राप्रपाको भोट बढाउँदै लक्ष्मी चौधरी

सञ्चारकर्मी लक्ष्मी चौधरी यतिबेला सञ्चारकर्म छाडेर सुनसरीमा चुनाव प्रचारमा व्यस्त छिन् । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले उनलाई प्रदेश १ को सुनसरी ३ को ख बाट समानुपातिक तर्फ उम्मेदबार बनाएपछि उनी आजभोलि सुनसरीका गाउँटोलमा हातमा पर्चा बाेकेर मतदातासँग मत मागिरहेकी अवस्थामा भेटिन्छन् ।

हुन त सुनसरी क्षेत्र नम्बर ३ आफैंमा सबैको नजर पर्ने निर्वाचन क्षेत्र हो । पटक–पटक मन्त्री र उपप्रधानमन्त्री बनेका नेपाली कांग्रेसका प्रभावशाली नेता विजयकुमार गच्छदारको निर्वाचन क्षेत्र पनि हो ।

गच्छदार अहिले पनि गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नम्बर तीनबाट उम्मेदवार छन् । उनको निकट्तम प्रतिद्धन्दी भगवती चौधरीले पनि उम्मेदवारी दिएकी छन् । २०७० सालको दोस्रो संविधानसभा निर्वाचन र २०७४ सालको संघीय निर्वाचनमा गच्छदार र चौधरीबीच कडा प्रतिस्पर्धा भएको थियो । त्यतिबेला गच्छदारले झिनो मतान्तरका साथ निर्वाचित भएका थिए ।

सुनसरी क्षेत्र नम्बर–३ मा नेकपा (एमाले) बाट भगवती चौधरी, नेपाली कांग्रेसबाट बिजयकुमार गच्छदार, लोकतान्त्रिक समाजबादी पार्टी, नेपालबाट देब नारायण यादव, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट कुल्दिप चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमलबाबु मैनालीलगायत २२ जनाको उम्मेदवारी परेको छ ।

सुनसरीमा चार निर्वाचन क्षेत्रमध्ये २०७४ सालको क्षेत्र नम्बर २, ३ र ४ मा कांग्रेसले जितेको थियो भने क्षेत्र नम्बर १ मा मात्रै नेकपा एमालेले जित हासिल गरेको थियो ।

सुनसरी–३ मा प्रतिनिधि सभाका उम्मेदवारको चर्चा भए पनि प्रदेश सभाका उम्मेदवारहरुको खासै चर्चा छैन । अझ साना दलबाट उम्मेदवार बनेकाहरु बिजयकुमार गच्छदार र भगवती चौधरीको छाँयाँमा परेका छन् ।

सुनसरी–३ मा २०६४, २०७० र २०७४ को निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो बलियो सहभागिता जनाउन सकेको थिएन् । तर, यसपटकको निर्वाचनमा राप्रपाले प्रतिनिधिसभा र प्रदेशसभामा आफ्नो बलियो उपस्थिति जनाएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा आफ्नो उम्मेदवार उठाएको छ । सुनसरी–३ को ख बाट समानुपातिकतर्फ लक्ष्मी चौधरीलाई उम्मेदवार बनाएपछि अहिले चर्चाको विषय बनेको छ ।

लक्ष्मी चौधरी प्रदेश सभाका लागि समानुपातिक उमेदवार भएपनि मतदाताहरुबाट थारु नायिका घरदैलाेमा आएकाे भन्दै मत पाउने आश्वासन पाइरहेकी छिन् । आफ्नै गाउँ ठाउँ भएरपनि होला उनलाई समर्थन गर्नेहरु बढिरहेका छन् । प्रष्ट वक्ता, निडर र हक्की स्वभावकी लक्ष्मी आफ्नो क्षेत्रको समानुपातिक उम्मेदवार बनेको थाहा पाएपछि राप्रपाप्रतिको मोह पनि बढ्न थालेको देखिन्छ ।

उनी अहिले घरदैलो कार्यक्रमलाई तीव्रता दिएकी छन् । हुन त योभन्दा अगाडी राष्ट्रिय प्रजातन्त्र पार्टीले सुनसरी –३ बाट खासै राम्रो मत पाउन सकेको थिएन । यसपटक लक्ष्मीको क्रेजले प्रत्यक्षतर्फ ठूलो उपलब्धि हाँसिल नगरे पनि समानुपातिकतर्फ संघ र प्रदेशका लागि मतभार बढाउने स्थानीयहरु बताउँछन् ।

उनी सुनसरी–३ को ख मामात्रै सीमित छैन । अहिले उनी प्रदेश नम्बर १ को अन्य जिल्लामा पनि भोट माग्न पुगिरहेकी छन् । भोट माग्न उनी टोल टोलमा पुग्ने गरेकी छन् । अझ घरमा भेट्नेलाई घरमा खेतमा भेट्नेलाई खेतमै पुगेर भोट मागिरहेकी छन् । कुनै समयकी चर्चित नायिका समेत रहेकी लक्ष्मी लामो समयदेखि सञ्चार क्षेत्रमा आवद्ध भइन् ।

नेपाल वान टेलिभिजनबाट सञ्चारकर्म थालेकी उनी पछिल्लो समय कृषि टेलिभिजनको प्रबन्ध संचालकको रुपमा रहेकी छन् ।

कृषि क्षेत्रमा लामो समयसम्म काम गरेकी उनी सदनमा गएर कृषकको आवाज बन्ने बताउछिन् । कृषिभित्रको विकृति विसंगतिलाई सदनमा लैजाने र त्यसको समाधानका लागि लागिपर्ने उनको भनाई छ ।

देशको मेरुदण्ड कृषि भएको र जबसम्म कृषिमा आत्मनिर्भर हुन सक्दैनौं, तबसम्म देशको मुहार नफेरिने भएको हुँदा आफ्नो मुल ऐजेन्डा नै कृषि क्षेत्रलाई सुधार्ने र आधुनिकिकरण गर्नेमा जोड रहेको उनको भनाई छ ।

समृद्ध नेपाल तबमात्रै बन्छ जब कृषि क्रान्ति हुन्छ यसका लागि आफू लागि पर्ने उनको भनाई छ । सुनसरीको ग्रामिण भेग हरेक क्षेत्रमा निकै पछाडी रहेकाले त्यसको लागि आफू काम गर्ने बताइन् ।

सुनसरी क्षेत्र नम्बर ३ को “ख” शिक्षा, स्वास्थ्य, सडक लगायत अति आवश्यक भौतिक पुर्वाधारमा निकै पछि रहेकाले यसका लागि आफूले काम गर्ने बताइन् ।

मोरङ–३ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेकी नेपाली चलचित्र उद्योगकी सफल नायिका रेखा थापाप्रतिको क्रेज एकातिर छ भने सुनसरीमा लक्ष्मीको क्रेज बढ्दै गएको छ । यी दुई नायिका कति सफल हुन्छन् त्यसका लागि मंसिर ४ गते नै कुर्नुपर्ने हुन्छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *