घोराही उपमहानगरपालिकामा पुनः नरुलाल चौधरी निर्वाचित

दाङको घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएको छ। मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमा डिसी विजयी भएका हुन्। गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार हेमराज शर्मालाई पाँच हजार ३६० मतान्तरले पराजित गर्दै मेयरमा चौधरी पुनर्निर्वाचित भएका हुन्। चौधरीले ३१ हजार ७२८ मत र शर्माले २६ हजार ३६८ मत प्राप्त गरेका छन्।

त्यसैगरी उपमेयरमा एमालेकी डिसीले गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार भुपबहादुर डाँगीलाई ४९ मतान्तरले पराजित गरेकी छिन्। डिसीले ३० हजार ४०३ मत र डाँगीले ३० हजार ३५४ मत प्राप्त गरेका छन्।

यसैगरी उपमहानगरको १९ वटा वडामध्ये एमाले १३ वटा वडामा विजयी भएको छ। यसअघि एमालले १० वटा वडामा मात्र विजयी भएको थियो। अहिले एमालेले वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ११, १२, १३, १७ र १८ मा विजयी हासिल गरेको छ।

को हुन् नरुलाल?

१२ वर्षकै उमेरमा अनेरास्ववियूबाट विद्यार्थी राजनीति शुरु गरेका चौधरी २०२४ वैशाख ३ हालको घोराही -२ मा जन्मिएका हुन्। उनी विलराम र मन्धरी चौधरीका कान्छा छोरा हुन्।

उनी नेकपा एमालेको वडा, गाउँ, क्षेत्रका विभिन्न पदहरुमा रहेर काम गर्दै दाङ जिल्ला अध्यक्ष समेत भएका थिए। २०६९ सालमा एमाले दाङको अध्यक्षमा निर्वाचित भएका थिए।

सामान्य किसान परिवारमा हुर्केका चौधरी अहिले एमालेको पोलिटब्युरो सदस्य तथा दाङ जिल्ला इन्चार्ज हुन्। व्यवस्थान र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका चौधरी राजनीतिक र व्यवस्थानमा अब्बल र चत्तुर नेताका रुपमा चिनिन्छन्।

कम बोल्ने, सरल स्वाभाव, मिजासिला, बौद्धिक र मिहिनती नेताको रुपमा चौधरीको परिचय बनेको छ। उनी सफल व्यवसायी समेत हुन्। चौधरीले राजनीति सँगसँगै माहुरी र कुखुरापालन समेत गर्दै आएका छन्। उनले कुखुरा पालक किसानहरुको संगठनको अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन्। कुखुरा पालन गर्नु अगाडि तरकारी खेती गर्दै आएका थिए।

रेडियो नेपाल सुर्खेतमा काम गर्दागर्दै पार्टीले २०५४ सालमा स्थानीय निकायको चुनावमा गाविसको अध्यक्षको टिकट दिएपछि उनले रेडियो जागिरबाट राजीनामा दिएर चुनाव लड्न दाङ फर्केका थिए। चुनावमा उनी तत्कालीन रामपुर गाविसको अध्यक्षमा सर्वाधिक मतले निर्वाचित भएका थिए।

चौधरी २०७४ को स्थानीय तहको निर्वाचनमा घोराही उपमहानगरपालिकाको मेयरमा सर्वाधिक मतले विजयी भएका थिए।

सक्रिय राजनीतिमा आउन अगाडि उनले रेडियो नेपाल सुर्खेतमा थारू भाषाको सामाचार वाचकको रुपमा काम गरेका थिए। यसैगरी दुई वर्षसम्म आफने घर नजिकै रहेको जनता मावि बुकामा शिक्षकको रुपमा समेत काम गरेका गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *