७३ प्रतिशत थारु रहेको बारबर्दियाका अब्बल उम्मेदवार सुदीन चौधरी

बर्दियाको बारबर्दिया नगरपालिकालाई निवर्तमान मेयर दुर्गाबहादुर चौधरीले नमुना पालिकाको रुपमा अगाडि बढाए। थारु बाहुल्य क्षेत्र भएको पालिकामा थारु भाषा, कला र सँस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि अग्रपंक्तिमा रहेर काम गरे।

आसन्न स्थानीय निर्वाचनमा दशरथ अगलपथ थारु अर्थात् सुदीनले बाँकी रहेको कामलाई पूरा गर्न र आफ्नो नयाँ भिजनसहितको पालिका निर्माण गर्न प्रमुद पदमा उम्मेदवारी दिएका छन्। माओवादी केन्द्रबाटै उम्मेदवारी दिएका उनले प्रतिवद्धता पत्रसमेत सार्वजनिक गरेका छन्।

मातृभाषामा प्रारम्भिक शिक्षा दिने, सुविधायुक्त खेल सामग्री भएको बाल उद्यान बनाउने, शिक्षाबाट कसैलाई पनि वञ्चित नगराउने, मन्टेश्वरी विधिबाट पनि शिक्षा प्रदान गर्ने नीति लिएका छन्।

त्यस्तै सहजरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने, प्रत्येक वडामा बर्थिङ सेन्टर स्थापना गगर्ने, खोप केन्द्रहरु बनाउने, स्वच्छ पानीको व्यवस्था गर्ने प्रतिवद्धता पत्रमा उल्लेख छ।

त्यस्तै कृषि क्षेत्रतर्फ सर्वसुलभ तरिकाले बीउ विजनको व्यवस्था गर्ने, कृषिमा आधुनिकीकरणको प्रयोग गर्ने, माटो परीक्षण गर्ने, सिँचाइको व्यवस्था गर्ने र बेमौसमी तारीका खेतीका लागि किसानहरुलाई प्रोत्साहन गर्ने उनको प्रमुख लक्ष्य छ।

को हुन् सुदीन

‘मलिक्वाका छोराले किन हेप्छ मलाई? किन ती राजा जस्तो, किन हामी दास जस्तो हुनु परेको होला ?’ उनले एकदिन आफ्ना बुबासँग सोधेका थिए ।

‘यस्तै चलन छ, यही कुरा मलिक्वाले सुन्यो भने आफैँ आएर फेरि कुट्न सक्छ । चुप लाग्नु राम्रो,’ बुबाले यसो भनिरहँदा मालिकका छोराले कुटेर दुखेको पाताभन्दा ज्यादा उनको मन दुखेको थियो । दशरथ थारूले अघिल्लो दिन विद्यालयबाट फर्कदा मालिकका छोराको अनाहक कुटाइ खाएका थिए । यसरी कुटाइ खानु परेको त्यो पहिलो वा अन्तिम घटना थिएन उनका लागि । त्यसरी कुटिने, लखेटिनेमा उनी नै पहिलो पात्र थिएनन् । उनको समुदायका धेरैले त्यसरी नै मालिक वर्गको ज्यादती सहनु पर्थ्यो ।

उनका बुबाआमा लगायत सबै थारूहरू बिहान सबेरैदेखि साँझ अबेरसम्म पनि मालिककै घरमा, खेतमा काम गरिरहेका हुन्थे । तर चुला बाल्ने बेला आमाहरूको मुख अँध्यारो हुन्थ्यो । उनीहरू त केटाकेटी थिए । गाउँमा दिनहुँजसो कोही न कोही थारू अभिभावकहरूले पनि मलिक्वाबाट कुटाइ खानु पर्ने । गाली, बेइज्जतीको त कुनै हिसाब थिएन । आखिर किन यस्तो अन्याय ? उनको कलिलो मनमा आगो बल्थ्यो । बिस्तारै थाहा पाए, यस्तो विद्रोहको आगो उनको जस्तो अरू धेरैको मनमा बलेको हुँदो रहेछ । यसरी दशरथ अगलपथ थारू ‘सुदिन’ विद्रोही बने, जनयुद्धमा सामेल भए ।

उनको परिवार पहिले नै कम्युनिष्ट आन्दोलनसँग जोडिइसकेको थियो । जनयुद्ध सुरु भएपछि दाजुहरू संलग्न भए । पुलिस प्रशासनले घरमा पटकपटक छापा मार्ने, दुःख दिने हुन थाल्यो । उनका अन्य आठ जना दाजुभाइको घरमा बास हुन छोड्यो । करीब डेढ वर्ष प्रहरीकै डरले उनले पनि अरूकै घरमा बसेर पढे । त्यो बेला उनी कक्षा ६ मा पढ्थे ।

उनी विद्यालयबाट फर्कने बाटोमा आमा कुरेर बस्थिन् । दरशथ आएपछि नजिकै कसैको घरमा भात मागेर उनलाई खुवाउँथिन्, छोरालाई त्यतैकतै सुरक्षित आश्रयमा राखेर उनी घर फर्कन्थिन् । उसो त आन्दोलन नभएकै भएपनि उनको घरमा कहाँ सधैँ खाना पाक्थ्यो र ! धेरैपटक उनीहरूभोको पेट विद्यालय जान्थे ।

पकाउनका लागि पिठो वा चामल नहुँदा अभावले छटपटिएको आमाको अमिलो अनुहार हेर्दै बुबा साहुकहाँ काम गर्न जान्थे । हुन पनि १२ जनाको परिवार पाल्न सजिलो थिएन ।आफूलाई धर्तिका सन्तान भन्न रुचाउने आदिवासी थारू समुदाय यसरी लामो समय समाजको पिँधमा पिसिएर बस्न बाध्य थिए ।

हुर्कदै जाँदा बुझ्न थाले मालिक र तिनको छोराहरूले हेप्नुको कारण । समाजमा भएको विभेदविरुद्ध विद्रोह जरुरी रहेछ, १५ वर्षको उमेर हुँदासम्म उनले थोरै भएपनि बोध गरे । उनी २०५७ सालमा जनकलाकारको रूपमा जनयुद्धमा हिडे र भूमिगत भए।

उनको थारू समुदाय निकै पिछडिएको थियो । त्यो समुदायलाई प्रेरित गर्ने, आन्दोलनमा सहभागी गराउने कुरा निकै कठिन थियो । जनयुद्धको आवश्यकता बोध गराउन उनीहरूले निकै मिहिनेत गरे । घरघर, बस्ती–बस्ती पसे । क्रमशः समुदायका मानिस आन्दोलनमा सहभागी हुन थाले । त्यो सङ्ख्या बाक्लिदै जाँदा प्रशासनले समुदायमाथि नै आक्रमण गर्न थाल्यो ।
राज्यले खासगरी थारू नेतृत्वमाथि गिरफ्तार, दमन, यातना, हत्या र बेपत्ता पार्न थाल्यो । राज्यको नजरमा थारू भनेपछि जो–कोही पनि विद्रोही हुन थाल्यो । राज्यको त्यस्तो प्रतिगामी दृष्टिकोण र व्यवहारले समुदायका मानिसलाई आन्दोलनप्रति थप प्रतिबद्ध र सचेत बनायो ।

खेतमा काम गरिरहेका किसान, जङ्गलमा घाँस काटिरहेका महिला, विद्यालयगइरहेका शिक्षक वा विद्यार्थी जो–कोही पनि राज्यको आँखामा माओवादी विद्रोही हुन्थे । दमन बढ्दै जाँदा प्रतिरोधस्वरुप थारूहरू विद्रोही बन्न थाले । राज्यको दमन बढ्दो थियो । ०५८ पुष ५ गते उनको छैठौं नम्बरका दाजु र भाउजूलाई सेनाले बेपत्ता बनायो, जो आजसम्म फर्किएका छैनन् ।

जनयुद्ध सम्पन्न भएपछि उनी पार्टीको संगठक बने । जिल्लाको ढड्वार गाविसको इन्चार्ज हुँदै २०६६ सालदेखि हालसम्म बारबर्दिया नगरपालिकाको पार्टी अध्यक्ष छन् । उनी जनसांस्कृतिक महासंघको केन्द्रीय उपाध्यक्ष पनि हुन् । आसन्न स्थानीय निर्वाचनमा उनी बारबर्दिया नगरपालिकाको प्रमुखको उम्मेदवारका रुपमा जनतासामू जाँदै छन् ।

यसभन्दा अगाडिको पाँच वर्षे कार्यकालमा थारू समुदायकै मेयर दुर्गाबहादुर थारू ‘कबिर’ले नगरको एक तहको समृद्धिको जग बसालिसकेका छन् । स्वास्थ्य, भौतिक पूर्वाधार, शिक्षा, सामाजिक विकासको क्षेत्रमा धेरै खाका तयार भइसकेको छ ।

अशिक्षाकै कारण सिङ्गो समुदाय आजसम्म पछि परेको ठहर गरी कबिरले नगरको १० वर्षे शैक्षिक दीर्घ योजना बनाएका छन् । यहाँ अनिवार्य आधारभूत शिक्षा सुनिश्चितता भएको नगर घोषणा भइसकेको छ । प्राविधिक शिक्षाको अध्यापन थालिएको नगरभित्रै थालिएको छ ।

शिक्षामा निकै पिछडिएको थारू समुदायको सघन बसोबास भएको यस क्षेत्रमा उनी शिक्षाकक्षा १२सम्म निःशुल्क गर्ने नीति ल्याउने तयारीमा छन् । अघिल्लो कार्यकालमा ल्याइएको शैक्षिक नीति कार्यान्वयन गरी यहाँको शिक्षालाई एउटा उचाइमा पुर्‍याउन दशरथ आफू प्रतिबद्ध भएको बताउँछन् । ‘यस अघिका मेयर कबिर साबको नेतृत्वमा जे–जति विकासको जग हालिएको छ, त्यही जगमा टेकेर म बारबर्दियालाई समृद्धिको मार्गमा हिडाउने छु,’ उनी भन्छन् ।




Leave a Reply

Your email address will not be published.