नाबालिकालाई जबरजस्ती करणी गर्ने देवशंकर चौधरीलाई जन्मकैद सजाय

पर्सा जिल्ला अदालतले ४ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेका देवशंकर चौधरीलाई जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश राजेशकुमार कटुवालको इजलासले चौधरीले मुलुकी अपराधसंहिता २०७४ को दफा २१९ (२) (ग) ले परिभाषित कसुर गरेको पुष्टि हुन आएकाले मुलुकी अपराध संहिता २०७४ को दफा २१९(१) बमोजिमको कसुरमा सोही संहिताको दफा २१९ (३)(क) बमोजिम जन्म कैदको सजायको फैसला गरेको हो ।

कटुवालको इजलासले प्रतिवादीको पारिवारिक एवं आर्थिक अवस्था समेतलाई विचार गरी प्रतिवादीबाट पीडितले दफा २२८ बमोजिम क्षतिपूर्तिबापत १ लाख रुपैयाँ क्षतिपूर्ति भरी पाउने समेत ठहर गरेको छ ।

पर्साको सखुवाप्रसौनी गाउँपालिका-२ निवासी टटायन भन्ने देवशंकर दास थारुले २०७७ मंसिर ११ मा बिहान करिब ११ बजेको समयमा ४ वर्षीय नाबालिका छोरीलाई ललाइफकाई कोठामा लगेर जबरजस्ती करणी गरेकाले कानुनबमोजिम कारबाही गरी पाउ भनि पीडितका बुबाले किटानी जाहेरी दिएका थिए । पीडित नाबालिकाका बुबाले जाहेरी दिएपछि प्रहरीले गाउँबाटै देवशंकरलाई पक्राउ गरेको थियो । प्रतिवादी थारुले प्रहरीसमक्ष जबरजस्ती करणी गरेको बयान दिएका थिए । अदालतमा भने जाहेरी दरखास्त झुठो रहेको र आफूले जबरजस्ती करणी नगरेको बयान दिएका थिए ।

पीडितको कागज व्यहोरा, प्रतिवादी उपरको आरोप, मौकामा कागज गरिदिने व्यक्तिहरुले अदालतमा गरेको बकपत्र, पीडितको शारीरिक परीक्षण प्रतिवेदन र विशेषज्ञको अदालत समक्षको बकपत्रका सांपेक्षतामा पीडितको शारीरिक परीक्षण प्रतिवेदनको विश्लेषण गरेको थियो । अदालतले विवेचित आधार र प्रमाणहरुबाट प्रतिवादी देवशंकरले पीडित ४ वर्षीय नाबालिकालाई जबरजस्ती करणी गरी मुलुकी अपराध संहिता २०७४ ले परिभाषित कसुर गरेको पुष्टि हुन आएकोले जन्मकैदको सजाय हुने ठहर गरेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *