थारू समुदायको पहिचानमाथि धावा बोल्दा थारू आयोगको ‘नरम विज्ञप्ति’

मधेसी आयोगको थारू समुदायलाई मधेसी बनाउने षड्यन्त्रविरुद्ध थारू आयोगले ‘नरम’ विज्ञप्ति जारी गरेको छ। थारू आयोगले मधेसी आयोगले राष्ट्रपतिलाई बुझाएको प्रतिवेदनको खण्डन गर्दै गम्भीर ध्यानाकर्षणमात्र जनाएको छ। जबकि मधेसी आयोगले थारूको पहिचानमाथि नै प्रहार गर्ने काम गरेको छ।

‘थारु समुदायलाई पनि मधेसीमा समावेश गरिएकोप्रति थारु आयोगको गम्भीर ध्यानाकर्षण भएको छ। थारु समुदायको पहिचानमाथि नै चुनौती खडा गर्नेगरी ल्याइएको उक्त सिफारिसप्रति थारु आयोगको पूर्ण असहमति रहेको कुरा सबैमा जाहे गर्न चाहन्छौं,’ आयोगका अध्यक्ष विष्णुप्रसादद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

थारू आयोगले नरमभन्दा पनि कडा विज्ञप्ति जारी गर्नुपर्थ्यो। प्रतिवेदन सच्याउन मधेसी आयोगलाई आग्रहसहितको अल्टिमेटम दिन सक्नुपर्थ्यो। मधेसी आयोगका पदाधिकारीलाई भेटेरै प्रतिवेदन ‘करेक्सन’ गर्न भन्न सक्नुपर्थ्यो। तर उसले आफ्नो जिम्मेवारी पन्छिदै अन्तिमममा लेखेको छ, ‘त्यसकारण सबै पक्षबाट यस विषयलाई गम्भिरतापूर्वक लिई आ-आफ्नो जिम्मेवारी पूरा गर्नको लागि थारु आयोग सबैको ध्यानाकर्षण गर्दछ।’

थारू आयोगका पदाधिकारीहरू यस्तै नरम बन्दै गए अन्य आयोगहरू भविष्यमा पनि हाबी नहोला भन्न सकिन्न। हाम्रा अगाडि समावेशी आयोगले आरक्षण खारेज गर्न सिफारिस गरेको समाचार अझै ताजै छ। थारू आयोग त्यस विषयमा पनि अहिलेसम्म केही बोलेको छैन।




Leave a Reply

Your email address will not be published. Required fields are marked *