राठौरको ठाडो हस्तक्षेपमा संसदीय समितिको निर्णय उल्टाएर जिससको सूचीबाट थारुको नाम हटाइयो

कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरको ठाडो हस्तक्षेपमा बर्दियाको जिल्ला समन्वय समितिमा जानबाट एक जना थारु वञ्चित भएका छन्। बाँसगढी वडा ९ बाट खुला सदस्यमा निर्वाचित मणिराम थारुलाई राठौरकै निर्देशनमा जिससको सूचीबाट नाम हटाइएको हो।

पार्टीको जिल्ला संसदीय समितिले जिससको सूचीमा मणिरामको नाम पनि सिफारिस गरेको थियो। तर अन्तिम समयमा उनको नाम हटाइएको स्रोतले भन्यो। ‘संसदीय समितिको निर्णयबाट मणिराम थारुको नाम सूचीमा परेको थियो। पार्टीमा सिनियारिटीका आधारमा अझ उनी जिसस प्रमुखकै दाबेदार थिए,’ स्रोतले थारुवानसँग भन्यो, ‘तर बीच बाटोबाटै उनको नाम काटियो। राठौरजीको निर्देशनमा उनको नाम काटेर गैरथारुको नाम समावेश गरियो।’

बाँसगढीको वडा ९ उपमेयरका उम्मेदवारसमेत रहेकी सोमती थारुको क्षेत्र हो। उनी उपमेयरमा पराजित भएकी थिइन्। तर उल्टै उनीमाथि अन्तर्घातको आरोप लगाएर कारबाही सिफारिस गरिएको एक नेताले बताए।

यो पनि पढ्नुस्:

किशोर सिंह राठौरको निर्देशनमा बर्दियाका थारु नेता-कार्यकर्तामाथि कांग्रेसको कारबाही आतंक

३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा राठौरको एक्लौटी निर्णयमा उम्मेदवारहरु टुंग्याएको ती नेताको दाबी छ। उनी भन्छन्, ‘८३ प्रतिशत थारु भएको गेरुवामा थारुलाई प्रमुख दिइएन। ७० प्रतिशत बढी थारु रहेको राजापुरमा थारुलाई प्रमुखको टिकेट दिइएन।’

थारु बाहुल्य रहेको ठाकुरबाबा नागरपालिकामा एउटा वडामा पनि थारुलाई अध्यक्षको टिकेट नदिएको ती नेताको आरोप छ। उल्टै कांग्रेसले मेयरमा जित्दा उपमेयर उम्मेदवार मन्जुकुमारी चौधरीलाई कांग्रेसले नै हराएको उनको आरोप छ। ‘वडाअध्यक्षमा त थारुलाई दिइएन ठीक छ। तर भएको उपमेयर उम्मेदवारलाई पनि हरायो,’ उनले भने।

राठौरकै निर्देशनमा थारु नेता-कार्यकर्तामाथि स्पष्टीकरण र कारबाही अभियान थालेपछि उनीसँग थारु नेताहरु आक्रोशित बनेका छन्। सामाजिक सञ्जालमा थारुहरुले राठौरविरुद्ध आक्रोश पोखिरहेका छन्। ‘आफ्नो वडा जिताउन नसक्ने नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर अरुलाई कारबाही गर्छु रे हाहाहाहाहा,’ दिनेश थारुले लेखेका छन्।




One thought on “राठौरको ठाडो हस्तक्षेपमा संसदीय समितिको निर्णय उल्टाएर जिससको सूचीबाट थारुको नाम हटाइयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *