संसदमा गृहमन्त्रीको जवाफ : बर्दिया घटनामा आदेशबिनै गोली चलाइएको छ, दोषीलाई कारबाही हुन्छ

गृहमन्त्री बालकृष्ण खाणले बर्दियामा भीड नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर एक महिलाको मृत्यु भएपछि त्यस घटनाको छानबिन गरेर दोषीलाई कारबाही गरिने बताएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद बिमला विकले घटनाको बारेमा गृहमन्त्रीको जवाफ मागेपछि उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।

‘भीड उत्तेजित भएपछि नियन्त्रण गर्ने क्रममा प्रहरीको गोली लागेर नविना चौधरीको निधन भएको छ,’ उनले भने, ‘प्रमुख जिल्ला अधिकारीले गोली चलाउने आदेश नदिएको धारणा छ। नागरिकको यस्तो भीड, आन्दोलनमा गोली चलाउने कुनै आदेश नै छैन। सम्झाइ बुझाइ गर्ने, सर्वपक्षीय वा सर्वदलीय छलफल गरेर कमभन्दा कम शक्ति प्रयोग गर्ने भन्ने नीति नै छ।’

उनले गोली चलाउने आदेश नदिइ गोली चलाइएको घटनाको छानबिन हुने बताए। ‘घटनाको छानबिन गर्न सहसचिव हरि घिमिरेको संयोजकत्वमा छानबिन समिति बनाइएको छ। समितिले दिएको रिपोर्ट अनुसार गल्ती कमजोरी गर्नेलाई गल्ती अनुसार कारबाही गरिनेछ,’ उनले भने, ‘नागरिकको जीवन रक्षा नै राज्य र सरकारको पहिलो दायित्व हो। गोली चलाउने आदेश कसले दियो यर्थाथ सत्यतथ्य विवरणपछि नै कारबाही हुनेछ।’

यो पनि पढ्नुस् :

थारुमाथि प्रहरीको अन्धाधुन्ध गोली प्रहार (भिडियोसहित)

प्रहरीको गोलीबाट नविना चौधरीको मृत्यु, अन्यलाई पनि गोली लागेको स्थानीयको दाबी




One thought on “संसदमा गृहमन्त्रीको जवाफ : बर्दिया घटनामा आदेशबिनै गोली चलाइएको छ, दोषीलाई कारबाही हुन्छ

  1. पीडित जनताहरु न्यायको लागि चक्का जाम गरे के भो त? पुलिसको काम सम्झाउने बुझाउने हो हदै भए लाथी चार्ज गर्न सकिन्छ, अश्रुग्यास प्रहार गर्न सकिन्छ गोलि चलाउन पाइदैन त,कस्तो कस्तो आन्दोलनमा त गोलि चलाउदैनन, काठमाडौ जस्तो ठाउँमा त गोलि चलाउदैनन , जाबो एक दुई घन्टाको आन्दोलनमा गोलि चलाउन पर्ने के आवश्यक थियो? पुलिस मर्ने गरि हिन्सात्मक आन्दोलन त पक्कै पनि थिएन । प्रत्यक्षदर्शीहरु आफै पनि भनिराछन कि गोलि चलाउन पर्ने कुनै आवश्यकै थिएन भनेर। यो सरासर प्रहरी दमन हो यसमा पुलिसकै गल्ती छ। गोलि चलाउने आदेश न दिएको कुरा जिल्ला प्रशसन कार्यालयले भनी सकेको छ।

Leave a Reply to Jagatram Jingainya Cancel reply

Your email address will not be published. Required fields are marked *