चितवनका वीरेन्द्र महतोलाई ११ सय अमेरिकी डलरको अन्तर्राष्ट्रिय शिक्षा सेवा पुरस्कार

कारी महतो

माडी नगरपालिका वडा नं. ३, रतनी धोबहास्थित आधारभूत विद्यालयका प्रधानाध्यापक वीरेन्द्र महतो अन्तर्राष्ट्रिय शिक्षा सेवा पुरस्कार-२०२२ बाट सम्मानित हुने भएका छन्।

एनआरएन नन रेसिडेन्ट नेपाली एशोसिएसन क्यालिफोर्निया, अमेरिकाले प्रध्यानाध्यापक वीरेन्द्र महतोलाई अन्तर्राष्ट्रिय शिक्षा पुरस्कार-२०२२ प्रदान गर्ने भएको हो। आउँदो भाद्र ७ गते विद्यालय प्राङ्गणमा एक हजार एक सय अमेरिकी डलर अर्थात् करिब एक लाख ३८ हजार नेपाली रूपैयाँ र ताम्रपत्रद्वारा सम्मान गरिने सो संस्थाले जनाएको छ।

२०७४ सालमा विद्यालयमा बाढी पसेर पुनर्स्थापना गर्न बजेट अभाव लगायत विभिन्न कारणले विद्यालयलाई अन्यत्र मर्ज गर्न नगरपालिकाले सुझाव दिएको थियो। तर, प्रधानाध्यापक महतोको अथक प्रयास र परिश्रमबाट विद्यालयले नगरपालिकाकै उत्कृष्ट विद्यालयको रूपमा पुरस्कार प्राप्त गर्न सफल भयो।

माडी नगरपालिकाले विद्यालयले २०७६, ०७७ र ०७८ सालमा लगातार तीन वर्षसम्म पुरस्कार दिनुका साथै नमूना शैक्षिक संस्था घोषणा गरेको छ।

पाँच कक्षासम्म सञ्चालनमा रहेको त्यस विद्यालयमा २०७४ सालमा ११५ विद्यार्थी रहेको स्मरण गर्दै प्रधानाध्यापक महतोले भने अहिले २५७ जना विद्यार्थी संख्या पुर्‍याएका छन्। विद्यालयमा अधिकांश बालबालिकाहरू थारू, बोटे र मधेसी समुदायका छन्।

प्रधानाध्यापक, शिक्षकलगायत अभिभावकहरूले चाहेमा जस्तोसुकै विद्यालयमा शैक्षिक सुधार सम्भव रहेको कुरा प्रधानाध्यापक वीरेन्द्र महतो तथा आधाभूत विद्यालय रतनीका शिक्षक स्टाफ र अभिभावकहरूलाई उदाहरणको रूपमा लिन सकिन्छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *