गृहमन्त्री खाँण र नाउपा नेता सुरेन्द्र चौधरीबीच के भएको थियो सम्बाद?

सरकारले टीकापुर घटनासम्बन्धी मुद्दाको खारेजी प्रकिया अगाडि बढाउने निर्णय गरेको छ। भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले सो घटना सम्बन्धमा मुद्दा खारेजीका लागि आवश्यक कानुनी जटिलता संशोधन गरेर यथाशिघ्र फर्स्यौट गर्न गृह मन्त्रालयलाई निर्देशनसमेत दिएको छ।

रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले टीकापुर घटनालाई प्रमुख एजेण्डाको रुपमा उठाउँदै आएको छ। घटना सम्बन्धनमा नाउमाका राजनीतिक सम्बाद समितिका संयोजकसमेत रहेका सुरेन्द्र चौधरीले हालै गृहमन्त्री बालकृष्ण खाँणसँग घन्टौं छलफल गरेका थिए।

टीकापुर राजबन्दी रिहाइ अभियानको संयोजक भएर नेता सुरेन्द्रले केपी ओली नेतृत्वकै सरकारसँग पनि पटक पटक सम्बाद गरेका थिए। टीकापुर घटनालाई राजनीतिक तवरबाट समाधान गरिदिन उनले सरकारलाई दबाब दिँदैसमेत आएका छन्।

नेता चौधरीसँग मन्त्रिपरिषद्ले गरेको निर्णय र गृहमन्त्रीसँग भएको छलफलबारे थारुवानले कुराकानी गरेको छ।

सरकारले टीकापुर घटनासम्बन्धी मुद्दा फिर्ता लिएको कुरा आइरहेको छ। यो कतिको सत्य हो?

मिडियामा आज जुन खालका कुराहरु आइरहेका छन्। यो आंशिक सत्य हो। मन्त्रिपरिषद् बैठकले खारेजी प्रक्रिया अगाडि बढाउने भनेको छ। यसका लागि गृह मन्त्रालयलाई कानुनी प्रक्रिया जटिल भए त्यसलाई संशोधन गरेर फर्स्यौट गर्न निर्देशन दिएको अवस्था छ। तर हामीले उठाउँदै आएको टीकापुर घटनासम्बन्धी मुद्दामा जेलमा रहेका माननीय रेशम चौधरीलगायत रिहाइ हुनुपर्छ भन्ने हो। निर्दोष थारुहरुले न्याय पाउनुपर्छ भनेका हौं। उहाँहरुलाई रिहाइ नगरेसम्म हामी शंकाको घेरामै बस्नुपर्छ।

टीकापुर घटना सम्बन्धमा गृहमन्त्री बालकृष्ण खाँणले तपाइँसँग पनि लामो वार्ता गरेको सुनिन्छ नि?

हो। उहाँले पटक-पटक बोलाएपछि गत शुक्रबार हामीबीच सम्बाद भएको हो। यो सम्बादलाई म वार्ता भन्न रुचाउँदिनँ। वार्ता भनेको विशुद्ध राजनीतिक लेनदेन हो। हामीबीच कुनै लेनदेन भएको छैन। टीकापुर घटनाका निर्दोष थारुहरुले न्याय पाउनुपर्छ भन्ने हाम्रो अडान हो। टीकापुर घटनामा फरार सूचीमा रहेका र अदालतको फैसलाले जेल सजाय भुक्तान गरिरहेका हकमा निर्वाचनअघि नै कानुन जटिलता समाधान गर्ने उपाय खोज्ने र कानुनमन्त्री एवं महान्यायाधिवक्तासँग छलफल गरेपछि प्रक्रिया अगाडि बढाउने कुरा मन्त्रीजीले आवश्वासन दिनुभएको थियो। सोही आश्वासन पूरा गर्नुभएको हो। तर अघि पनि भने रिहाइ नभएसम्म हामी सरकारको कामलाई शंकाको घैरामै राख्छौं।

टीकापुर घटनामा कांग्रेस नेताहरुले  जुनखालको भूमिका खेलिरहेका छन्, कतै कांग्रेस र नाउपाले चुनावी तालमेल गर्न लागेका त होइनन्?

बिलकुल होइन। हाम्रो पार्टी एक्लै चुनाव लड्छ। यो कांग्रेसभन्दा पनि यो देशको सरकारसँग हामीले सम्बाद गरेका हौं। हामीले हाम्रो हक सरकारसँग मागेका हौं। गृहमन्त्रीसँग मैले न्यायका लागि सम्बाद गरेको हुँ। निर्दोष थारुहरुको यो हक पनि हो।

महान्यायधिवक्तासँग पनि छलफल भएको कुरा बाहिर आएको छ। समग्रमा कहिलेसम्म रेशम चौधरी छुट्नुहुन्छ त?

महान्यायाधिवक्तासँग पनि वार्ता होइन, सम्बाद गरेका हौं। रेशमजीलगायत टीकापुर घटनाका आरोपितहरुलाई रिहाइ गर्न के कस्ता कानुनी जटिलताहरु छन्। निर्वाचनअघि कसरी उनीहरुलाई रिहाइ गर्न सकिन्छ भन्ने विषयमै सम्बाद गरेका हौं। उहाँले पनि आवश्यक कानुनी प्रक्रिया संशोधन गरेर फास्ट ट्र्याकमा समस्या समाधान गर्ने वाचा गर्नुभएको छ। त्यसका लागि प्रधानमन्त्री, गृहमन्त्री र कानुनमन्त्रीसँग निरन्तर छलफल भइरहेको उहाँले बताउनुभएको थियो।

नाउपाले अब के छ?

हाम्रो पार्टीले सरकारले गरेको यो निर्णय छिटोभन्दा छिटो कार्यान्वय होस् भन्न चाहन्छ। त्यसका लागि आवश्यक दबाब दिन्छौं। कानुनमन्त्री, गृहमन्त्रीलाई निरन्तर यस विषयमा दबाब दिन्छौं। छिट्टै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि यस विषयमा सम्बाद गर्नेछौं।




3 thoughts on “गृहमन्त्री खाँण र नाउपा नेता सुरेन्द्र चौधरीबीच के भएको थियो सम्बाद?

  1. यो केही हैन ,सब नाटक मात्र ।कोही भ्रममा नपरे हुन्छ! चुनाबी नारा मात्र हो , यो देउवा पत्नी आरजुलाई भोट मागि दिने बहाना मात्र हो , चुनाब पछि जस्ताको तस्तै हुन्छ। भुलेर नी अरुलाई भोट नदिनु है कैलालीबासी थारुहरु! लोभ मात्र देखाको हो, माछालाई बल्सीमा हालेर चारो दिएजस्तै हो! संबाद गर्नु को अर्थ मुद्दा फिर्ता भएको हैन, भ्रममा नपर्नुस !!

    1. तपाईं को कुरा मा सत्यता छ हेम जि । हामी सतर्क छौ कहि यो चुनावी stunt मात्र नबनोस ।

Leave a Reply to Tharu Cancel reply

Your email address will not be published. Required fields are marked *