ह्याट्रिक गर्ने दाउमा रहेका तेजुलाल चौधरी भन्छन्- मेरो काम नै जितको आधार हो

सप्तरी-४ मा नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र एमाले-जसपाको गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। सत्तारुढ गठबन्धनले कांग्रेसका तेजुलाल चौधरीलाई अघि सार्दा एमाले-जसपा गठबन्धनले जसपाका बालकिशोर यादवलाई मैदानमा उतारेको छ।

०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा यो क्षेत्र कांग्रेसले जितेको थियो। देशभर बाम गठबन्धनको लहर आउँदा कांग्रेसले जितेका २३ निर्वाचन क्षेत्र मध्येको एक हो-सप्तरी ४। यो क्षेत्रमा अहिलेकै उम्मेदवार तेजुलाल चौधरीले जित निकालेका थिए। चौधरी २४ हजार ११३ मत ल्याएर विजयी हुँदा तत्कालिन राष्ट्रिय जनता पार्टीका मृगेन्द्र कुमार सिंह यादव राजपा १४ हजार ८८६ ल्याएका थिए। एमालेका मो. इस्लामले १४ हजार ३०५ मत मात्रै प्राप्त गरेका थिए।

वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले प्राप्त गरेको मतलाई आधार मान्दा यो क्षेत्रमा कांग्रेस नै बलियो स्थितिमा देखिन्छ। कांग्रेसले १६ हजार ९७५ मत प्राप्त गरेको थियो। जनता समाजवादी पार्टीले १५ हजार ६८२ मत ल्याउँदा एमालेले १० हजार ४४ मत ल्याएको थियो। नेकपा एसले ८ हजार ४५०, माओवादीले ६ हजार ९२०, जनमतले पार्टी ५ हजार ४०२, लोसपाले ३ हजार ८४८ र राप्रपाले ५०३ मत प्राप्त गरेका थिए।

यो मतलाई आधार मान्दा सप्तरी-४ मा तेजुलालको पक्षमा ३६ हजार १९३ मत देखिन्छ। बालकिशोरका पक्षमा २५ हजार ७२६ मत देखिन्छ। यही भोट प्याट्रन आगमी निर्वाचनमा कायम रहे सप्तरी-४ सत्ता गठबन्धनका लागि सहज देखिन्छ । यो क्षेत्रमा सुरुङ्गा नगरपालिका, खडक नगरपालिका, बोदेवरसाईन नगरपालिका र बलान विहुल गाउँपालिका गरी चार पालिका रहेका छन् । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले सुरुङ्गा नगरपालिका, जसपाले बोदे बरसाइन नगरपालिका, नेकपा (माओवादी केन्द्र) ले खडक नगरपालिका र जनमत पार्टीले बलानबिहुल गाउँपालिकाको प्रमुख पदमा जित हात पारेको थियो ।

यस क्षेत्रमा १ सय ३३ मतदान केन्द्र छ । यहाँ ५३ हजार १ सय ८० पुरुष, ५१ हजार ७ सय ८ महिला र अन्य ५ गरी कुल १ लाख ४ हजार ८९३ मतदाता छन् ।

सप्तरी-४ मा सत्ता गठबन्धनले उम्मेदवार बनाएका चौधरी ह्याट्रिक गर्ने दाउमा देखिन्छन्। यसअघि यही क्षेत्रबाट २०७० र २०७४ सालमा जितिसकेका उनी ह्याट्रिक गर्ने अभियानमा छन्। उनी यसपटक आफ्नो जित पक्का रहेको दाबी गर्छन्। ’म यसपटक १०० प्रतिशत चुनाव जित्छु, लेखेर राख्नुहोला,’ चौधरीले भने। आफ्नो जितप्रति विश्वस्त देखिएका चौधरी यसअघि आफूले गरेका काम नै जितको आधार भएको तर्क गर्छन्।

’विगतमा मैले गरेका काम नै मेरो चुनाव जित्ने पहिलो आधार हुन्। म भ्रष्टाचार विरोधी मान्छे हुँ। मेरो पहलमा र निर्वाचन क्षेत्र विकास कोषबाट जित बजेट यो क्षेत्रमा आएको छ। कसैले पनि एक पैसा खान पाएको छैन र दिएको छैन,’ उनले भने। उनले अबको कार्यकालमा क्षेत्रको विकासमा आफूसँग स्पष्ट योजना रहेको बताए।

यो क्षेत्रमा शिक्षा र स्वास्थ्यको समस्या छ। म त्यसका लागि पहल गर्छ। किसानका लागि सिंचाईको सुविधा छैन्। त्यो समस्या समधान गर्न सकिन्छ। त्यसमा काम गर्नेछु। युवाहरु वेरोजगार छन्, रोजगारी दिलाउने प्रयत्न गर्ने छु,’ उनले भने, ‘कृषि उत्पादनमा जोड दिन्छु, गुणस्तरीय खानेपानी उपलब्ध गराउने र सबै सडक कालोपत्रे गर्ने मेरा योजना छन्।’

जसपाका बालकिशोर यादव भने प्रतिनिधिसभा निर्वाचनमा पहिलोपटक प्रतिस्पर्धा गर्दैछन्। उनी जनताले चाहे आफू सांसद् बन्ने तर अहिनै जित निश्चित भइसकेको भनेर दाबी गर्दै नहिँड्ने बताउँछन्। सप्तरी-४ मा जनता र जनप्रतिनिबीचको सम्बन्ध टुटेको दाबी उनको छ। ‘जनता र जनप्रतिनिधिबीचको जुन रिलेसन छ। त्यो टुटेको छ। म त्यसलाई जोड्न चाहान्छु,’ उनले भने, ‘जनताले गरेर मौका दिए भने म जिम्मेवारी लिएर जनताको काम गर्छु। पहिलो पटक परिवर्तनको एजेन्डा लिएर चुनावी मैदानमा छु।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *