प्रदेश १ को नाम ‘थरुहट कोचिला’ राख्न माग

प्रदेश सभाको अगाडि थरुहट कोचिला संयुक्त सघर्ष समितिले प्रदर्शन गरेको छ। प्रदेशसभाको चालु वर्षे अधिवेशनको बैठक चलिरहेको बेला संघर्ष समितिले प्रदेश १ को नाम पहिचान झल्किने गरी थरुहट कोचिला राख्नुपर्ने माग गर्दे प्रदर्शन गरेको हो।

मुख्यमन्त्री राजेन्द्र राईले किराँत प्रदेश नभए देशमा द्वन्द्व हुने अभिव्यक्ति दिएपछि मंगलबार प्रदेशका दुई तिहाई जनसंख्या भएको उदयपुर, सुनसरी, मोरङ र झापाका थारु र राजवंशीसहित मधेशीहरूले आफूहरूको पहिचान झल्किने नाम राख्न माग गरेका छन्।

समितिको संयोजक भागवत चौधरीले लामो इतिहास रहेको थारु र राजवंशीसहितको मधेशी समुदायको पहिचानको आधारमा प्रदेशको नामकरण गर्न दवाव दिन शान्तिपूर्ण रूपमा प्रदर्शन गरिएको बताए। उनले जाति र माटिको रक्षार्थ आफूहरू फेरि आन्दोलित बनेको सुनाए। प्रदर्शनमा सहभागीहरूले प्रदेश १ मा एक तिहाई जनसंख्या रहेका राई, लिम्बूहरूको मात्रै पहिचान झल्किने नाम प्रदेश सभाले राखे आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिए।

समितिका सहसंयोजक भीम राजवंशीले भेलाले प्रदेश १ को नाम दुई तिहाई जनसंख्या रहेका उदयपुर, सुनसरी, मोरङ र झापाका बासिन्दाको पहिचान झल्किने ‘थरुहट–कोचिला’ नाम राख्नु पर्ने बताए। उनले भने ‘अहिले हामीले शान्तिपूर्ण रूपमा प्रदर्शन गरेका छों, मागलाई अस्वीकार गरे निर्णायक आन्दोलनको घोषणा गर्ने छौं।’ अहिले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूले छलफल गरिरहेका कोसी, कोसी-किराँत, सगरमाथा-किराँत, सगरमाथा, विजयपुर, कञ्चनजंघा, विराटजस्ता नाम आफूहरूलाई मान्य नहुने उनले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *