रेशम चौधरीका समर्थकहरू फूलमालासहित डिल्‍लीबजार कारागारमा

सरकारले अध्यादेश ल्याएसँगै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीका समर्थकहरू डिल्ली बजारस्थित कारागार पुगेका छन्। उनी छुट्ने आशासहित उनका सयौं समर्थकहरू डिल्लीबजार कारागार पुगेका छन्।

नागरिक उन्मुक्ति पार्टीकी नेतृ राधा चौधरीका अनुसार सयौं समर्थकहरू पार्टीको झन्डा बोकेर डिल्ली बजार पुगेका छन्। आजै रिहाइ हुनसक्ने भन्दै समर्थकहरूले फूलको मालासमेत बोकेर डिल्ली बजार पुगेको चौधरीको भनाइ छ। उनीहरूले रेशम चौधरीको पक्षमा नाराबाजीसमेत गरेका छन्।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले भने रिहाइ प्रक्रिया सुरु भएको बताएकी छन्। उनले सामाजिक सञ्जालमार्फत् समर्थकहरूलाई संयमित हुन आग्रसमेत गरेकी छन्।
‘सम्पूर्ण साथीहरूलाई सयंमित हुन अनुरोध गर्दछु। माननीयज्युको रिहा हुने प्रकिया हुँदैछ। अहिले तत्कालै निस्कने होइन। अध्यादेश राष्ट्रपतिज्यूमा पुग्ने छ अनि प्रकृयागतरूपमा नयाँ कार्यदिशा तयार पश्चात बाहिर निस्कने प्रक्रिया हुन्छ,’ उनले भनेकी छन्।

रेशम चौधरीसहित टीकापुर घटनाका राजबन्दीहरूको रिहाइका लागि सरकारले आइतबार अध्यादेश ल्याएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश ल्याएको सहरी विकास मन्त्री मेटमणि चौधरीले जानकारी दिए। मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा उपदफा ९ थप्दै विद्रोहीहरूलाई आममाफी दिने प्रावधान राख्न लागिएको बताइएको छ।

रेशम चौधरीले सरकारमा जान आफूसहित टीकापुर राजबन्दी रिहाइ हुनुपर्ने शर्त राख्दै आएका छन्। लुम्बिनी प्रदेशमा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा ल्याउन सत्ता गठबन्धनका शीर्ष नेताहरू निरन्तर रेशमसँग सम्बाद गरिरहेका छन्। केही पदको भागबण्डासहित नागरिक उन्मुक्ति पार्टीलाई सरकार ल्याउन शीर्ष नेताहरूले रेशमसमक्ष प्रस्तावसमेत गरेका छन्।

नागरिक उन्मुक्ति पार्टीले केन्द्रीय सरकारमा सहभागी भए उसले मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा समेत भाग पाउने सत्ता गठबन्धनका नेताहरूको भनाइ छ। नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभामा एक स्वतन्त्रसहित चार सिट, मधेसमा एक, लुम्बिनीमा ४ र सुदूरपश्चिम प्रदेशमा ७ सिट जितेको छ।




One thought on “रेशम चौधरीका समर्थकहरू फूलमालासहित डिल्‍लीबजार कारागारमा

  1. धन्य हो प्रभु हाम्रो माननीय ज्यु को कुरा सुनिदिनु भयो । आखिर हो रैछ सत्य ता को जित अवश्य हुने रैछ । जय नागरिक उन्मुक्ति 💪💪💪❤️❤️❤️🙏🙏🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *