अमेरिका जाँदा एउटा थारु नेताको यात्रा संस्मरण

बैजनाथ चौधरी

काठमाडौं एअरपोर्ट पुग्दा १२ बजेको थियो।
रुकुमको सिचाईको ड्राइभर रमेश मगरले एअरपोर्ट पुर्‍याए। लगेज बुझाएर अध्यागमनमा जाने वितिकै पासपार्टमा छाप लाग्यो। यसपाली भीआईपीतिर छिरिएन। आम जनता भएर सुरक्षा जाँच गराउँदै वेटिङमा पुगियो।

३ बजेतिर प्लेनमा चढने काम भयो, ३:४० तिर प्लेन उड्यो। नेपाली समय ८ बजे दोहा पुगियो। दोहामा बुढाबुढीलाई व्याट्री गाडीमा बसालेर गेटमा पुर्‍याउने गर्दा रहेछन्। यसपाली हामी बुढाबुढीलाई पनि त्यो सुविधा प्राप्त भयो। व्याट्री गाडीले युएस-युएस भनेर करायो। एस,.. वी आर गोइङ टु वासिङ्टन डीसी भनेपछि, सिट-सिट भन्दै व्याट्री गाडीमा हामीलाई पनि बसाल्यो। सी-७ गेटमा रोक्यो र दीस इज योर गेट भन्दै देखायो।

यासपाली रातिको प्लेन भएर सुत्न नपाएकाले होला हिँड्न अल्छी मान्दै थिई बुढी, क्या काइदा भयो। गेट खोज्न परेन हिँड्न पनि परेन। तर एउटा चिज त फेरिएको रहेछ, हामी श्रीमान श्रीमती पनि बढाबुढीको दर्जामा पुगेका रहेछौं। यो लेखिरहँदा डीसी जाने यात्रुहरु बोर्डिङ हुँदैछन्। म्याडम मज्जाले निदाएको छ।

कतारको ८:४५ मा उड्ने भने पनि ९:३० मा मात्रै कतारबाट करिब ५०० जना बोक्ने बोइङ-७७७ उड्यो।

यसपाली हामीलाई विमानको पुछार सिटमा बस्न मिलाइएको थियो। भान्सा र शौचालय बगलमै थियो। मलाई पानी धेरै खानुपर्ने र शौचालय पनी धेरैपटक जानुपर्ने क्या मज्जा भयो। कतारबाट १४ घण्टा ४५ मिनेटको उडान समय थियो। डीसी पुग्नुपर्ने १६:३५ मा १६:१६ मा ठ्याक्कै ल्याण्ड गर्‍यो।

अध्यागमनमा ठूलो लाइन थियो। हामी ओर्लिनुभन्दा अगाडिदेखि नै ठूलो भीड रहेछ। दुई घण्टा पूरा लाइनमा उभिन पर्‍यो। एक त २ रातको अनिदो र काठमाडौंबाट कतार हुँदै वासिङ्टन डीसी लगभग २० घण्टाको लागातारको उडानले थकित बनाएका बेला प्लेनबाट ओर्लिने वितिकै २ घण्टा लाइनमा बस्नुपर्दा थकाई पनि लाग्यो। छाप लगाउने अफिसरले प्रश्न सोध्यो- किन अमेरिका आउनु भयो?
छोराछोरी अमेरिकामा पढ्दैछन्, तिनलाई भेटेर फर्किने हो।
कति दिन अमेरिका बस्ने?
२७ दिनमात्रै।
कति डलर बोकेर आउनु भएको छ?
५०० डलरमात्रै।
२ अगष्टमा आएको फेब्रुअरी १३ सम्म बस्ने अनुमतिको छाप लगायो।
मंसिरमा चुनाव छ, माघसम्म बस्ने अनुमति छ। भदौ ११ मा त फर्किने टिकट छ।

अध्यागमनबाट व्यागेज लिने ठाउँमा गइयो। दोहाबाट आएको प्लेनको ८ नं बेल्टमा सामान २ घण्टादेखि घुमेको घुमै थियो। सामान बुढीले चिनि हाली, झिकियो। ट्रली बोकेको एउटा मान्छे देखियो।

मैले सोधे, कति हो? ट्रलीमा समान लगेको? २० डलर भन्यो। अर्थात् नेपाली २५४० रुपैयाँ।
बुढीले भनी गुड्ने सुटकेस हो गुडाएर लाने। २ वटा ठूलो लगेज २ वटा हैण्ड कैरी दुई जनाले गुडाएर बाहिर ल्याइयो। दाइको छोरा कुन्दन र हाम्रो छोरा विजय लिन आएका रहेछन्। उनीहरुले पार्किङसम्म लगेज गुडाए। कुन्दनले पुरानो गाडी बेचेर नयाँ टोयटा लिएको रहेछ। गाडी फेरेछ त? कति पर्‍यो यसलाई? अमेरिकामा ३० हजार डलर पर्‍यो। नेपालमा एक करोडमाथि पर्छ भन्छ।

जे होस् घरकै नयाँ गाडी चढेर बस्ने ठाउँ अर्लिङ्टन भर्जिनिया पुग्दा साँझको ७:४५ भएको थियो।




One thought on “अमेरिका जाँदा एउटा थारु नेताको यात्रा संस्मरण

  1. थारु समुदाय र थरुहटकालागि तपाइले गर्नुभएको योगदानको
    संस्मरण सार्वजनिक होस् भन्ने आम थारु सर्वसाधारण जनताको
    चाहना हो ।

Leave a Reply

Your email address will not be published.