थारु कलाकारहरुमा फाटो, नरेश जोगी नेतृत्वमा राष्ट्रिय थारु कलाकार प्रतिष्ठान गठन

गायक नरेश जोगगीको नेतृत्वमा राष्ट्रिय थारु कलाकार प्रतिष्ठान गठन गरिएको छ। शनिबार राजधानीमा बसेको बैठकले १३ सदस्यीय तदर्थ कमिटी गठन गरेको छ। नरेश जोगी अध्यक्ष रहेको कमिटीमा उपाध्यक्षमा चन्द्र चौधरी, महासचिवमा विजय चौधरी, सचिविमा आरके थारु, कोषाध्यक्षमा अन्नु चौधरी र सहकोषाध्यक्षमा गणेश चौधरी रहेका छन्।

त्यस्तै सदस्यहरुमा आरसी चौधरी, अनुमा चौधरी, लक्ष्मी राणा, रजनिश चौधरी, विवेक चौधरी र सोनु कुश्मी रहेका छन्। बैठकले सल्लाहकार समेत चयन गरेको छ। जसको कानुनी सल्लाहकारमा राजेन्द्र शर्मा, अभिनेता प्रदीपकुमार चौधरी, निर्माता लोकेन्द्रराज चौधरी, संगीतकार विकास चौधरी र सुशीला चौधरी रहेका छन्। कमिटीले संस्था दर्ताको प्रक्रिया सुरु गरेको जानकारी दिएको छ।

नरेश जोगी नेतृत्वमा नयाँ संस्था दर्ता प्रक्रियामा लगेपछि केही कलाकारहरु रुस्ट भएका छन्। राष्ट्रिय थारु कलाकार मञ्चलाई बाइपास गरेर नयाँ कमिटी चयन गरेको भन्दै आपत्ति जनाएका छन्।

गायक केशव राज महतोले फेसबुकमा लेखेका छन्-
पूर्व  मेचीदेखि पश्चिम महाकालीसम्मका सम्पूर्ण कलाकारहरुको भलाइ,हकहित,बिकास अनि प्रवर्द्धन का लागि एउटा छाता संगठन अति आवश्यक छ। तसर्थमात्र १ महिना अगाडि ४ वर्षसम्म निष्क्रिय रहेको राष्ट्रिय थारु कलाकार मञ्चलाई काठमाडौंमा कलाकारितामा सक्रिय र तदर्थ कमिटीको केन्द्रीय सदस्यहरुमाझ पुनः उक्त संगठनलाई नवीकरण गर्ने भनी सामूहिक समर्थन अनुरुप जिल्ला-जिल्लामा राष्ट्रिय थारु कलाकार मञ्चको गठन गरिने प्रकृया अगाडि बढ्यो तर आज एउटै उद्देश्य बोकेका उस्तै दुई संगठन आउनुले तत्काललाई जिल्लाका साथीहरुलाइ गुमराह गर्नुबाहेक केही नतिजा नदिने देखिन्छ।

मैले पटक-पटक असन्तुष्ट दुई पक्षसँग कुरा गर्न कोशिस गरे तर यही दिन देख्नलाई रहेछ हैन त साथी हो? आखिर नयाँ संगठन मै जानु थियो भने त्यतिबेला प्रस्तावमा छलफल हुँदा परामर्श दिने साथीहरु पनि हुनुहुन्थ्यो के तपाईँहरुले भविष्य नकेलाई परामर्श दिनुभएको थियो? एउटा कुरा कदापि नबिर्सिनुस् कलाकार काठमाडौंमा मात्र बस्ने गरेको छैन। यी संगठनहरुले सबैलाइ समेट्न सक्नुपर्छ। यो सांगठनिक अनुरोध हो। कुनै व्यक्ति विशेषसँग मेरो कुराहरु गास्ने पर्यत्न नगर्नुहोला।




Leave a Reply

Your email address will not be published. Required fields are marked *