कांग्रेसमा विजय गच्छदार झन् कमजोर, उनी निकट नेता-कार्यकर्ताले पाएनन् टिकट

नेपाली कांग्रेसमा विजय गच्छदार एकदमै कमजोर अवस्थामा देखिएका छन्। १४औं महाधिवेशनमा समेत उपसभापतिमा पराजय व्यहोरेका गच्‍छदारले आसन्न स्थानीय निर्वाचनमा कमजोर देखिएका हुन्।

उनी निकट नेता कार्यकर्ताले टिकट नपाएको सर्वत्र गुनासो हुन थालेका छन्। प्रतिनिधिसभाको चुनावअघि कांग्रेससँगग एकीकरण हुँदा गच्छदार नेतृत्वको पार्टीबाट ४५ हजारमध्ये २५ हजार क्रियासिल सदस्य समाहित भएका थिए। तर महाधिवेशनमा उनले केहीबाहेक आफू निकट नेताहरुलाई केन्द्रीय कमिटीमा ल्याउन सकेनन्। स्थानीय निर्वाचन आइपुग्दासम्म गच्छदारको त्यो शाख पनि गिरेको छ।

अघिल्लो चुनावमा परासीको सरावल गाउँपालिकामा राधेश्याम चौधरी विजयी भएका थिए। उनी गच्छदारकै पार्टीबाट विजयी भएका थिए। तर अहिले उनले स्वतन्त्र उम्मेदवारी दिएका छन्। कांग्रेसले ‘बाइपास’ गर्दा स्वतन्त्र उम्मेदवारी दिनुपरेको उनले बताए। त्यतिमात्र होइन, उनले पार्टीबाट राजीनामा दिएर चुनावमा होमिएका छन्।

त्यस्तै थरुहट तराई पार्टीबाट उदाएका मिनराज थारुले पनि टिकट पाउनबाट वञ्चित भएका छन्। उनी बर्दियाको गेरुवा गाउँपालिकामा पहिलो नम्बरमा अध्यक्षका लागि सिफारिस भएका थिए। तर थारु बाहूल्य क्षेत्रमा उनको टिकट खोसेर गैर थारुलाई दिइएको छ। त्यतिमात्र होइन, थरुहटबाट उदाएका सीताराम चौधरीले पनि वडाको टिकट पाएनन्। थरुहटका योद्धाहरुलाई टिकटबाट वञ्चित गरिँदा त्यहाँका थारुहरु रुस्ट भएको बताइएको छ। सहमहामन्त्रीसमेत रहेका किशोर सिंह राठौरले मनोमानी ढंगले टिकट वितरण गरेको थारुहरुको आरोप छ।

यता बारामा पनि अघिल्लो स्थानीय निर्वाचनमा उपमेयर लडेकी राधा चौधरी पहिलो नम्बरमा सिफारिस भएकी थिइन्। तर खानेपानी मन्त्रीसमेत रहेका उमाकान्त चौधरीले आफन्त टिकट दिँदा राधा चौधरी टिकटबाट वञ्चित हुन परेको छ।
गच्छदारको आफ्नै जिल्लामा पनि प्रमिला गच्छदार, सूची चौधरीलगायतले टिकट पाएनन्। गच्छदारका आफन्त वेद नारायण गच्छदारले भने सुनसरीको दुहवी गरपालिकामा टिकट पाएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *