थरुहट थारुवान राष्ट्रिय मोर्चा र ‘फेलिअर’ पदाधिकारी (विचार)

सुमनिमा चौधरी

थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजकसहित ९ जना नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेपछि चर्चाको विषय बनेको छ। स्वतन्त्र र लुज फोरम रहेको मोर्चालाई राजनीतिक गन्ध नदिन आबद्ध पदाधिकारीहरुले भनिरहेका छन्।

मोर्चका कार्यबाहक संयोजक बनेका श्रवण चौधरी लेख्छन्, ‘थरुहट थारुवान राष्ट्रिय मोर्चा समग्रमा सिंगो थारु समुदायको राजनीतिक मुद्दा बोकेको एकमात्र अहिलेसम्मकै जीवन्त लुज फोरम हो। जसले मेचीदेखि महाकालीसम्म आफ्नो संगठित आन्दोलनको हैसियत राख्छ। टीकापुर राजबन्दी रिहाईको मुद्दामा सक्रिय भूमिका निर्वाह गर्ने र सरकारसँग कैयौँ वार्ता समेत गरिसकेका छन्।’

श्रवणजीलाई चुनौती दिन चाहन्छु, माइनट देखाउनुस्, यो मोर्चा गठन भएदेखि कतिपटक बैठक बस्नुभयो? मेची महाकाली अभियानअन्तर्गत के के गर्नुभयो? सरकारसँग कतिपटक कहाँ कहाँ वार्ता गर्नुभयो? कि कुनै पार्टी वा संस्थाले गरेको वार्ताको जस तपाइँले लिन खोज्दै हुनुहुन्छ?

टीकापुर राजबन्दी रिहाइका लागि सुरेन्द्र चौधरी नेतृत्वमा पटक-पटक वार्ता भएको हो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई पक्षीय छलफल पनि भएको हो। त्यसमा मोर्चाले ‘जस’ नलिए हुन्छ। उक्त छलफल लोकतान्त्रिक समाजवादी पार्टीका नेता महन्थ ठाकुरको पहलमा भएको हो। अर्को, एमाले नेतृ भगवती चौधरीको पहलमा थारु कल्याणकारिणी सभाले वार्ता गरेको हो। जोसँग ६ बुँदे सहमति समेत भएको थियो। भनेपछि मोर्चाले कहिले कोसँग वार्ता गर्‍यो?

कसरी बन्यो मोर्चा?

कैलाली जिल्ला अदालतले टीकापुर घटनाको फैसला गर्दै रेशम चौधरीलगायत केहीलाई जन्मकैदको फैसला सुनायो भने लक्ष्मण थारुलगायत केहीलाई केही वर्ष कैदमात्र तोक्यो। उक्त कैद भोगिसकेकाले उनीहरु तत्कालै रिहा पनि भए। लक्ष्मण थारु रिहा भएपछि २०७६ जेठ १७ गते काठमाडौंको एक बैंक्वेटमा भेला भई टीकापुर सम्मेलन गर्ने निर्णय भएको थियो। सोही भेलाले मिनराज थारु नेतृत्वमा तयारी समिति समेत गठन गरेको थियो।

त्यसबीचमा जिल्ला जिल्लामा प्रचार भएकै हो। टीकापुर सम्मेलनमा देशभरिका थारुहरु उर्लिएकै हुन्। देशभरिका थारु टीकापुरमा जम्मा हुनुको मुख्य कारण थियो, टीकापुर घटनाको सेन्टिमेन्ट र थारुहरुमाथि लगाइएको जघन्य अपराध। उनीहरु त्यसैका लागि टीकापुर पुगेका थिए। तर, संयोजक नबन्ने पूर्वफैसला गरेका लक्ष्मण थारु नै अन्तत विसं २०७६ को भदौ ७ देखि ९ गतेसम् चलेको भेलाबाट संयोजक बने। थरुहट थारुवान राष्ट्रिय सम्मेलनबाट थरुहट थारुवान राष्ट्रिय समिति बन्यो र केही मनोनयन गर्नेगरी १०१ सदस्सीय केन्द्रीय संयोजन समिति गठन भयो। मुख्य पदाधिकारीमा श्रवण चौधरी, तुल्सी चौधरी र मिनराज थारु रहेका थिए। त्यही सम्मेलनले १५ बुँदे घोषणा पत्र पनि जारी गरेको थियो।

घोषणा पत्रमै सीमित आन्दोलन

टीकापुर १५ बुँदे घोषणा पत्र जारी गर्दै नवगठतिम मोर्चा समितिले ‘मिनि थरुहट आन्दोलन’ नै घोषणा गरेको थियो। बुँदा नं १० भनिएको छ, ‘थारु जातिको प्रथाजनित एवं परम्परागत कानुनी मूल्य मान्यता र बघर/भलमन्सा, मटावाँ प्रथालाई कानुनी मान्यता दिनुिर्न’।

म काबा. संयोजकसहित पदाधिकारीलाई सोध्न चाहन्छु, ‘यस बुँदाअन्तर्गत रहेर कुन सरकारसँग तपाइँहरुले वार्ता छलफल गर्नुभयो?’ कति पालिकामा यसले कानुनी मान्यता पायो भन्ने डेटासमेत तपाइँहरुसँग छैन होला।

बुँदा १२ मा लोकसेवा र संघीय निजामति घनलाई संशोधन गरी जातीय जनसंख्याको आधारमा पूर्ण सामानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गरियोस् भनिएको छ। तर मोर्चाले यस बुँदाअन्तर्गत रहेर के गर्‍यो? कसैलाई थाहा छ? मलाई त केही गरेको थाहा छैन। बरु थारु कल्याणकारिणी सभाले अहिले सर्वोच्च अदालतमा यससम्बन्धी रिट दर्ता गराई मुद्दा लडिरहेको छ।

१५ बुँदामा त झन् थरुहट आन्दोलनको बिगुल नै फुकिएको छ। पहिलो चरणमा काठमाडौं उपत्यकासहित थरुहट तराईका क्षेत्रमा विद्रोह दिवस मनाउने, भदौ ८ लाई कालो दिवसको रुपमा मनाउने, टीकापुर सम्मेलनको सन्देश देशभरि प्रवाह गर्ने, त्यही वर्षको असोजभित्रै वडातहसम्मै समिति गठन गर्ने आदि इत्यादि। यी कामहरु सम्पन्न भएका छन्? मोर्चालाई हामी सबैले प्रश्न गरौं।

त्‍यतिमात्र होइन, दोस्रो चरण र तेस्रो चरणका आन्दोलन पनि तय गरिएको थियो। दोस्रोमा मेची महाकाली जागरण अभियान, स्थानीय जनप्रतिनिधिलाई पेन डाउन गराउने, राजनीतिक दलहरुबीच छलफल चलाउने, थरुहट थारुवान स्वयत्त प्रदेश अंकित स्टीकर टाँस्ने लगायत कार्यक्रमहरु तय भयो। तर खोइ?

त्यतिमात्र होइन, त्यही वर्षको असोज लगत्तै तीन दिने बन्द तथा आम हड्ताल र त्यसपछि अनिश्चितकालीन बन्द गर्ने घोषणा पनि भयो। तर आजको दिनसम्म एउटा वडा पनि मोर्चाले विरोध प्रदर्शन गर्न सकेको छैन।

काबा संयोजक श्रवण चौधरी आफैँ नेपाल लोकतान्त्रिक पार्टीका नेता कार्यकर्ता हुन्। उनीमात्र होइनन्, मोर्चामा आबद्ध सबै जना कुनै न कुनै पार्टीमा आबद्ध रहेका छन्। उनीहरुले जनसुकै पार्टीमा आबद्ध हुने अधिकार राख्छन्। त्यसैले विरोध गर्नुअघि मोर्चाका पदाधिकारीहरुले पहिले आफ्नो आङ् हेर्न जरुरी छ।

अन्त्यमा, मेरो विचारमा थरुहट थारुवान राष्ट्रिय मोर्चाले यो तीन वर्षमा झिंगासमेत मारेको छैन। केही ठाउँमा कार्यक्रम सम्पन्न गरेको हो। केहीसँग वार्तालाप पनि गरेको हो। तर एकात दुई कार्यक्रम गर्दैमा, केहीसँग चिया वार्तालाप गर्दै त्यसले पहाडै खसाए भन्ने मोर्चाका केही पदाधिकारीको बुझाइ बिलकुल गलत छ। थारुहरुका लागि गर्नुपर्ने धेरै छ। त्यसमा मोर्चाको पहलले मात्र नपुग्ला। सबैसँग समन्वय गरेर अगाडि बढ्न जरुरी छ।

थरुहट थारुवान राष्ट्रिय मोर्चाको आवश्यकता थारुहरुलाई छ। संविधानमा अझै थारुहरुका असन्तुष्टि छन्। मधेसीहरुले मधेस प्रदेश पाउँदा थारुहरुले कथित लुम्बिनी र सुदूरपश्चित प्रदेशमा बस्नु परिरहेको छ। आफ्नै क्षेत्र किताकाट पारिँदा राजनीतिक र राज्यबाट पाउने अधिकारबाट थारुहरु वञ्चित हुनुपरेको छ। यस्तो अवस्थामा दुई छुट्टा छुट्टै मोर्चा हुनु, फरक-फरक राजनीतिक दलहरुबीच थारु-थारुमै प्रतिस्पर्धा हुनु पक्कै राम्रो होइन। त्यसका लागि के गर्नुपर्छ सबैलाई थाहा छ, आफ्नो अधिकार, आफ्नो मताधिकारलाई सुरक्षित तवरले प्रयोग गरे पक्कै पनि यो देशमा थारुहरुले शासन गर्नेछ।

तसर्थ मोर्चासहित थारु नेताहरुलाई सद्बुद्धि प्रदान होस्।

लेखकबाट थप

हे थारु हो! यो सामन्ती शासकविरुद्ध विद्रोह गर्न तयार छौ? (पाठक पत्र)




Leave a Reply

Your email address will not be published.