जेलबाटै रेशम चौधरीले तयार पारे पार्टी सञ्चालन र कार्य विभाजन प्रस्ताव

नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले पार्टी सञ्चालन र कार्य विभाजन प्रस्ताव तयार परेका छन् । काठमाडौंको डिल्लीबजार कारागारमा जन्म कैदको सजाय भोगिरहेका चौधरीले जेलमै प्रस्ताव तयार पारेका हुन्। पार्टी सञ्चालनका लागि पार्टी लेबी, क्रियाशील सदस्यता र कार्य विभाजनका सम्बन्धमा आगामी केन्द्रीय कमिटी बैठकबाट निर्णय लिन रेशमको निर्देशन छ ।

लेबी सम्बन्धमा प्रस्ताव
नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय सदस्य हुन एक कार्यकालका लागि २५ हजार लेबी निर्धारण गरिएको छ । यस्तै क्रियाशील सदस्यका लागि एक वर्षमा २५०, साधारण सदस्यका लागि एक वर्षमा २५ रुपैयाँ लेबी निर्धारण गरिएको रेशमको प्रस्तावमा उल्लेख छ ।

नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित मेयरले मासिक तलबको १५, उपमेयरले १२, वडाध्यक्षले १० प्रतिशत लेबी बुझाउनुपर्ने छ भने वडा सदस्यले मासिक १ हजार रुपैयाँ तोकिएको छ । यस्तै जिल्ला समन्वय समितिका सभापतिले २० प्रतिशत र जिल्ला समन्वय समितिका सदस्यले १० प्रतिशत लेबी पार्टीलाई बुझाउनुपर्ने प्रस्तावमा भनिएको छ ।

यस्तो छ कार्य विभाजन
चौधरीका प्रस्ताव अनुसार पार्टीको आगामी केन्द्रीय कमिटी बैठकले विद्यार्थी, श्रमिक, वुद्धिजिवी, कलाकार र भारतीय श्रमिक समाज संगठन हुने भएको छ । नागरिक विद्यार्थी समाजको संयोजकमा सत्य चौधरीको नाम प्रस्तावित छ भने नागरिक श्रमिक समाजको संयोजकमा रमण चौधरीको नाम अगाडि सारिएको छ । यस्तै नागरिक बुद्धिजीवी समाजको संयोजकमा राम बहादुर चौधरीको नाम प्रस्तावित गरिएको छ ।

नागरिक कलाकार समाजको संयोजक दर्पण कुसुम्या र नागरिक उन्मुक्ति भारतीय श्रमिक समाजकको संयोजक ललित ताम्राकारलाई बनाउने रेशमको तयारी छ । संस्थापक चौधरीले कार्यालय सचिवमा रमेश विकलाई अनिवार्य राख्ने भनेका छन् । कैलाली र बर्दियाका मुख्य क्षेत्रका लागि नेताहरुलाई जिम्मेवारी तोक्न पनि रेशमको प्रस्तावमा उल्लेख छ ।

कैलालीको टीकापुर क्षेत्रमा रामलाल डगौंरा, रमेश विक, लम्कीमा महेन्द्र उपाध्याय, बौनियाँमा पुश्कल चौधरी, घोडाघोडीमा प्रेम चौधरी, भजनीमा गंगाराम डगौंरा, जोशीपुरमा कैलाश चौधरी र धनगढीमा निम प्रसाद चौधरीले हेर्न गरी प्रस्ताव तय भएको छ । यस्तै बर्दियाको राजापुर क्षेत्रमा राम बहादुर बरवरिया र गुलरियामा सोमाई चौधरीलाई जिम्मेवारी तोक्न रेशमको प्रस्ताव छ ।

यस्तै टिकापुर घटनाका राजबन्दी परिवार, पार्टीका सदस्य र शिक्षित तथा महत्वपूर्ण व्यक्तिलाई पहिलो प्राथमिकता दिनुपर्ने रेशमको प्रस्तावमा उल्लेख छ । नागरिक उन्मुक्ति पार्टीले जितेका ४ पालिकामा टिकापुर घटनाका राजबन्दी परिवारलाई केही न केही राहतको व्यवस्था गर्ने भनिएको छ ।

‘राजबन्दी परिवारको अवस्था र तीनका बालबालिका के कस्तो अवस्थामा छन्, निशुल्क अध्ययन तथा उपचारको बन्दोबस्त गर्नुहोला,’ प्रस्तावमा भनिएको छ ।




One thought on “जेलबाटै रेशम चौधरीले तयार पारे पार्टी सञ्चालन र कार्य विभाजन प्रस्ताव

  1. भारतिय श्रमिकाे जिम्मेवारी मा मललाई जिम्मेवारी दिय हुन्थयाेकि रेशम सर

Leave a Reply to ramesh bahadur bohara Cancel reply

Your email address will not be published. Required fields are marked *