Your email address will not be published. Required fields are marked *