दुहवी नगरपालिकामा भगवत लाल चौधरीको दावेदारी

आसन्न स्थानीय तह निर्वाचनमा सुनसरीको थारु बाहुल्य क्षेत्र दुहवी नगरपालिकामा भगवत लाल चौधरीले स्वतन्त्रबाट प्रमुखमा दाबेदारी पेश गरेका छन्। भगवत लालको नेतृत्वमा दुहवीको उपप्रमुखदेखि वडासम्मै दाबेदारी पेश गरिएको छ। जसको उपप्रमुखमा गीता देवी चौधरीले उम्मेदवारी दिएका छन्। निर्वाचन आयोगले उनी नेतृत्वको टोलीलाई हाँस चुनाव चिन्ह उपलब्ध गराएको छ।

दुहवी नगरपालिकालाई विकास गर्न भगवत लालले २५ बुँदे घोषणापत्र समेत जारी गरेका छन्। उनको पहिलो प्रतिवद्धता नगरलाई भ्रष्टाचारमुक्त बनाउने रहेको छ। नगरमा रहेका भ्रष्टाचारीहरुको भण्डाफोर गर्ने उनको प्रमुख लक्ष्य रहेको छ।
त्यस्तै शिक्षा क्षेत्रको विकास पनि उनको अर्को लक्ष्य रहेको छ। जसअन्तर्गत उनले एक घर एक स्नातक अवधारणा ल्याउने प्रतिवद्धता जनाएका छन्। स्कुलबाट वञ्चितहरुलाई पनि शिक्षाको पहुँच पुर्‍याउने र सरकारी स्कुललाई नमुना स्कुल बनाउने उनको प्रतिवद्धता रहेको छ।

त्यस्तै शैक्षिक धितो लिएर साना उद्योग तथा सीपमूलक काम गर्न वित्तीय संस्थाहरुलाई प्रोत्साहन गर्ने उनको प्रतिवद्धता पत्रमा उल्लेख छ। त्यस्तै आदिवासी र दलितको भाषा, सँस्कृति र इतिहासलाई पाठ्यक्रममा समावेश गर्ने, स्वास्थ्य सेवाको ग्यारेन्टी गर्ने, रोगबाट बच्न निशुल्क योगा गराइने, स्वास्थ रहन खेलकुदको विकासमा जोड दिने, घरघरमा स्वास्थ्यकर्मीको अवधारणालाई मूर्तरुप दिन एम्बुलेन्ससहितको टोली तयारी अवस्थामा राख्ने, भान्सालाई नै अस्पतालको रुप दिन जनतालाई प्रशिक्षित गर्ने प्रतिवद्धता पत्रमा उल्लेख छ।

त्यस्तै एक घर एक रोजगारीको व्यवस्था गर्ने, स्थानीय कलकारखानामा स्थानीबासीलाई नै रोजगारमा ग्यारेन्टी गर्ने, त्यस्ता उद्योगहरुलाई ४० प्रतिशतसम्म लगानीको सुनिश्चितता गर्ने प्रतिवद्धता पत्रमा उल्लेख छ। त्यस्तै छोरी जन्माउने आमालाई मासिक ३ हजार भत्ता प्रदान गर्ने, ६० वर्ष कटेका एकल महिलालाई पनि ३ हजार रुपैँया भत्ता प्रदान गर्ने र वृद्ध भत्ता घरमै लगेर दिने व्यवस्था गर्ने उनको प्रतिवद्धता पत्रमा उल्लेख छ।

त्यस्तै नगरबासीलाई सुविधा सम्पन्न बनाउन फेसबुकजस्तै एप सार्वजनिक गर्ने, मालपोत शुल्कमा ५० प्रतिशत मिनाहा गर्ने, एक सय युनिटसम्म विजुली मिनाहा गर्ने, खानेपानी निशुल्क गर्ने, नगरलाई वातावरणमैत्री बनाउन सबै संकेतहरुलाई कडाइका साथ पालना गर्ने, कृषिजन्य उत्पादनका लागि प्रोत्साहित गर्ने, जग्गालाई बाँझो राख्नेलाई कारबाही गर्ने, नगरलाई स्मार्ट सिटी बनाउने अवधारणा उनले लिएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *