किन लेखे रेशम चौधरीले देवीसरा बादीको बायोग्राफी ?

कृष्णराज सर्वहारी

कारागारमा रहँदा कतिपयले पुस्तक लेखेर सिर्जनशील कर्ममा दिनचर्या बिताउने गरेका छन् । लेखनको हिसाबले वीपी कोइरालाले कारागार बसाइँलाई निकै फलदायी बनाए । कालजयी उनका प्रायः उपन्यास जेल बसाइँमै लेखिए । टीकापुर घटनामा मुछिएको आरोप लागेका टीकापुर क्षेत्रका सांसद रेशम चौधरी अहिले डिल्लीबजार कारागारमा छन्, जसले कारागारबाटै एकपछि अर्को पुस्तक लेखिरहेका छन् ।

कारागारबाटै करिब ५ महिना पहिले खोलिएको रेशमको नागरिक उन्मुक्ति पार्टीले कैलालीको चार पालिकामा विजयीको झण्डा गाडेर अहिले निकै चर्चामा छ । कैलालीमै यो पार्टी पहिलो भएको छ । अब यसबारे पनि पुस्तक लेख्ने सोच बनाउलान् शायद रेशमले । यस आलेखमा भनेको उनको पछिल्लो पुस्तक ‘देवीसरा’ (२०७८) बारे चर्चा गरिएको छ ।

‘चिरफार’देखि लिएर ‘हिड्डेन स्टोरी फ्रम प्रिजन’लगायत ९ वटा पुस्तक रेशमले जेल बसाइँमै लेखिसकेका छन् । जेल बसाइँ लम्बिदै गए उनका कृति थपिदै जाने देखिन्छ । अपवादको रुपमा कविताबाहेक उनका प्रायः पुस्तक आफ्नै जीवनभोगाइ, अटोबायोग्राफीकै रुपमा रहेका छन् । ‘देवीसरा’ भने दलितको पनि दलित वादी समुदायकी एक संघर्षशील युवतीको बायोग्राफी हो । जम्मा ६ अध्यायको २२ शीर्षकमा विभाजित पुस्तकमा शिक्षाका लागि ‘देवीसरा’को संघर्षसँगै उनको बसाइँ रहेको सुर्खेतको झुप्राखोलाको दारुण कथा समेटिएको छ ।

लेखकले आफ्नो ज्वाइँ कुशल घले मार्फत् सामाजिक अभियन्ता राजु सुन्दासलाई जेलमा भेट्छन् । उही राजुले देवीसरा वादीलाई रेशमसँग भेटाउँछन् । ‘मेरो बारेमा पुस्तक लेखिदिनुस् न’ भन्ने देवीसराको ख्याल ख्यालको आग्रहले यो पुस्तक जन्मिने मौका पायो । यसमा एक्लो देवीसराको मात्रै कथा छैन, उनका बाबा लालु र आमा मैसराको विस्तृत जीवन भोगाइ पनि पस्किएको छ । दसौं पटक बेचिएकी, पछि घरबार गरेकी देवीसराकी दिदी कविताको हृदयविदारक कथा छ । कवितासँग अन्य उनका सहेलीहरुको मन छुने कथा छ । दारुमा मस्त वादी पुरुषहरुको कथा छ । देवीसरा जस्ता पचासौं बालबालिकालाई पढाउन आफ्ना शिक्षक सहकर्मी, पूजारी, गाउँलेहरुसँग लड्ने रामबहादुर बिसी हेडसरको कथा छ । यसले पाठकलाई पटक पटक झुप्राखोलाको बस्तीमा पुर्याउँछ । त्यसैले, पुस्तक निकै जीवन्त लाग्छ ।

पुस्तकमा केही कुरा भने खट्किन्छ । ‘पहिलो भेटमा मैले उसलाई नियाल्दा उ कुनै कोणबाट पनि बादीको छोरी लागेन ।’ (पृ.२७) लेखकको यो टिप्पणीले के बादी महिलाको निधारमै उ बादीजस्तै देखिनुपर्ने लेखिएको हुनुपर्ने हो र ? भन्ने प्रश्न उब्जाउँछ ।

देवीसरालाई सानोमा उसका बा आमाले कोद्या भन्ने रहेछन् । कोदोको रोटीझैं कालो अनुहार भएकाले उसलाई त्यो नामले बोलाउने गरिएको रहेछ । स्थानीय बाहुन बाजेलाई उनको न्वारन गर्न बोलाइन्छ । उनैले नाम जुराइदिन्छन्, देवीसरा । दक्षिणा के टक्र्याउँ भनी सोधनी हुँदा बाहुन बाजेले यी नानीसँग एकपल्ट सुत्न पाए दक्षिणा पाए सरह हुन्थ्यो भन्ने माग राख्छन् । माग पुरा नहुने कुरै थिएन । देवीसराकी सानीआमासँग बाहुन बाजे रसरंग गर्छन् र न्वारनको दक्षिणा असुल उपर भएको गर्विलो मुहार बनाएर विदा हुन्छन् । तर देवीसरा भाग्यमानी हुन्, जसले यौनधन्दा गर्नु परेन ।

कुनै बेला देवीसराकै बाबाले पनि श्रीमतीका लागि ग्राहक खोजेर समेत ल्याउने गर्थे (पृ. ७४) । आफ्नो जातको दाइभाइ, मामा भिनाजुहरुले गरेको विगत सम्झिदा अहिले पनि उनलाई सबै बादी पुरुषलाई भेरी खोलाले बगाएर लगिदिए हुन्थ्यो जस्तो लाग्छ । छिमेकको गाउँका अगुवाजस्तै रहेका देवीसराका बाबा लालुको पछि बुद्धि फिर्यो । देवीसरालाई मात्रै होइन, वादी केटाकेटीको हुल बाँधेर स्कुल भर्ना गराए । स्कुल भर्ना गराउन कम्ता सकस गर्नु परेन । सारा शिक्षक नपढाउने मुडमा थिए । तर हेडसर रामबहादुर बिसी सतिसालझैं बादी केटाकेटीको शिक्षाका लागि एक्लै ठिंग उभिए ।

देवीसराहरु ७ बहिनी छोरी हुन् । लेखकले बीच बीचमा कविताका पंक्तिमा पनि उनीबारे परिचय दिएका छन् ।
सात वटीका बीचमा काँइली बनेर जन्मी
काली भए पनि कल्चौडी भएर जन्मी
बादीको कुलमा उ आँखाको नानी भएर जन्मी
शरीर सुम्पिनु नपर्ने भाग्यमानी भएर जन्मी (पृ.५३)

साँच्ची भन्दा देवीसरा आफ्नो समाजको आँखाको नानी भएर जन्मिएकी छिन् । झुप्रा खोला नजिकको गाउँको स्कूलबाट काठमाडौं पढ्न आएपछि उनको जिन्दगीको लय नै बदलियो । त्यो लय बदल्नमा राजु सुन्दास र उनका विदेशी मित्र हक्यानको ठूलो हात छ । तर काठमाडौं पढाउन लगेपछि देवीसराको नाम राजु सरले ‘हन्नाह’ राखी दिएका छन् । देवीसराले हन्नाह नामको अर्थ जान्न खोज्दा ‘ईश्वरको अनुग्रह’ उत्तर पाएकी छिन् (पृ. १६२) । उनले अहिले आफ्नो परिचय दिंदा ‘हन्नाह’ नाम बताउने गरेकी छिन् । यो नामले कता कता राजुको अभियान क्रिश्चियन धर्म प्रचारसँग जोडिएको महसुस हुन्छ ।

देवीसराले आफ्ना समाजका अरु बालबालिकाका लागि पठनपाठनको जोहो गर्नमा तनमन दिएकी छिन् । अहिले बादी समुदायमा कुनै कार्यक्रम भयो भने उनलाई नै पानसमा बत्ती बाल्न बोलाइने गरिएको छ । उनले यसबारे प्रश्न पनि नगरेकी होइनन् । उत्तर पाइन्, ‘तँ चोखी छेस् । तेरो हातबाट बत्ती बाल्दा शुभ हुन्छ भन्छन् ।’ (पृ.५९)

देवीसरा सानैदेखि क्रान्तिकारी थिइन् । स्कुलबाट फर्किदा पसलमा खानेकुरा लिन जाँदा पसलेले फालेर दिन्थे । छुइ लाग्छ, मेरो पसल नछो भन्थे । भुँइमा झरेको समान टिप्नु पर्थ्यो । त्यसपछि देवीसरा र उनका सहेलीहरुले बरु भोकै बस्ने तर फालेर समान दिने पसलेकोमा केही नकिन्ने निर्णय गर्छन् । यही नै उनको जीवनमा पहिलो क्रान्ति थियो । तर क्रान्तिकारी देवीसरा जीवनमा नराम्ररी हारेकी पनि छ । एसईईको जाँच बिग्रिदा विष समेत सेवन गरेकी उनी राजु सरको सम्झाइ बुझाइले जीवनको महत्व बल्ल बुझेकी छन् ।

राजु सरले देवीसरा र उनका साथीहरुलाई जसरी छोराछोरीझैं स्याहारसुसार गरेका छन् । त्यो भन्दा अघि झुप्राखोला गाउँबाट ल्याउन लाग्दाको गाउँलेको वचन उनको मुटुमा गडेको छ । एक अभिभावक किड्या वादीले राजु सरलाई भनेका छन्, ‘छोरी दिल्ली गया घरौंदो दारु खान पाँइदो छ । तुक्ले लग्या क्या दिन्या हौ ? तुमीहरुसँग छोरी पठाएर हामी भेरी खोलामा बालुवा चाल्न्या ? छोरी लग्न्या भयापछि कोठीका दलाल झैँ रुप्या तिर र लैजाऊ । जहरी पन छोरी बेच्नै पड्न्या त हो । तुम्ले लैजाओ कि दलालले लैजाओ, हामीलाई चाहिन्या रुप्या हो । रुप्या पायापछि छोरी जन्ले लग्या न हुन्छ…’(पृ.१३३) ।

मुखमा माड लगाउने उमेरकी अर्थात् कमाइ ख्वाउने बेला भएकी चेलीलाई सहर लगेपछि हाम्रो गृहस्थी कसरी चल्छ ? अभिभावकहरुको सोचाइ छ । तिनका भनाइले मर्माहत भएका राजु सरले उनीहरुकै बोलीमा जवाफ दिएका छन्, ‘रुप्यासँग छोरी कति जुनीसम्म साट्ने हो तपाईंहरु ? छोरी बजारकी बेचिन्या सामान होइनन् भनेर तपाईंहरुले कहिले बुझ्ने ?’ यसरी बादी बोलीको मौलिक भाषा टिप्न सक्नु लेखकको सफलता देखिन्छ । तर पुस्तकको भूमिका, उठान र मध्यभाग जति खँदिलो छ, बैठानमा हतार गरिए जस्तो लाग्छ ।

देवीसराले कसरी आफ्ना समुदायका लागि रकम जोहो गर्दैछिन्, त्यो संघर्षको कुरा अधुरो लाग्छ । जापानमा होटल खोलेको चर्चा छ, त्यसमा उनको संग्लनताको अवस्था के हो ? उनको पढाइको प्रसंग कहाँसम्म पुग्यो ? उनकै समूहमा पढ्ने अन्यहरुको अवस्था के छ ? लगायत चर्चा छैन । बरु लेखक रेशम चौधरीले देवीसराको प्रधानमन्त्रीसम्म बन्ने चाहनामा आफ्नो चाहना पनि मिसाएका छन् । आफू सांसद भएको बखान गरेका छन् । यसले दाँतमा ढुंगा लागेजस्तो महसुस हुन्छ । तर उनले जसरी जेल बसाइँमा पनि एक दलित युवतीलाई पुस्तककै रूप दिई चिनाउने प्रयास गरेका छन्, त्यो भने सराहनीय छ ।

दलितको बायोग्राफी लेख्ने रेशम चौधरीको यो पहिलो प्रयास हो । तर उनले दलितहरुलाई वास्तविक जीवनमा पनि अघि बढाउने सत्प्रयास गरेका छन् । भर्खरै खोलिएको उनको नागरिक उन्मुक्ति पार्टीले टीकापुर नगरपालिकामा उल्कादेवी विश्वकर्मालाई उपमेयर उठाएको थियो । मात्र १५३ मतले उनी पराजय भइन् । भजनी नगरपालिकाबाट दलित महिला राजु तिरुवा उनकै पार्टीबाट उपमेयर चुनिएकी छिन् । देवीसराको प्रधानमन्त्री बन्ने सपना उनका यस्तै विरादरीका धेरै महिला जनप्रतिनिधि चुनिएर अघि बढाउने छन् । र, देशलाई छुवाछुतमुक्त बनाउने छन् । अनि संसारलाई एकदिन सुन्दर बनाउने छन् । आज परेको जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवसले यही उत्प्रेरणा देओस् ।




Leave a Reply

Your email address will not be published.