जयरानी चौधरीले जितिन् दुई स्वर्ण, अन्तर्राष्ट्रिय पदक जित्ने चाहना

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले दोस्रो स्वर्ण पदकी जितेकी छन्। पोखरा रंगशालामा जयरानीले एथ्लेटिक्सको सय मिटर हर्डल्समा स्वर्ण जितेकी हुन्।

जयरानीले यसअघि आइतबार चार सय मिटर हर्डल्समा स्वर्ण जितेकी थिइन्। आर्मीकी निर्मला थापालाई पछि पार्दै जयरानीले स्वर्ण जितेकी हुन्।

उनले सय मिटर हर्डल्स १५.६९ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै स्वर्ण जितेकी हुन्। यसअघि उनले हिट चरणमा राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन्।

उनले १५.१६ सेकेन्डमा दूरी पूरा गर्दै हिट चरणमा राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन्। रजत पदक जितेकी आर्मीकै निर्मलाले १६.२५ सेकेन्डमा दूरी पूरा गरिन्। त्यस्तै कास्य जितेकी एपीएफकी भगरती कुमारी थारुले १९.१३ सेकेन्डमा पूरा गरिन्।

जयरानीले कीर्तिमान सुधारको लक्ष्य राखेको बताइन्। ‘कीर्तिमान सुधार गर्दा धेरै नै खुसी छु। आफूले सोचेको भन्दा राम्रो खेल भयो। टार्गेट नै मेरो रेकर्ड राख्ने थियो। त्यसमा सफल भएँ,’ उनले भनिन्।

राष्ट्रिय खेलकुदमा पहिलोपटक स्वर्ण पदक जितेपछि उनले पोखरा रंगशालाबाट बर्दिया घरमा रहेका आमा सुगही थारुलाई फोन गरेर आफ्नो सफलता सुनाए। आमाले बधाई भन्दै अझै राम्रो गर छोरी भनेर हौसला दिएको जयरानीले बताइन्। ‘बुबा घरमा हुनुहुँदो रैनछ, आमालाई फोनमा स्वर्ण जितेँभन्दा बधाई छ छोरी अझै राम्रो गर्न सक्छौँ भनेर हौसला दिनुभयो,’ उनले भनिन्।

राष्ट्रिय खेलकुदमा सफलता मिलेपछि उनको अबको लक्ष्य अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने र देशलाई पदक दिलाउने छ। उनले भनिन्, ‘स्वर्ण पदक जित्ने लक्ष्य पूरा भएको छ। अब अन्तर्राष्ट्रिय प्रतियोगितामा अझै राम्रो गर्ने र देशलाई पदक दिलाउने मेरा लक्ष्य छ।’

जयरानीले विसं २०७२ देखि खेल्न थालेकी हुन्। त्यसअगाडि विद्यालयस्तरीय प्रतियोगिता, राष्ट्रपति रनिङ शिल्डलगायतका जिल्ला तथा राष्ट्रिय प्रतियोगिता खेलेकी थिइन्।

सातौँ राष्ट्रिय खेलकुदमा पहिलो पटक सहभागी उनले आठौँमा तत्कालीन प्रदेश नं ५ र हालको लुम्बिनी प्रदेशबाट सहभागी भएर तीन इभेन्टमा रजत पदक जितेकी थिइन्।

सामान्य कृषक परिवारका जयरानीलाई आमाले घरको काम गर्नुपर्छ भन्ने गरे पनि बुबाले खेलमै लाग्न प्रेरित गर्ने गरेको सुनाइन्। उनले विगतलाई स्मरण गर्दै भनिन्, ‘सानोमा आमाले घरको काम कसले गर्छ घरको काममा सहयोग गर्नुपर्छ भन्नुहुन्यो। बाबाचाहिँ खेल खेल्नुपर्छ भनेर मलाई अघि बढ्न प्रेरणा दिइरहनभयो। बुबा कृषक भए पनि खेलकुदलाई मन पराउनुहुन्थ्यो।’




One thought on “जयरानी चौधरीले जितिन् दुई स्वर्ण, अन्तर्राष्ट्रिय पदक जित्ने चाहना

Leave a Reply to Dipak Chaudhay Cancel reply

Your email address will not be published. Required fields are marked *