थाकस पदाधिकारीसँग ओलीले भने- थारुको मुद्दामा हामी गम्भीर छौं

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले थारुको माग मुद्दामा आफू गम्भीर भएको बताएका छन्। उनले पार्टीको तर्फबाट आवाज उठाउने आश्वासन दिए। थारु कल्याणकारिणी सभा (थाकस)का पदाधिकारीहरु सोमबार ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा डेलिगेशनका पुगेका थिए।

ओलीसँगको भेटमा सरकारसँग भएको ६ बुँदे सम्झौताको कार्यन्वयन गर्नुपर्ने माग गरेका थिए। ‘तपाइँ नेतृत्वकै सरकार हुँदा ६ बुँदे सहमति भएको अवस्था छ। लोकसेवा लगायत सरकारी निकायहरुमा थारु कलस्टर छुट्याउनुपर्ने माग उठाइरहेका छौं। रेशम चौधरीलगायत थारुहरु जेलबन्दी जीवन जीउन बाध्य छन्। प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले थारुहरुको आवाज उठाइदिनुपर्‍यो,’ थाकसका महामन्त्री प्रेमीलाल चौधरीले अध्यक्ष ओलीसँग आग्रह गरे।

जवाफमा उनले आफू थारुको माग मुद्दामा गम्भीर रहेको बताएका थिए। ‘थारुको माग मुद्दामा हाम्रो पार्टी गम्भीर छ। गम्भीर भएरै मेरो नेतृत्वको सरकारले सम्झौता पनि गरेको हो। तर कार्यान्यवनको चरणमा हामी सरकारबाट बाहिरियौं। हाम्रो तर्फबाट सकेसम्म सरकारलाई दबाब दिन्छौं,’ ओलीले आश्वासन दिए।

थारुहरुले संघीय निजामती विधेयकमा सहयोग गर्नसमेत आग्रह गरेका थिए। थारुहरुले समावेशी सिद्धान्तअनुसार जनसंख्याको अनुपातमा ६.६ प्रतिशत कोटाको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ। उक्त विधेयकमा थारुहरुको पहल गरिदिन थारुहरुले आग्रह गरेका थिए।

एमाले सांसद गंगा चौधरीको पहल भएको भेटघाटमा थाकसको तर्फबाट कन्नुलाल चौधरी, प्रेमीलाल चौधरी, कुछतनारायण चौधरी, सुमन चौधरीलगायत सहभागी थिए।

ओलीले यसअघि कैलाली पुगेर रेशम चौधरीलाई जेलमा हाल्नुपर्ने कुनै कारण नभएको बताएका थिए। उनले घटनामा नभएका मान्छेलाई जेलमा हालेर अन्याय गरेको बताएका थिए। उनले आफू थारु समुदायका लागि गम्भीर रहेको त्यही कारण थाकसका पदाधिकारीहरुलाई बोलाएर सम्झौता गरेको स्पष्ट पारेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *