लहान नगर बनाउने चन्दन चौधरीको सपना

चन्दन चौधरी सिरहाको लहान नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। आफ्नो गाउँ आफैँ बनाउ अभियान सञ्चाल गरिरहेका उनले राजनीति, श्रोत र साधनमा युवाको नियन्त्रण र सफा, शिक्षित, स्वास्थ्य, स्वरोजगार तथा महिलामैत्री नगरको निर्माण गर्न उनी अग्रस भएका छन्।

निर्वाचन आयोगले चन्दनलाई लठ्ठी चुनाव चिन्ह प्रदान गरेको छ। सोही चुनाव चिन्हबाट उनी घरदैलो अभियानमा चलाइरहेका छन्। लहान नगरपालिकामा वर्षेनि दुई अर्ब बढी बजेट बिनियोजन हुन्छ। जारी आर्थिक वर्षमा पनि दुई अर्ब ३२ करोड बजेट बिनियोजन भएको छ। तर उक्त रकम कहाँ कसरी खर्च गरिँदैछ, लहान नगरबासी अनभिज्ञ छन्। घरदैलो अभियानमार्फत् चन्दनले सो रकम खोजिरहेका छन्। गाउँबासीहरुलाई सम्झाइ बुझाइरहेका छन्।

उनले आफू २९औं बसन्त पार गरिरहँदासमेत लहानमा विकासको मूल फुटेको अझैसम्म देख्न नपाएको बताउँछन्। धेरै वर्ष विते, धेरै नेता आए, गए। तर विकासको मूल कहाँनेर अड्कियो? चन्दन यस्तै प्रश्न गर्दै घरदैलो अभियान गरिरहेका छन्। उनलाई लाग्छ, लहानका ३५ प्रतिशत युवाहरुले उनको मर्मलाई बुझ्छन्। उनलाई स्वतन्त्र उम्मेदवारमा विजयी गराउँछन्।

गाउँघरको चुनावी माहोलले उनलाई उदेक पनि लाग्छ। सोझा साझा सर्वसाधारणलाई भोज भतेरको लालच देखाएर नेताहरुले भड्किलो प्रचार गरिरहेका छन्। चुनाव जितिसकेपछि फर्केरसमेत नहेर्ने आम सर्वसाधारणलाई उनको एउटै सुझव छ, ‘अब त परिवर्तन सोच। गाउँ समाजको विकास निम्ति आफ्नो अमूल्य मत कसलाई दिँदैछु भनेर विचार गर।’

‘मेरो उम्मेदवारी कसैलाई हराउनुभन्दा लहानलाई जिताउन केन्द्रीत रहने छ। अहिलेसम्म धेरै हेरें, धेरै देखंं र लामो समयको मननपश्चात म आफैँ यो निर्णयमा पुगेको छु,’ उनी अपील गर्छन, ‘अहिलेसम्म हामीले धेरै पार्टीहरुलाई हेर्यौंन। यो पटक हामी हाम्रो नगरलाई जिताउँ।’

उनले घोषणापत्रमै लेखेका छन्- जनताभन्दा माथि मेयर पद कहिल्यै हुनै सक्दैन र हुनु पनि हुँदैन। अहिलेसम्म तपाइँ हामीले जिताएर पठाएका प्रतिनिधिहरु हामी नगरबासीप्रति बफादार छन्? छैनन् भने उनीहरुको भाषणमा हामीले कहिलेसम्म थप्पडी बजाइराख्ने?

अबको पाँच वर्ष म जनताको असली पहरेदार बनेर तपाइँहरुको दुखसुखमा सँगै हुन चाहन्छु। मेरो नगरलाइ देशकै उदाहरणीय नगर बनाउन चाहन्छु। समाज बदल्ने प्रमुख अस्त्र शिक्षा र रोजगारीको सुनिश्चिता हो। शिक्षा, स्वास्थ्य र रोजगारीमा ब्यापारिकरण हुने समाज कहिले विकासोन्मुख हुन सक्दैन।

यस महान अभियानमा, आफ्नो र भाबी सन्ततीको भविष्य तपाईँ हाम्रो एक अमूल्य भोटले निर्धारण गर्ने छ। त्यसैले मेयरमा आफूलाई रोजौं, तपाईँजस्तै स्वत्रन्त्र विकासप्रेमीलाई रोजौं। हामी सबैलाई समस्या र समाधान थाहा छ। गुनासो होइन, अग्रसरता, आफू र आफ्नो घरको मतको जिम्मेवारी उठाउनुहोस्। उदारणीय लाहान बनाउन १ मत आफ्नो लागि।




Leave a Reply

Your email address will not be published. Required fields are marked *