डिज्नी पार्क रिसोर्टदेखि क्यानेइङ निर्माण गर्ने शान्तिकुमारी चौधरी योजना

कारी महतो
चितवन : खैरहनी नगरपालिका वडा नं. ८ मा रहेको बाबा ग्याँस प्लान्टको पछाडिबाट बग्ने कुलोमा बग्ने पानीले हरेक वर्षको वर्षायाममा पर्सा बजारलाई नै डुबानमा पार्ने गरेको छ। वर्षभरि पानी बग्ने त्यस कुलोमा क्यानेइङ परियोजना आउने भएको छ।

वैशाख ३० गतेको चुनावमा वडाध्यक्ष पदमा शान्ति कुमारी चौधरीले जितेमा डिज्नी पार्क रिसोर्टदेखि बाबा ग्याँस पछाडिसम्म क्यानेइङ निर्माण गर्ने योजना ल्याएकी छन्। चौधरीले एमालेको तर्फबाट खैरहनी नगरपालिकाको वडा नं. ८ को वडाध्यक्ष पदमा उम्मेदवारी दिएकी छन्। यसअघि २०७४ सालको स्थानीय निर्वाचनमा वडा सदस्यमा जितेर कार्यपालिका सदस्य पदमा चुनिएकी थिइन्।

चौधरीले खैरहनीको मुख्य बजार रहेको पर्सा बजारको चौबिसकोठी र मगनी चोकमा आकाशे पुल निर्माण गर्ने समेत योजना लिएकी छन्। आन्तरिक तथा बाह्य पर्यटकसँग वडालाई जोड्न विभिन्न जातजातिको सँस्कृति झल्किने संग्रहालय निर्माण गरी दिर्घकालीनरूपमा सञ्चालनसमेत गर्ने योजना रहेको जनाइएको छ।

हामी बनाउँछौं हाम्रो वार्ड भन्ने नाराकासाथ चौधरीले मगनी आधारभूत विद्यालयको स्तरोन्नति, खैलमैदानको व्यवस्थापन, विपन्न दलित जनजाति महिलाको सीप विकास, आधुनिक तवरले बजार व्यवस्थापन, गरिबी निवारण कोष स्थापनाजस्ता कार्यक्रम अगाडि बढाउनेजस्ता विषयहरू प्रतिवद्धता पत्रमार्फत् विभिन्न २१ वटा उद्देश्य लिएकी छन्।

सोही वडामा एमालेबाट २०७४ मा वडाअध्यक्षमा जितेका टेकबहादुर थापाले यसपाली एमालेबाट टिकट नपाएपछि एमालेको वागीको रूपमा स्वतन्त्रबाट वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। उनले उल्लेख्य मत काट्ने आँकलन गरिएको छ।

सोही पदमा नेपाली कांग्रेसबाट शंखर कँडेलले उम्मेदवारी दिएका छन्। उनलाई निकै बलिया उम्मेदवारको रूपमा हेरिएको छ। नेकपा माओवादीबाट रामशरण कार्की ‘जमिन’, समाजवादीबाट प्रेमबहादुर थापा, राप्रपाबाट सुरज पुन र स्वतन्त्रबाट लेखबहादुर पुनले समेत उक्त वडाको वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *