नागरिक उन्मुक्तिका नेताले भेटे गृहमन्त्री खाण र एमाले महासचिव पोखरेल

नागरिक उन्मुक्ति पार्टीका नेता सुरेन्द्र चौधरी र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ। उनीहरूबीच सिंहदरवारमा भेटवार्ता भएको हो। नेता चौधरीले समसमायिक विषयवस्तुमा छलफल भएको हो।
‘गृहमन्त्रीजी म नेबिसंघमा हुँदादेखिकै साथी हुन्। दुई साथीबीच भेटघाट भएको हो। भेटमा चुनावी समीक्षा र सत्ता समीकरणका सबालमा छलफल हुनु सामान्य कुरा हो,’ उनले भने।

उनले सरकार गठनबारे अनौपचारिक छलफल भएको स्वीकारे। ‘दुई पार्टीका नेताबीच अनौपचारिकरूपमा धेरै विषयमा छलफल भयो। सरकार गठनका सबालमा पनि हामीबीच छलफल भएको हो,’ उनले भने।

नेता चौधरीको नेकपा एमालेका महासचिव शंकर पोखरेलसँग पनि भेटवार्ता भएको छ। पोखरेलसँग पनि सत्ता समीकरण र सरकार गठनका विषयमा अनौपचारिक छलफल भएको उनले बताए। ‘शंकरजी र मेरो एउटै जिल्ला हो। हामी दुवै चुनावमा पराजित पनि भएका हौं। चुनावी समीक्षा र सरकार गठनका विषयमा हामीबीच छलफल भएको हो,’ उनले भने।

सरकारमा सहभागी हुने नहुने विषयमा भने पार्टीले निर्णय गर्ने उनले बताए। ‘मैले साथीको नाताले अनौपचारिक छलफल गरेको हुँ। सरकारमा जानका लागि हाम्रा निश्चित शर्त छन्। ती शर्त पूरा हुनुपर्छ भन्ने हाम्रो अडान हो,’ उनले भने।

सत्ता गठबन्धनका नेताहरू र नेकपा एमालेका नेताहरूसमेत पार्टीका संरक्षक रेशम चौधरीसँग निरन्तर भेटवार्ता गरिरहेका छन्। उनीहरूले सरकारमा सहभागी हुनका लागि रेशमलाई प्रस्ताव गरेका छन्।

नागरिक उन्मुक्ति पार्टीले भने टीकापुर राजबन्दीको रिहाई र उक्त घटनालाई राजनीतिककरण गर्न माग गरिरहेको छ। टीकापुर राजबन्दीहरूको मुद्दा अहिले सर्वोच्च अदालतम विचाराधीन रहेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *