पत्रकार ठाकुर सिंह थारू रेशम चौधरीको पार्टीबाट उम्मेदवार बन्दै

नेपाल पत्रकार महासंघ बाँकेका पूर्वअध्यक्ष एवं कान्तिपुर दैनिकका वरिष्ठ पत्रकार ठाकुर सिंह थारू रेशम चौधरीको पार्टीबाट उम्मेदवार बन्ने भएका छन्। उनी बर्दियाको क्षेत्र नं १ बाट नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बन्ने भएका हु्न्। डिल्लीबजारस्थित सदर जेलमा रहेका रेशम चौधरीले यसको पुष्टि गरे।

‘हो, उहाँ हाम्रो पार्टीबाट उम्मेदवार बन्दैहुनुहुन्छ। बर्दिया क्षेत्र नं १ बाट उहाँ प्रतिनिधिसभाका लागि उम्मेदवार बन्नुहुन्छ,’ उनले थारुवानसँग भने।

नेकपा एमालेमा क्रियाशिल रहेका चौधरीले समाजिक सञ्जालबाट पनि आफू पार्टी परिवर्तन गर्न लागेको संकेत दिएका छन्। ‘जीवननभरि कमाएको सबथोक गुमाएर नयाँ मोडमा उभिएको छु। माया नमार्नु होला,’ उनले फेसबुकमा लेखेका छन्।

नागरिक उनमुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरीले पहिचान र अधिकारका लागि ठाकुर सिंह थारू कान्तिपुरको जागिर छाड्न तयार भएको बताए। ‘म आफैँ पनि सञ्चारकर्ममा लागेको मान्छे हुँ। थारू अधिकार माग्दा राज्यले अपराधि बनाएर जेलमा कोचेको छ। कति वर्ष प्रवासमा पीडादायी जीवन बाँचेको छु। थारू अधिकार र पहिचानका लागि तपाइँजस्तो व्यक्ति खाँचो छ भनेर मैले ठाकुरजीले आग्रह गरेको हुँ। अन्ततः उहाँ हाम्रो पार्टीबाट उम्मेदवार बन्न राजी हुनुभयो,’ उनले थपे।

उनले नागरिक उन्मुक्ति पार्टीमा युवाहरूको बाक्लो उपस्थित रहेको बताउँदै आगामी निर्वाचनमा सम्मानजनक सिट ल्याउने दाबी गरे। ‘हामीले धेरैभन्दा धेरै युवा पंक्तिलाई समेटेका छौं। पहिचान पक्षधरलाई एक हुन आह्वान गरेका छौं। युवाहरूको सहभागिता देखेर पक्कै पनि हामीलाई ऊर्जा मिलेको छ,’ उनले भने।

यसअघि स्थानीय तह निर्वाचनमा कैलाली संबाददाता गणेश चौधरी पनि नागरिक उन्मुक्ति पार्टीमा उम्मेदवार बनेका थिए। उनी कैलालीको जानका गाउँपालिकाको अध्यक्षमा निर्वाचितसमेत भएका छन्।




One thought on “पत्रकार ठाकुर सिंह थारू रेशम चौधरीको पार्टीबाट उम्मेदवार बन्दै

  1. धेरै राम्रो काम । यसरी नै सबैले साथ र सहयोग गर्नु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *