सुदूरपश्चिम प्रदेशमा माघीको दुई दिन र अटवारीमा कैलाली र कञ्चनपुरमा सार्वजनिक विदा

सुदूरपश्चिम प्रदेश सरकारले २०७९ सालको सार्वजनिक विदाको सूचना प्रकाशित गरेको छ। २०७८ चैत २२ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सार्वजनिक विदासम्बन्धी सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरेको हो।
राजपत्रमा प्रकाशन गरिएको सूचनाअनुसार तीन पर्वमा प्रदेशका सबै जिल्ला र अन्य तीन पर्वमा केही जिल्लामा गरी ६ दिन सार्वजनिक विदा हुने छ। प्रदेश सरकारले यसवर्ष भदौ १ गते ओल्के पर्वमा पनि विदा दिने निर्णय गरेको छ। विगतका वर्षमा ओल्के पर्वको विदा नदिइएको भन्दै प्रदेशवासीले विरोध गरेका थिए।
त्यस्तै भदौ १७ गते गौरा पर्वको अवसरमा विदा दिने निर्णय प्रदेश सरकारले गरेको छ। १८ गते भने संघीय सरकारले नै गौरा पर्वको अवसरमा विदा दिएको छ। माघ १ गते संघीय सरकारले विदा दिएकोमा माघ २ गते माघीको थप एक दिन सार्वजनिक विदा दिने निर्णय भएको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रकाशन गरेको प्रदेश राजपत्रमा उल्लेख छ।
त्यस्तै भदौ १९ गते कैलाली र कञ्चनपुरमा अटवारी पर्वको अवसरमा विदा दिइएको छ भने पुस ८ गते भुवा पर्वको अवसरमा बझाङ, अछाम, बाजुरा र डोटी तथा चैत १ गते कैलाली र कञ्चनपुरमा खखडेहरा पर्वको अवसरमा विदा दिने प्रदेश सरकारले निर्णय गरेको छ।
Facebook Comment