नविना चौधरीको परिवारलाई २० लाख क्षतिपूर्ति दिन सरकारसँग माग गर्ने सहमति

बर्दियाको मधुवनमा सोमबारदेखि वन्यजन्तु पीडितहरूले प्रदर्शनसँगै बन्द गरेको बजार खुलाइएको छ। गुलरिया, राजापुरसहित हुलाकी सडक खण्डको ओराली बजार बुधबारदेखि खुलाइएको हो। स्थानीय प्रदर्शनकारीले चक्काजाम र बन्दका कार्यक्रम पनि फिर्ता लिएका छन्।

प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाको नेतृत्वमा इलाका प्रहरी कार्यालयमा बसेको सर्वपक्षीय र पीडित परिवारसँग भएको सहमतिपछि चक्काजाम लगायत बन्दका सबै कार्यक्रम फिर्ता लिइएको हो।

प्रहरीको गोली लागि मृत्यु भएकी मधुवन-२ सोनाहा फाटाकी १८ वर्षीया नवीना चौधरीको ओराली चोकमा सालिक निर्माणका लागि सरकारसँग पहल गर्ने, मृतकका परिवारलाई २० लाख आर्थिक सहयोग उपलब्ध गराउन सरकारसँग माग गर्ने, नवीनालाई सहिद घोषणा गर्ने, घाइते भएका राकेश कुमार चौधरीको सम्पूर्ण उपचार खर्च सरकारसँग माग गर्ने लगायत सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता गरिएको हो।

यसैबीच वन्यजन्तुबाट बस्ती सुरक्षित गर्न २० किमीसम्म तारवार, कंक्रिट वाल लगाउन वन मन्त्रालयलाई पत्रचार गर्ने पनि बताइएको छ। सहमतिपछि स्थानीयले आन्दोलनका कार्यक्रम फिर्ता लिएको प्रजिअ बास्तोलाले बताए। मधुवन नगरपालिकाले पीडित परिवारलाई १ लाख सहयोग गर्ने पनि नगरप्रमुख तेज बहादुर भाटले बताए।

  • कमल पन्थी/कान्तिपुर




Leave a Reply

Your email address will not be published. Required fields are marked *