पद्मनारायण चौधरीसहित तीन जना थारु नेता समानुपातिकबाट सांसद बन्न नपाउने

नेपाली कांग्रेसले अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित भएका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुलाई नदोहोर्‍याउने निर्णय गरेको छ। महामन्त्री गगन थापाले चार तहलाई गरेको परिपत्रमा समानुपातिकतर्फ ०७४ मा निर्वाचित व्यक्तिलाई पुनः समानुपातिकतर्फ नै उम्मेदवार बनाउन सिफारिस नगर्न निर्देशन दिएका हुन्।

अघिल्लो निर्वाचनमा कांग्रेसबाट सप्तरीकी नमिता कुमारी चौधरी, सुनसरीका पद्मनारायण चौधरी, दाङकी पार्वता डीसी चौधरी समानुपातिकबाट निर्वाचित भएका थिए। उनीहरु अब समानुपातिकबाटै सांसद हुन पाउने छैनन्।

‘२०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदमा समानुपातिकतर्फबाट निर्वाचित भएको व्यक्तिको नाम पार्टी विधानको धारा ३३ (२) बमोजिम आगामी मंसिर ४ गते हुने निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारका लागि सिफारिस नगर्ने,’ परिपत्रमा भनिएको छ।

त्यस्तै कम्तिमा एक महिलासहित बढीमा दुईजनाको नाम प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारका लागि भदौ १६ गतेभित्र जिल्ला कार्य समितिमा सिफारिस गर्नुपर्ने भएको छ।

सिफारिस गर्ने बैठकमा सहमति हुन नसकेमा बहुमतबाट निर्णय गर्न सकिने परिपत्रमा उल्लेख छ। तर एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको हकमा भदौ १८ गतेसम्म समय तोकिएको छ। एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लाको हकमा पनि पनि भदौ १८ भित्र उम्मेदवारको नाम कार्य समितिमा पठाउन भनिएको छ। प्रदेश कार्यसमितिले भदौ २० गतेभित्र आफ्नो रायसमेत समावेश गरी केन्द्रमा पठाउनुपर्ने परिपत्रमा उल्लेख छ।




One thought on “पद्मनारायण चौधरीसहित तीन जना थारु नेता समानुपातिकबाट सांसद बन्न नपाउने

  1. न्यूज सम्प्रेसन गर्दा को कहाँको थाह हुनु पर्छ जथाभवी समाचार सम्प्रेसन गर्न हुदैन

Leave a Reply to Anil Bishwas Cancel reply

Your email address will not be published. Required fields are marked *