मानव विकास सूचकांकमा थारुहरु धेरै पछि छन् : थारु आयोगका अध्यक्ष चौधरी

थारु आयोगका अध्यक्ष विष्णु चौधरीले मानव विकास सूचकांकमा थारुहरु धेरै पछि रहेको बताएका छन्। शुक्रबार नेपाल चौतारी कार्यक्रममा बोल्दै उनले थारुहरु तराईको ग्रामिण क्षेत्रमा बसोबास गर्ने र ग्रामिण क्षेत्रहरु अझै सूचाकांकमा धेरै पछि रहेको तथ्य स्पष्ट पारे।

‘थारु आयोगले टियु मानवशास्त्र विभागसँग मिलेर यसबारे अध्ययन गरिरहेको छ। तर तथ्यांकमात्रले थारु समुदायको सबै कुरा बोल्दैन। यथार्थमा थारु समुदाय मानव विकास सूचकांकमा अझै धेरै पछाडि छ,’ उनले भने।

उनले बढीजसो थारुहरु निम्न र मध्यम वर्गीय भएकाले यो समुदाय धनाढ्य पनि नभएको र भोकमरी पनि नलागेको अवस्थामा रहेको बताए। ‘समग्रमा भन्ने हो भने थारुहरु अवस्था बीचमा छ। माथि पनि छैन, तल पनि छैन,’ उनले भने।

उनले थारुहरुको शिक्षामा पहुँच देखिए पनि बढीजसो सामुदायिक विद्यालयमा भर्ना भएको देखिएको बताए। त्यसले पनि थारुहरुले गुणस्तरीय शिक्षा भएन कि भन्ने अनुमान लगाउन सकिने उनले बताए।

‘थारुहरु बढी सामुदायिक विद्यालयमा पढ्छन्। जबसम्म समुदायिक विद्यालयको गुणस्तर राम्रो हुन सक्दैन। तबसम्म समुदायको राम्रो हुने देखिएन,’ उनले थपे, ‘त्यस्तै थारुहरु परम्परागत कृषिमामात्रै आधारित छन्। जसका कारण सूचकांकमा सुधार हुन सकिरहेको छैन।’

थारु आयोगले थारु समुदायलाई सबै हिसाबले उत्थान गर्ने उद्देश्यले अगाडि बढेको उनले बताए। ‘हामीले थर सूचीकरण, साँस्कृति सम्पदा, कला, सँस्कृति र भाषा सम्बन्धमा काम गरिरहेका छौं,’ उनले भने।

त्यस्तै त्रिभुवन विश्वविद्यालय, मानवशास्त्र विभागका प्रमुख डा. डम्बर चेम्जोङले तथ्यांकमा सुधारको अवस्था देखिए पनि सबै ठाउँमा लागू हुने बताए। उनले थारु समुदायमा ९९ प्रतिशतसँग जमिन रहेको तथ्यांकमा देखिए पनि सबैभन्दा धेरै भूमिहीनको समस्या थारु समुदायमै रहेको बताए।

‘९९ प्रतिशत थारुसँग जमिन रहेको तथ्यांकले देखाउँछ। तर भूमिहीन, जमिनको समस्या पनि यही समुदायमा छ। ऐतिहासिक, राजनीतिक र आर्थिक हिसाबले हेर्ने हो भने जमिनमा पहुँच नहुने समुदाय थारु नै हुन्। कुनै तथ्यांकहरु गल्ती पनि हुनसक्छ,’ उनले भने।

उनले सेना र प्रहरीमा थारुहरुको पहुँच राम्रै देखाए पनि कुन पदमा आसीन रहेको भन्ने कुरा नखुलेको बताए। ‘सेना प्रहरीमा थारुहरुको पहुँच राम्रै देखियो। तर दर्जा देखिएको छैन। यसले नीति निर्माणको तहमा कमजोर देखिएको पुष्टि हुन्छ,’ उनले भने।

एन्टेना फाउन्डेशन नेपालले गरेको बहस तल सुन्न सक्नुहुन्छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *