यो देशको प्रधानमन्त्री बन्ने लक्ष्य राखेका मेटमणि चौधरी को हुन्?

दाङ प्रतिनिधिसभातर्फ क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित सदस्य मेटमणी चौधरी वि.सं २०२९ चैत १० गते जन्मिए आमा शिवरात्री चौधरी र भगवती प्रसाद चौधरीको कोखबाट। जग्गा जमिन गाउँका अन्यको तुलनामा राम्रै थियो, त्यसैले एसएलसीसम्मको पढाइममा अफ्ठ्याराहरु आएनन्। उच्च शिक्षा हासिल गर्न गाउँबाट नेपालगञ्ज गए। त्यहाँ बुद्धिराम चौधरीका छोराछोरी पढाइदिएबापत उनको घरमा निशुल्क बसेर आइए पढे।

अशोक चौधरीको घरमा त्यसरी नै बसेर स्नातक उत्तीर्ण गरे। कीर्तिपुर काठमाडौंमा महेन्द्र चित्राकारको व्यापारको हिसाब किताब हेरेर वाणिज्यशास्त्रमा स्नतकोत्तर सके। पढाइ लेखाइमा जेहेन्दार मेटमणि अन्य विद्यार्थी र आफ्नै कक्षाका विद्यार्थीलाई ट्युसन पढाएर आफ्नो खर्च धान्ने गर्थे।

उनले राजनीति भने कक्षा ८ मा पढ्दादेखि नै सुरु गरेका हुन्। नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध भएर उनले राजनीति थालेका थिए। पढाई, राजनीति र काम तीनै कुरा सँगसँगै बढाउन सजिलो थिएन। तर मिहिनेती मेटमणिले समयको व्यवस्थापन गर्दै सबै कुरा सम्भव बनाउँदै लगेका थिए।

यसरी नै उनले वाणिज्यशास्त्रबाहेक राजनीतिशास्त्र र अर्थशास्त्रमा पनि स्नातकोत्तर गरे। छिटै पीएचडी गरी नामको अगाडि डाक्टर जोड्ने इच्छा छ उनको। उनले भने, ‘दिनभरि काम र राजनीति गरेर राति राति पढ्ने गर्थे, जसले गर्दा उनले ३ विषयमा स्नातकोत्तर सके। मेटमणिले भने, ‘दुब्लो छु, पातलो छु, कालो छु, ज्यान कहिल्यै लागेन, सायद धेरै मिहेनत गरेर होला।

मेटमणि सामाजिक काममा पनि उत्तिकै अग्रसर रहे। आफ्नो समुदायप्रति उतिकै चासो राख्ने उनी आफ्नो समाजको अगुवाई गर्न कहिल्यै पछि परेनन्। विद्यार्थी हुँदा थारु विद्यार्थी समाज दाङका अध्यक्ष हुँदै केन्द्रीय कोषाध्यक्ष भए। थारु कल्याणकारिणी सभा दाङका सचिव हुँदै केन्द्रीय सदस्य भए।

नेकपा एमालेको लोकतान्त्रिक थारु मञ्च दाङका अध्यक्ष हुँदै केन्द्रीय सचिव र एमालेकै कमैया मुक्ति मञ्च नेपालका केन्द्रीय सदस्य भए। राजनीतिक यात्रामा अगाडि बढ्नका लागि उनले धेरै संघर्ष गर्नुपरेको थियो।

आफ्नै पार्टीभित्र जिम्मेवारी लिनका लागि चुनाव लड्न पर्दा कहिले थारुहरु भित्रैबाट असहयोग त कहिले बाहुन, क्षेत्रीबाट थारुलाई अगाडि बढ्न नदिने सोचविरुद्ध उनी लडिरहे। वि.स २०६९ मा उनी नेकपा एमालेको क्षेत्रीय अध्यक्षका लागि भएको चुनावमा विजयी पनि भए। उनको पूरा प्यानल नै विजय भएको थियो।

त्यसबाहेक अन्य चुनावमा उनी सहभागी भएका थिएनन्। मंसिर २२ मा सम्पन्न प्रतिनिधि सभाको चुनावमा उनी पहिलोपटक उम्मेदवार बने र पहिलो पटकको उम्मेदवारीमै सफलता हासिल गरे। अहिलेसम्म आफूले थालेको हरेक काममा सफलता प्राप्त गरेका मेटमणिले भने, ‘मैले हार्न जानेको छैन, मेरो जीतमा मेरो मिहेनतले साथ दिइरहेको हुन्छ।’

मेटमणिले आफूले चुनाव जित्नुमा वाम एकताले धेरै सहयोग पुर्या,एको बताए। जनताहरु कम्युनिष्ट पार्टीप्रति विश्वस्त छन्, बामपन्थीप्रति जनताको लगाव छ। वामपन्थीको चुनावी एकताले जनतालाई अझै उत्साहित बनाएको छ। कुनै पार्टीमा सक्रिय नरहेका बीचका मानिसहरुले पनि वाम एकताका कारण आफूलाई भोट दिई जिताएको उनले बताए। चुनाव जित्नुमा उनको व्यक्तिगत प्रभावले पनि उत्तिकै काम गरेको थियो। विगत ४२ वर्षदेखि निरन्तर कम्युनिस्ट आन्दोलनमा होम्मिएका उनी पार्टीको जिल्ला सदस्य, क्षेत्रीय अध्यक्षसमेत भए। पढेलेखेका बुद्धिजीबी उनी असल, इमान्दार र सामाजिक काममा पनि निरन्तर अग्रसर रहेकाले जनताले उनलाई पत्याए र जिताए पनि।

चुनावी अभियानमा उनले थुप्रै सपनाहरु बाँडेका छन्। उनको चुनावी क्षेत्रमा रहेका दलित, मुक्त कमैया र खरको छानो भएका १० हजार घरमा टीनको छानो लागाइदिने आश्वासन दिएका छन् उनले। किसानका नाममा जग्गा हस्तान्तरण गर्ने, वर्षातका बेला दुःख दिने राप्ती नदीबाट नहर निकाल्ने, त्यसका छेउँमा सहरको निर्माण गर्ने र बगैँचा बनाएर राप्तीलाई वरदानको रुपमा बनाउने उनका सपना छन्।

कसैले आफूलाई सपनाहरु बाँड्दै हिँड्ने भनि आरोप लगाए पनि उनलाई फरक पर्दैन। उनलाई महत्वाकांक्षी र वाहियात भनेपनि आफूले गरेर देखाउने उनमा तिव्र इच्छाशक्ति छ। उनले भने, ‘काम गर्न पैसा होइन, भिजन चाहिन्छ।’
सपनाहरु कार्यान्वयन गर्न आफूलाई कुनै चुनौती नभएको बताउने मेटमणिले काम पूरा गर्नका लागि आफूसँग प्लान, भिजन र संयोजन गर्ने पावर रहेको बताए। आफूले दिएको आश्वासन पूरा गर्न सुरुको चरणमा १ हजार घरमा एकैदिन टिनको छानो लगाउने र त्यसपछि बाँकी घरहरुमा संसद विकास कोषको पैसा लगानी गर्ने बताए।

आफ्नो क्षेत्रमा सुत्केरी भत्ता पनि वृद्धि गर्ने उनको योजना छ। सुत्केरीलाई दिइने रु १० हजारबाट बढाएर १५ हजार पुर्‍याउने उनको योजना छ। सुत्केरी राहत कोषको स्थापना गर्ने त्यसका लागि विभिन्न एनजिओ, आइएनजिओ, महिला तथा बालबालिकाका क्षेत्रमा काम गर्नेहरुसँग संयोजन गर्ने उनको योजना छ।

थारुहरुले थरुहट वा थारुवानको मुद्दा उठाउनुले समाजमा द्वन्द्व फैलाउने उनको धारणा छ। ती मुद्दा थारुको नभएर अरुले ती मुद्दा थारुमार्फत उठाउन लगाएको र त्यस्ता गलत माग राखेर मुलुकले निकास नपाउने उनले बताए। थारुहरु समस्याको गोलचक्करमा फस्न नहुने बरु समृद्धि र विकासतर्फ बढ्नुपर्ने उनको आग्रह थियो। मुलुक समृद्धिको बाटोमा नयाँ युवा पुस्ता राजनीतिमा आउनुपर्ने उनले बताए।

थारु सोझो र इमान्दार जाति भएकाले राजनीतिक क्षेत्रमा जान डराउने गर्छन्। तर मेटमणिले आफूले त्यो जोखिम मोलेर राजनीतिमा लागेको बताए। उनी थारुहरुको भूगोलको कुरा छाडेर थारुहरु समृद्ध भएको हेर्न चाहन्छन्। सानैदेखि राजनीतिमा छिरेका मेटमणि अबको १५ वर्षपछि आफू देशको प्रधानमन्त्री या त राष्ट्रपति हुने दाबी गरे। उनले भने, ‘ममा त्यो क्षमता छ।’
(विसं २०७४ मा फूलरिया म्यागजिनमा प्रकाशित)




One thought on “यो देशको प्रधानमन्त्री बन्ने लक्ष्य राखेका मेटमणि चौधरी को हुन्?

  1. बाबु अर्को जुनिमा । सम्झिने पानी छर्किने

Leave a Reply to sunil kumar chaudhary Cancel reply

Your email address will not be published. Required fields are marked *