टीकापुरमा रेशम चौधरीको पार्टी विजयी, रामलाल डंगौरा थारु मेयरमा निर्वाचित

कैलालीको टीकापुर नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ति पार्टीले जितेको छ। हालै दर्ता भएको रेशम चौधरीले अगुवाइ गरेको पार्टीले स्थानीय तह चुनावमा जीत हासिल गरेको हो।

नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रामलाल डंगौरा थारुले भारी मतान्तरका साथै मेयरमा विजयी हासिल गरेका छन्। थारुले सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसबाट मेयरका लागि उम्मेदवारी दिएका नवराज रावललाई ३ हजार बढी मतले हराउँदै विजय भएका हुन्। नवनिर्वाचित थारु टीकापुर-७ का निवर्तमान वडाध्यक्ष समेत हुन्।

उपमेयरमा भने गठबन्धनबाट माओवादी केन्द्रबाट उम्मेदवारी दिएका खडक शाहले विजय हासिल गरेका छन्। शाह नागरिक उन्मुक्तिबाट उम्मेदवारी दिएकी उल्का देवी विश्वकर्मालाई हराउँदै विजयी गरेका हुन्। उन्मुक्ति पार्टीले टीकापुरमा मेयरसहित वडा नम्बर ४ र ५ मा वडाध्यक्ष जितेको छ।

नवनिर्वाचित मेयर थारुले शान्ति, समृद्धि, सुशासनको ३ खम्बे नीतिका साथ काम गर्ने जनाएका छन्। नगरवासीले दिएको अमूल्य मतलाई शिरोधार्य गर्दै सबैलाई मिलाएर लैजाने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

उनले भने, ‘राजनीतिक र विकासको दृष्टिकोणले टीकापुरलाई राज्यले उपेक्षा गर्दै आएको महसूस हामीले गरेका छौं। हामीले यहाँ शान्ति तथा न्याय र विकास चाहेका छौं। त्यसैले कसैलाई प्रतिपक्ष बन्न दिने छैन। सबैलाई मिलाएर अगाडि बढ्नलाई नगरवासीले मत दिएका छन्।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *