अष्टिम्की पर्वको अन्तर्य, थारु समुदायले किन मनाउँछन्?

कृष्ण जन्माष्टमीको साँझ बडो अद्भुत र आकर्षक दृश्यावली देखिन्छ, थारू गाउँमा। चुक घोप्ट्याएजस्तो औंसीको अँध्यारो रात, जूनकीरीको पिलिक पिलिकसँगै घरघरबाट गाउँको गल्लीमा निस्किँदै जगमग जगमग बलिरहेको पालाको लामबद्ध प्रकाशपुञ्ज। त्यही प्रकाशपुञ्जमा छायाँझैं देखिने लामबद्ध थरुनीहरू, उनीहरूले पहिरेको हिउँजस्तो सेतो गोन्याको यदाकदा टल्किने टलक्क टल्काई, ‘हाली आओ हो गोही’ जस्ता सुनिने मसिनो स्वरको कलरव। गाउँको पुछारबाट निस्केको प्रकाशपुञ्ज गाउँको अगुवा बरघरको घरसम्म पुग्दा निकै लामो भइसकेको दृश्यावली। मन्त्रमुग्ध भएर हेरिरहुँ जस्तो लाग्ने।

थारू वास्तुकलानुसार घरको बह्री अर्थात् बैठक कोठाको भित्तामा क्यानभास हुन्छ। यसमा कृष्ण जन्माष्टमीमा व्रत बसेका थारू लोकचित्रकारद्वारा अष्टिम्की चित्रण गरिन्छ। विगतमा सिमीको पाताबाट हरियो रङ, पवैंको गेडाबाट रातो रङ, खयरको गुदीबाट कत्थई रङ, सुकेको लौकाको खोस्टा डढाएर पिँधेर कालो रंग बनाइन्थ्यो। हाल चित्र बनाउन सामान्य रंग प्रयोग गरिन्छ।

चित्रमा सृष्टिको कथा हुन्छ। माथिल्लो भागमा सूर्य र चन्द्रमा चित्रित हुन्छ। पिँधमा नीलो जल मण्डलमा माछा, डुंगा, थारू प्रजापिता गुर्बाबा, गंगटा र गँड्यौला आदिको चित्र हुन्छ। त्यस्तै, हात्ती, मुजुर, हलो जोतिरहेको मानिस, रुखमा बसेर बाँसुरी बजाइरहेका कान्हा, डोली, सम्धिमेलो, बाह्र शिरयुक्त रावणको पनि चित्र हुन्छ। बीचको पंक्तिमा सख्या नाचिरहेकी द्रौपदीहरू, माथिल्लो पंक्तिमा मादल बजाइरहेका पाण्डवहरूको चित्र कुँदिन्छ।

गाउँभरिका व्रतालु महिलाहरू थालमा चामल, चामलमाथि माटाको पालाको बत्ती, बत्ती वरिपरि कान्हाको प्रिय फूल घुन्यासर र विशेष फल अमला अथवा काँक्रा, हातमा काँस या पित्तलको लोटामा चोखो जल लिएर सोह्र शृंगारसहित पूजाका निम्ति भेला हुन्छन्। परम्परागत भेषभूषामा सजिएकी साना बालिकाहरूलगायत किशोरीहरूको सहभागिता थप आकर्षक हुन्छ। उनीहरूको ठुमुकठुमुक हिँडाइ, अनुहारमा अनौठो अबोधपन, चुलबुलेपन, कतिपय बालिकाहरूले आफ्नै पूजा थाल सम्हाल्न नसक्दा दिदीहरूले सहयोग गर्छन्।

बरघरकी श्रीमतीबाट अष्टिम्की पूजा आरम्भ हुन्छ। सालको पातमा ल्याइएको सिन्दूरले सर्वप्रथम कान्हा, त्यसपछि अन्य सबै पात्रहरूलाई टीका लगाइन्छ। लोटाको जल आचमन गरिन्छ। पूजापछि आआफ्नो घर फर्कन्छन्। काँक्रो, अम्बा, दहीको फलाहार गरेर पुनः उही पूजास्थलमा भेला हुन्छन्। सुमधूर सामूहिक स्वरमा अष्टिम्की गायन सुनिन्छः

पहिल ट सिरिजल जल ठल ढरटी

सिरिजी ट गैल कैला कुस डाब

अर्थात् सर्वप्रथम जल, त्यसपश्चात् थल अर्थात् धरतीको सिर्जना भयो। अहोरात्रसम्म गायन चलिरहन्छ। व्रतालुहरू बिहान पूजा कक्षमा भेला भई अष्टिम्कीको फेरि पूजा गर्छन्। चामलबाहेक चढाइएको सम्पूर्ण प्रसाद टपरीमा उठाएर नजिकको खोलामा पुग्छन्। जलधारमा प्रसादसहितको टपरी सेलाउँछन्। जलाधारमा ढलपल ढलपल गर्दै बगिरहेको टपरी, त्यसमाथि टिलपिलाउँदो बत्तीको दीपशिखाको सौन्दर्य जति हेर्दा पनि सन्तुष्टि कहाँ ! बालकान्हाहरू जलधारमा हेलिन्छन्, अमिलो र काँक्रा लुटेर खान थाल्छन्। थारू राधाहरू नुहाउन थाल्छन् तर गोपिनीहरूको वस्त्र चोरेर लुकाउने कान्हा भने यहाँ हुँदैनन्।

नुहाएर थारू राधाहरू घरघर फर्किन्छन्। एकै ठाउँमा आसीन भएर अग्नि देवतालाई गाईको नौनी, व्रत समापनका लागि पकाइएको प्रसाद भात, तीन या पाँच या सात प्रकारका तरकारी चढाउँछन्, जसलाई अग्यारी डेना भनिन्छ। टपरी र दुनामा प्रसाद छुट्ट्याइन्छ, जसलाई अग्रासन डेना भनिन्छ। अग्रासन अर्थात् आग्रायण। आपूmले उपभोग गर्नुभन्दा पहिले देवीदेवतालाई अर्पण गरिने प्रसाद आग्रायण। टपरी र दुनामा छुट्ट्याइएको अग्रासनमा थपेर विवाहित चेलीबेटीहरूलाई कोसेली दिन जान्छन्। माइतीको अग्रासन पाएपछि चेलीको मुहार ढपक्क बल्छ। यसरी कान्हामय थारू महिला अर्थात् राधाहरूको अनुपम पर्व अष्टिम्की (कृष्णजन्माष्टमी) पर्व सकिन्छ। तर यस अवसरमा गाइने अष्टिम्की लोककाव्य बडा दसैंसम्म गाउँदै नाचिने सख्या, पैयाँमा गएर मात्रै विधिवत् रूपले समापन हुन्छ।

समग्रमा अष्टिम्की एउटा सामान्य चित्रमात्र नभएर सृष्टिकालदेखि वैदिककालीन त्रेतायुग हुँदै द्वापरयुगसम्मको लोकइतिहास हो, थारू लोकको आस्थाको प्रतीक हो। वैज्ञानिक आधारमा भन्नुपर्दा अष्टिम्की चित्र चार अर्ब वर्ष पहिलेको पूर्वजैविक युगको प्रतीक हो। जुनकालमा पृथ्वी चीसो हुने र पानी बन्ने क्रिया सुरु भयो। एवम् प्रकारले ५७ देखि २८ करोड वर्षपहिलेको पूरा जैविक युगको प्रतीक हो, जुन कालमा माछा, गंगटा, गँड्यौंलाजस्ता जीवको उत्पत्ति भयो। ईपू १३ हजारदेखि ८ हजारको मध्यपाषाण युगको प्रतीक हो, जुन कालमा मानिसले आफ्नो घरको भित्तामा मुजूर, हात्ती आदिको चित्र माटाले बनाउने संस्कृतिको आरम्भ गरे। ईपू ८ हजारदेखि ५ हजारको को नवपाषाणयुगको प्रतीक हो, जुन कालमा कृषि सभ्यताको विकास र बसोबासको स्थायित्व आदिको विकास भयो।

यस चित्रकला र पर्वको नामकरणको सन्दर्भमा भन्नु पर्दा अष्टमी तिथिमा कान्हाको विराट स्वरूपलाई टीका लगाएर पूजा गरिने भएकोले लोकचित्रलाई मात्र नभएर समग्र रूपमा जन्मदिवसलाई अष्टिम्की भनियो। यो थारू लोकदर्शनको एउटा अभिन्न अंग हो।

लेखक थारु स‌ंस्कृतिविद् हुन्। (अर्काइभबाट)




2 thoughts on “अष्टिम्की पर्वको अन्तर्य, थारु समुदायले किन मनाउँछन्?

  1. The wright up on the history of Shree Krishna Janmashtami( Ashtimki) in Tharu culture is very impressive and knowledgeable. Thank for promoting our culture.

  2. बैबाङका अशोक थारु थारु संस्कृतिका ज्ञाता हुनुहुन्छ ।तर दु:खद कुरा सुन्छु उहाँ इसाई पो हुनुहुन्छ ।उहाँको अरुपरिवार हिन्दुमा हुनुहुन्छ ।अशोकजीको लेख पढ्दा ज्यादै जान्न पाए उहाँलाई बधाई छ

Leave a Reply

Your email address will not be published.