रेशम चौधरीरीको पार्टीको घोषणा पत्र : शिक्षा र स्वास्थ्य सतप्रतिशत निशुल्क

रेशम चौधरीको पार्टी नागरिक उन्मुक्त पार्टीले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ। आसन्न स्थानीय निर्वाचनमा कैलालीसहित पश्चिम तराईका जिल्लामा उम्मेदवारी दिएका रेशम चौधरीको पार्टीले स्वरोजगार अभियानलाई आत्मसात गरेका छन्।
त्यस्तै शिक्षा र स्वास्थ्यमा सत प्रतिशत निशुल्क गर्ने घोषणा पत्रमा उल्लेख छ। नागरिक उन्मुक्ति पार्टीले भौगोलिक साँस्कृति पहिचानलाई कार्यदिशा बनाएको छ।

नागरिक उन्मुक्ति पार्टी
चुनावी घोषणा पत्र

चुनाव चिन्ह : ढकिया

नरहुन कोही बेरोजगार सबै हुन् स्वरोजगार
नागरिक उन्मुक्ति पार्टी नै हो विश्वासको आधार
शान्त, समुन्नत, समृद्ध देश बनाउने जिजिभिषा
भौगोलिक सांस्कृतिक पहिचान यहि नै हो हाम्रो कार्य दिशा

बेरोजगार, गरिबी, शिक्षाबाट बञ्चित, सत प्रतिशत स्वरोजगारी, कृषकलाई अत्याधुनिक कृर्षियन्त्र, प्राङ्गारिक मल उद्योग, विचौलियाको अन्त्य गरि आफ्नो उत्पादनको व्यापार आफैले गर्न पाउने व्यवस्था, युवाहरुलाई असलमार्ग निर्देशन गर्न खेलकुद, स्वरोजगार सम्बन्धि प्रशिक्षण, कुलतको अन्त्य, प्रर्यावरणिय रुपमा उत्कृष्ट गाउँ सहरको निर्माणका साथै हाम्रो देश नेपाललाई नै नमूनाको देश बनाउने उद्देश्यका साथ नागरिक उन्मुक्ति पार्टीको निर्माण भएको हो । सबैलाई ज्ञात होस् नागरिक उन्मुक्ति पार्टीका हरेक कार्यकर्ता समाजका सच्चा पहरेदार, असर सिपाहीका रुपमा उभिने छन् । खराब तत्वको निर्मलिकरण, समाज सुधारको उद्देश्य, “हामी अन्यबाट होइन, अन्य हामीबाट सिकुन,” हरेक नागरिकमा रहेको आफै सक्षम बन्न सक्छु भन्ने वीजलाई प्रशिक्षणको माध्यमबाट टुसारोपण गर्ने क्षमताका साथ हामी तपाई समक्ष उभिएका छौं ।
“प्रण ठूलो होइन पालना कठिन कुरो हो ।” हामी जे प्रण गर्छौं, पालनामा पनि प्रतिवद्ध हुनेछौं । नागरिक किताबि शिक्षाले भन्दा सोचले सभ्य हुन्छ । सभ्य नागरिकले समाज निर्माणमा सधैं टेवा पु¥याउँछ । समाज सभ्य भए गाउँ समृद्ध हुन्छ । हाम्रो गाउँ किन बनेन भन्दा हामीले गाउँ किन बनाउन सकेनौं, भनेर सोच्नु पर्दछ । कुलत, दुव्र्यशनी, खराब आचरण, गलत तत्वलाई बढावा दिने व्यक्तिका कारण समाज दुर्घन्धित भई रहेको छ । समाजमा रहेका त्यस्ता तत्वहरुलाई बहिस्कार र तिरस्कार होइन, मायाँले निर्मलिकरण गरौं र स्वच्छ, सभ्य समाजका लागि हातेमालो गरौं ।
“पहिचान” भन्ने शब्दलाई वर्तमान राजनीति क्षेत्रका अभिभावक हुँ भन्नेहरुले दुर्घन्धित बनाई दिएका छन् । आफूले प्रयोग गर्दा राम्रो र अरुले प्रयोग गर्दा नराम्रो लाग्ने तिनको सोचलाई हामीले परिवर्तन गर्न सक्नुपर्दछ । “मान्छे माथी होइन मस्तिष्कमा आक्रमण गरौं ।” भुल भएछ अब हुने छैन भन्ने शब्दलाई अबलम्वन गरौं । सकारात्मक सोचलाई सबैले स्वीकार गरौं । परिवर्तनको पथमा कदम राखौं अनि मात्रै सभ्य समाज, सहर र राष्ट्रको कल्पना गर्न सकिन्छ ।
हाम्रा पहिचान के हुन् ? के पर्यटक आगमन हाम्रा वर्तमान अवस्थालाई नियाल्नलाई हो त ? होइन, पटक्कै होइन । हाम्रो यहि सोच गलत हो ।
हामीले हाम्रा पहिचानका सभ्य परम्परालाई निरन्तरता दिनै पर्छ । तबमात्रै हामी असलि कहलिन्छौं र हामी र हाम्रा पौराणीक अवस्थालाई दृश्यालोकन गर्न पर्यटकहरुको घुइँचो लाग्नेछ । पर्यटनलाई टेवा दिने प्रकारका हाम्रा संस्कृति, पौराणीक परम्परालाई हामीले निरन्तरता दिनै पर्छ ।
विश्व कुन बेला कस्तो स्वरुपमा परिवर्तन हुने हो, कसैलाई थाहा छैन । मानव सभ्यताको दुई वर्ष कोरोनाले क्वाप्लाक्कै खायो । अबका केहि वर्ष रसिया र यूक्रेनयुद्धले पनि कठिन गर्नेछ । कुन महाशक्ति राष्ट्र प्रमुखको सनक चढ्नेछ र विश्व नै तेश्रो युद्धको भुङ्ग्रोमा जाकिनेछ, थाहा छैन । आलिसान महल र बैंकमा थुपारिएका सम्पत्ति केहि हैनन् भन्ने रुस यूक्रेनको युद्धमा देखिएका दृश्यले पुष्टि गरेका छन् । हाम्रो सोचमा विश्वको सुखि र सम्पन्न राष्ट्र त्यहि हो, जहाँका जनता सुखी र सन्तुष्ट छन् । असल सोच र अब्बल मस्तिष्क भएका प्रतिनिधिले तपाईलाई जहिल्यै खुशी राख्न सक्छन् ।
“आजको दिन वित्नेछ र भोली नविन बिहानीको सुभारम्भ हुनेछ,” यो ध्रुवसत्य कथन हो । पुरानोको परिक्षण भईसक्यो, नयाँलाई स्वीकार गरेर नवसमाज निर्माणको शुभारम्भ गरौं । नागरिक उन्मुक्ति पार्टीका हरेक उम्मेद्वार जनताको सेवक हुनेछन् । नयाँ सोच, नविन विचार र नवसमाज निर्माणका लागि पहरेदार हुने कसम खाएर आएका हाम्रा उम्मेद्वारलाई “ढकिया” चिन्हमा छाप लगाई निर्वाचित गर्नु हुनेछ भनेर हामीले अपेक्षा गरेका छौं ।

हाम्रो सङ्कल्प
१– “सीपमुलक साना उद्योग”
ठुलाठुला कल–कारखाना खोल्छु, स्मार्ट सहर बनाउँछु भनेर जनता ढाँट्नु बेफकुवि हो । हामी नागरिक सीप, क्षमता, सामाजिक अवस्था, आर्थिक स्थितिको आंकलन गरेर साना उद्योग सञ्चालन गर्नेछौं । त्यसका लागि हाम्रो प्रथम प्रण हो–“प्लास्टिक मुक्त गाउँ सहर ।”
आज विश्व प्रदुषणको पहिलो कारक हो–प्लास्टिक । प्लास्टिक प्रदुषणले संसारका बडेबडे वैज्ञानिकको मथिङगल खाइदिएको छ । अहिले विश्वको ठूला राष्ट्रले समेत प्लास्टिकको विकल्प खोज्न थालेका छन् । सबैले सोचे जस्तो यसको विस्थापन पनि त्यति सहज छैन । तर हामी सम्भव गरेर देखाउँछौं । प्लाष्टिक मुक्त समाज नागरिक उन्मुक्ति पार्टीको पहिलो प्रतिवद्धता हो ।
विकल्प के ?
(क) पहिलो चरणमा कपडाको झोला प्रयोग गर्ने÷गराउने ।
(ख) प्लाष्टिक प्लेट कपको विकल्पमा दुना टपरि उद्योग, माटोको भाडा बनाउने उद्योगलाई प्रोत्साहन गर्ने ।
(ग) जुट, लहरा, केराको बोक्राबाट बनाइने परम्परागत सीपलाई रोजगारमा परिणत गरि ग्रामिण जनतालाई मध्यनजर गरि साना उद्योग नै सञ्चालन गर्ने ।
(घ) प्लास्टिक कुर्सि टेवललाई विस्थापित गरि बाँस, बेत, काठ, आदि वनस्पतिबाट बनेका वस्तुलाई प्रयोगमा ल्याउने ।
फाइदा के ?
(क) एउटा पालिकामा कम्तिमा १०० जनाले परम्परागत लहरा सनपाटबाट झोलाजन्य सामाग्री बनाउनेले रोजगार पाउने छन् ।
(ख) दुना, टपरी घरेलु उद्योगका लागि कम्तिमा १०० जना महिलाले रोजगार पाउने छन् ।
(ग) बाँस, बेत, काष्ठकलाबाट कुर्सि, टेवल, साना खाट, आदि निर्माणका लागि कम्तिमा ५० जनाले एक पालिकामा रोजगार पाउने छन् ।

कच्चा पदार्थको जोहो
(क) नजिक रहेका सामुदायिक वनसँग समन्वय गरेर ।
(ख) दुना टपरीका लागि उपयुक्त वनस्पतिको वृक्षारोपण गरेर ।
(ग) बेत, बाँसको उत्पादकलाई प्रोत्साहन गरी खेति गर्न लगाउने ।
(घ) सनपाट, लहरा जन्य बोट विरुवाको वृक्षारोपण गर्ने ।
कच्चा पदार्थ सम्बन्धि उदाहरण
 धेरै कमलाई थाहा छ, तपाईको घरमा फल दिई सकेपछिको केराको बोट विक्रि गरेर समेत आम्दानी हुन्छ । यसरी खेर जाने लहरा जन्य वृक्षलाई झोला उद्योगले खरिद गर्नेछ । (यो एउटा उदाहरण मात्रै हो ।)

बजार
 बजारको व्यवस्थापन हामी आफैबाट गर्छौं । पोलिथिन ब्यागको स्थान कपडाका झोला, लहरा, केराको पात, आदिबाट निर्मित सामाग्रीले लिनेछन् । हामी हाम्रो क्षेत्रलाई “नो प्लाष्टिक जोन” का रुपमा चिनाउँनेछौं । हाम्रो राम्रो कामको अनुशरण अरुले पनि सिकुन भन्ने हाम्रो ध्यय हो ।
 उत्पादन गरेका सामाग्री हाम्रा छिमेकि गाउँ, सहर तथा देशैभरी विक्रि वितरणको व्यवस्था हाम्रा प्रतिनिधिले मिलाउने छन् ।
 विदेशमा समेत निर्यात गर्ने हाम्रो उद्देश्य हो ।
“रोजगार”
 एक गाउँपालिकामा कम्तिमा ३०० जना रोजगारीको सृजना हाम्रो यहि बुँदा नं. १ ले र्नेछ ।

२ – “प्राङ्गाणिक मल उद्योग”
नेपाल कृषिमा निर्भर देश हो । तर दुर्भाग्य यहाँ किसानका लागि कृषियन्त्र त परै जाओस्, अन्नबालीका लागि खुराक मानिने मल उद्योग सम्म छैन । ठुला मल उद्योग खोल्न हामीले सम्हाल्ने गाउँपालिका वा नगरपालिकाको बजेटले पक्कै सम्भव हुने छैन । तर के, हामी साना प्राङ्गारिक मल उद्योग खोल्न सक्दैनौं ? कुरा स्मार्ट सिटिको गर्ने, सोच आत्म निर्भरता सम्म नराख्ने विवेकका कारण हामी यो अवस्थामा छौं । हामी कहाँ सहर अस्याध्यै थोरै छन् तर पनि नगरपालिकाको संख्या सयौंमा छ । नेपाल बनाउँछु भन्नेले सहरको गफ ठोक्नु व्यर्थ हो । “काठमाडौं महानगर होइन नेपाल गाउँ हो” भन्ने सोच राखियो भने समृद्धि दुर छैन । गाउँमा जन्मेर, गाउँकै मैदानमा बाल्यकाल व्यतित गर्नेले गाउँलाई कस्तो परिकल्पनाको सपनामा सजाउँदै छन् कुन्नी ? नागरिक उन्मुक्ति पार्टीले गाउँ बनाउने जून सङ्कल्प गरेको छ त्यसले अवश्य नयाँ गोरेटोमा कदम टेकिएको हामीले महसुस गर्ने छौं ।
“किसानलाई मलको हाहाकार !” यो प्रत्येक वर्ष मिडियामा छाईरहने शिर्षक हो । “फेरि पनि हुन्न हाहाकार” त हामी भन्दैनौं तर यति जरुर हो, मल नपाएकै कारण खेत बाँझो हुने छैन । यसका लागि “एक गाउँपालिका एक प्राङ्गारिक उद्योग” हाम्रो दोश्रो संकल्प
हो ।
“विकल्प”
(क) श्रोत, साधन र दक्ष जनशक्ति सहितको प्राङ्गरिक मल उद्योगको स्थापना गर्नेछौं ।
(ख) रासायनिक मल न्यूनिकरण गर्दै प्राङ्गरिक मल तर्फ जोड गर्ने कृषकलाई प्रशिक्षणको व्यवस्था गर्ने छौं ।
(ग) वडा स्तरका विभिन्न स्थानमा कुहिने नकुहिने गरि कम्तिमा चारवटा फोहोर संकलन भाँडो राखिने छ । शिशा, फलाम, प्लाष्टिकजन्य र कुहिने गरि छुट्याइएको भाँडोबाट हरेक दिन फोहोर संकलन गरि निश्चित स्थानमा जम्मा गरिनेछ । उचित पारिश्रमिक दिएर खटाइएका कर्मचारीले स्याउला, गोबर, मलमुत्र संकलन गरेर प्राङ्गारिक मल तयार पर्ने छन् । दक्ष प्राविधिकको सुझाव तथा सल्लाहमा तयार पारिएको मल अति सस्तो शुलभ मूल्यमा कृषकलाई वितरण गरिनेछ ।
फाइदा के ?
(क) वनका स्याउला, गोबर, मलमुत्रको व्यवस्थापन हुनेछ ।
(ख) फोहोर संकलनका लागि कम्तिमा २० जनाले प्रत्यक्ष रोजगार पाउने छन् ।
(ग) मलकै लागि सरकारको मुख ताक्ने अवस्थाको अन्त्य गरिनेछ ।
(घ) यस्ता साना उद्योग कृषक आफैले आफ्नो घरमा संचालन गर्न सक्नेछन् ।
“रोजगार”
 एक गाउँपालिकामा कम्तिमा ५० जनाले प्रत्यक्ष रोजगार प्राप्त गर्न सक्ने छन् ।

३ – “शिक्षा, स्वास्थ्य सत प्रतिशत निशुल्क”
गरिबको कोखमा जन्मिनु पूर्वजन्मको पाप होइन, जन्मिएको बच्चालाई उचित स्याहार सुसार सहित रोजगार युक्त नबनाउन्जेल सम्बद्र्धन गर्न नसक्नु राज्यको कमजोरी हो । हामीले नेतृत्व गर्ने गाउँपालिका वा नगरपालिकामा स–शुल्क आफ्ना छोराछोरी पढाई दिने अभिभावकलाई धन्यवाद दिन्छौं । तर गरिब, शुल्क तिर्नैै नसक्ने, चरम गरिबि व्यहोरीरहेका अभिभावकले चिन्तित हुनुपर्ने छैन । तिनको शिक्षा दिक्षाको बन्दोवस्त पालिका स्वयंले गर्नेछ । सकभर सम्पूर्ण पालिकामा एउटै शिक्षा प्रणाली हाम्रो कोशिस हुनेछ । “शिक्षा पाउनु नैसर्गिक अधिकार हो” भन्ने कुरा ध्यानमा राख्नै हामीले प्रतिवद्धता बुँदा नं. ३ मा यो उल्लेख गरेका
छौं ।
“चेतनामूलक शिक्षा”
यहाँ शिक्षाका नाममा पाठ्यक्रम मात्रै घोकाउने चलन छ । यसले बालबालिकाको मस्तिष्कमा खराब असर पार्दछ । हरेक विद्यालयमा मनोरञ्जनात्मक, चेतनामुलकका साथै खेलकुद जस्ता अतिरिक्त कक्षाको अनिवार्य व्यवस्था गर्ने छौं । यस्ता शिक्षालाई बढावा दिन पालिका स्वयंले अतिरिक्त बजेटको व्यवस्था गर्ने छ ।
फाइदा
 शिक्षाबाट कोहि वञ्चित हुने छैनन् । सत प्रतिशत शिक्षा समाजको आँखा हो ।
 बालबालिका कुलतमा फस्ने छैनन् । दुव्र्यसनबाट बालबालिका जोगाउनु भनेको संकटग्रस्त अवस्थाबाट मुलुक जोगाउनु हो ।
 अतिरिक्त शिक्षाबाट बालबालिकाको भविष्य तय हुन्छ । यहि शिक्षाका कारण नानीहरुले आफ्नो जीवनको आधार तय गर्छन् । जस्तैः खेलाडी, कलाकार, पत्रकार, वैज्ञानिक, जस्ता भविष्यमा उत्पादन हुने जनशक्तिको आधार नै अतिरिक्त कक्षा हो ।

“स्वरोजगारमूलक शिक्षा”
सुन्दा आश्चर्य लाग्छ । तर यथार्त यहि हो । अब विश्वले नै धेरै छिटो अपनाउने शैक्षिक प्रणाली यहि हुनेछ । हाम्रो नागरिक उन्मुक्ति पार्टी विजीत पालिकामा लागु हुने यो शैक्षिक प्रणाली विश्वमै लागु हुने पहिलो शिक्षा प्रणाली हुनेछ ।
इन्टरनेटका कारण आज विश्व साँगुरिएको छ । संसारका आश्चर्य, अद्भुद र कहिल्यै कल्पना नगरिएका कुराहरु हामी आफ्नै हत्केलामा राखेर मोबाइल यन्त्र मार्फत देख्न सक्छौं । साथै त्यसका बारेमा जानकारी पाउन सक्छौं र सिक्न सक्छौं । आज यूरोप अमेरिका लगायत संसारका विकसित, अति विकसि मुलुकहरुमा विद्यार्थीहरुलाई फेल गराउन पाइँदैन । त्यहाँ अहिले पुस्तकिय ज्ञान भन्दा बढी व्यवहारिक शिक्षा प्रदान गर्न थालिएको छ । “अबको शिक्षा व्यवहारिक र स्वरोजगारमूलक हुनु पर्दछ,” यो विश्वका विद्वानहरुको कथन हो । मुलुकमा चेतनशिल विद्वान नेताहरुको कमिका कारण आज सभ्य शिक्षित र चेतनशिल युवाहरु विदेशिन बाध्य छन् । किन ? यो देशमा रोजगार सम्भव छैन ? हिजो विश्वका अन्य राष्ट्रमा कृषि उत्पादन निर्यात गर्ने हाम्रो देश आज आयात मात्रै गर्ने अवस्थामा कसरी पुग्यो ? के यहाँको प्राकृतिक भौगोलिक अवस्था त्यति जर्जर छ ?
आँखा चिम्लेर मनन गरौं । बालुवै वालुवा मरुभुमी क्षेत्र खाडी मुलुक नेपाली युवाहरुको मेहनतले आज विश्वकप खेल्ने मैदान भईसक्यो । माटो नपाइने मुलुकले धान चामलमा आत्मनिर्भर भई निर्यात गर्न थालिसके । विदेश जाने सबै युवाहरु वैज्ञानिक, इन्जिनियर, डाक्टर बन्न पक्कै गएका होइनन् । श्रम बेचेर घर गुजारा चलाउने उद्देश्यले विदेशिएका हाम्रा युवाहरु जे पायो त्यहि काम गर्न बाध्य छन् । किन ? कारण एउटै हो, हाम्रो सरकारले व्यवहारिक रोजगारमूलक शिक्षा दिएकै छैन ।
हाम्रो देशमा गलत व्यक्ति र तिनको प्राकृति हावी हुँदै गएको छ । त्यहि कारण पनि युवाहरु वाक्क भई प्रवासिन बाध्य छन् ।
स्वरोजगारमूलक शिक्षा भनेको के हो ?
(क) आत्मनिर्भर कसरी हुने ?
(ख) आज सिकिएको शिक्षा भोली कसरी लागु गर्ने ?
(ग) डाक्टर, इन्जिनियर, पाइलट मात्रै देशका दक्ष जनशक्ति होइनन् । कृषक, शिक्षक, सानो व्यापार लगायत माछा, पशुपंक्षी पालक, आदि पनि देशका शिक्षित र सभ्य नागरिक हुन् भन्ने स्वीकारयुक्त शिक्षाको सुरुवात गर्ने ।
आज विश्वको परिचय फरक फरक तरिकाले हुँदै गएको छ । कुनै देश धानमा निर्भर छ भने कुनै देश माछामा । कुनै देश तोरीमा निर्भर छ भने कुनै देश माछामासु वा दुधमा । हाम्रो देश सम्भावनै सम्भावनाको देश हो । यहाँ जे गरे पनि हुन्छ । राज्यले सहि दिशा निर्देश गरे विश्वकै गन्तिमा आउने फलफूल निर्यात गर्ने देश भनेर चिनिन सक्छ । आफ्नो उत्पादनले हामी मजाले जीवन धान्न सक्छौं । तर चेतनाको कमि र नेताहरुको विचौलिया पाल्ने धन्धाले आज हामी दिनप्रति दिन गरिबिको रेखामुनी झर्दै गैरहेकाछौं । हामीले नागरिक उन्मुक्ति पार्टी त्यसै खोलेको होइनौं । हामीसँग देश बनाउने खाका छ । अहिलेको स्थानीय निर्वाचनमा हामी यति प्रण जरुर गर्छौं कि हामी निर्वाचित क्षेत्रमा अर्को पाँच वर्ष भित्र मासु र अन्न आयात गर्ने छैनौं । कमसेकम युवाहरु विदेशिने छन् । यसका लागि स्थानीय सरकारको पहल कदमि पहिलो प्राथमिकतामा पर्नेछ ।

“खेलकुद”
दुव्र्यशन हाम्रो जस्तो अल्पविकशित राष्ट्रको लागि विकराल भयावह समस्या हो । जीवन धान्ने कठिन अवस्थामा दिन प्रतिदिन बढ्दै गईरहेको दुव्र्यशनी संख्याका कारण आज समाज बर्वादीको अवस्थामा पुगेको छ । सबैजसो अभिभावकको एउटै गुनासो आउन थालेको छ–सन्तान विग्रिए । के सन्तान अभिभावकको कारणले मात्रै विग्रिएका हुन् ? आज घर झगडाको मुख्य कारण नै सन्तान दुव्र्यशनी भए, विग्रिए भन्ने छ । चेतनशिल मस्तिष्कले सोच्नुपर्छ, छोराछोरी बिग्रिनुमा अभिभावकको धेरथोर भूमिका होला तर सबैभन्दा ठूलो कमजोरी राज्यको हो । तपाईलाई पत्याउन पनि मुस्किल पर्ला तर यथार्थ यहि हो, समाजमा माउडे कहलिएकाहरुले नै दुव्र्यशन पदार्थ बेच्छन्, नाफा कमाउँछन्, महल बनाउछन् र देश भडखालोमा जाक्छन् ।
साना बालबालिकालाई कुलतबाट बनाउने एकमात्रै मार्ग हो खेलकुद । उमेरमै तिनलाई सक्षम खेलाडी बनाउने मार्ग प्रशस्त गर्नु पर्दछ । जन प्रतिनिधिले ठेक्का पट्टा र कमिसनको खेल मात्रै खेल्ने, बालबालिका, विद्यार्थी, युवाहरुलाई महत्व नदिएका कारण आज हाम्रो यो अवस्था भएको हो । त्यसैले सके सबै गाउँमा, नसके “एक वडा एक खेल मैदान“ साथै एक पालिका एक उत्कृष्ट खेलमैदानको अवधारणा हाम्रो पार्टीले लिएको छ ।
के गर्ने छौं ?
(१) दुव्र्यशनमुक्त समाजको लागि चेतनशिल कक्षा संचालन गर्नुको साथै दुव्र्यशनको व्यापारीलाई कडा कानूनी कार्वाहीको अवधारणा हाम्रो पार्टीले लिएको छ ।
(२) वार्षिक एकपटक पालिका स्तरिय सम्पूर्ण अतिरिक्त कृयाकलाप समावेश गरिएको प्रतियोगिताको आयोजना गरिनेछ ।
(३) सबै प्रकारको खेल अभ्यास हुने मैदान र प्रशिक्षकको बन्दोवस्तमा ध्यान दिनेछौं ।
(४) असक्त, वृद्धवृद्धालाई स्वास्थ्य परिक्षण तथा निशुल्क औषधिको व्यवस्था गरिनेछ ।
(५) स्थानिय स्तरमै दक्ष खेलाडी उत्पादन गरेर अन्तराष्ट्रिय स्तरको बनाउने हाम्रो लक्ष्य हुनेछ ।

४ – “बाचा”
१. हामी स्वागतद्वारको नाममा अनावश्यक खर्च गर्नेछैनौं ।
२. हामी भ्यू–टावर बनाउने छैनौं ।
३. अनावश्यक कल्भर्ट, निर्माणमा ध्यान दिने छैनौं ।
४. हामी विकास बजेट खर्चेर सभाहल, भवन बनाउने छैनौं ।
५. हाम्रो जोड शिक्षा, स्वास्थ्य, जन सरोकार, शान्त दुव्र्यसनमुक्त समाजमा रहनेछ ।
किन बनाउने छैनौं ?
१. स्वागतद्वार बनाउने पैसाले चेतनामूलक, शिक्षामूलक, रोजगारमूलक, उत्पादनमुलक लगायत अन्य उन्नतमूलक समाज निर्माणमा खर्चिदा पालिका छिटो समृद्ध हुन्छ ।
२. पालिकाका लागि भ्यूटावर एकदमै अनावश्यक, अप्राकृतिक, अमर्यादित विषय जस्तो लाग्छ । भ्यूटावर, स्वागतद्वारका नाममा अनावश्यक गेट निर्माण जस्ता विषयले मुलुकमा विकृति मात्रै जन्माउँछ । हाम्रो पालिका प्रमुखले यस विषयमा प्रवेश समेत गर्ने छैनन् ।
३. महिना वा वर्षमा एकपटक वैठक बस्नका लागि कंक्रिट भवन बनाएर ठेकदार वा जनप्रतिनिधि मोटाउन दिने नीति हाम्रो पार्टीले लिएको छैन । हामी समयानुकुल अवस्था र स्थान हेरेर त्यस्ता कार्यक्रम गर्नेछौं तर विकासका नाममा करोडौं खर्च गरेर अनावश्यक भवन निर्माणमा हाम्रो जोड रहने छैन । बरु सामाजिक विकास, सडक, अस्पताल, शिक्षामा नै त्यस्ता रकम खर्चिनु सदुपयोग हुनेछ भन्ने नागरिक उन्मुक्ति पार्टीको ठहर छ ।

संकल्प –५ “महिला उद्यमिको विकास”
नेपालमा करिब ८७% महिला गृहिणीको नाममा घरमै जीवन विताउन बाध्य छन् । समाज र राष्ट्रका लागि “नर नारी एक रथको दुई पाङ्ग्रा” कथन मात्रै हुन गएको छ । संविधानले ३३% महिला सहभागिता अनिवार्य भनेता पनि यो अझै पूर्ण लागू भईसकेको छैन । यहाँ कल कारखाना उद्योग संचालक पर्यटन व्यवसायी, व्यापारी, सामाजिक कार्यको अगुवा, निर्माण व्यवसायी तथा राज्यले संविधानमा निर्धारण गरेभन्दा बाहेक महिला सहभागीता लगभग सुन्य छ । तपाईले कहिल्यै सुन्नु भएको छ, यो पाँचतारे होटल संचालक महिला हुन् ? फलाना सिमेन्ट उद्योगको संचालक महिला हुन् ? अब हुनेवाला प्रधानमन्त्री महिला हुन् ? धेरै बोल्नु वा घोषणा पत्रमा उल्लेख गरिरहनु जरुरत छैन । के हामी आफ्नैै श्रीमति, बहिनी, आमा वा घरका अन्य महिलालाई कुनै व्यवसाय प्रमुख वा मुख्य जिम्मेवारी दिन सहमत छौं ? जे जस्तो होस् घर, समाज, राष्ट्र उत्थानका लागि महिलालाई सँगै लिएर गए दौड सहजै जित्न सकिन्छ । अहिले राज्यको सबैजसो टप्कामा प्रतिस्पर्धा गर्न सक्षम महिलाहरुलाई जरैबाट मलजल गर्नु आवश्यक छ । यसको पहलकदमि नागरिक उन्मुक्ति पार्टीले गाउँबाटै गर्न चाहन्छ ।
ग्रामीण गृहिणीको उत्थान, समाज र राष्ट्रको उत्थान हो । अब महिलाले चुलोचौको मात्रै होइन, साना उद्यमि घरमै बसेर बन्न सक्छन् । घरकै आँगन, बारी, करेसा डुल्दै आय आर्जन गर्न सक्छन् । घरखर्च, छोराछोरी पढाउने खर्च आफ्नै पटुकिमा साँचेको पैसाले पु¥याउन सक्छन् । झुपडीमा बसेर महल किन्ने आँट छ भन्ने दम्भको सृजना हरेक ग्रामीण महिलालाई गराउनु जरुरी छ । त्यसका लागि नौलो नभए पनि व्यवस्थित र परिपार्जित योजना महिलाहरुको लागि हामीले अगाडी सारेका छौं । स्थानिय महिलालाई सीपमूलक तालिम प्रदान गरी रोजगार प्रदान गर्नु हाम्रो पार्टी नाउपाको प्रमुख दायित्व हो ।
(क) सामुहिक फलफूल तथा तरकारी खेति
(ख) सामुहिक पशुपालन (माछा, भैंसि, बंगुर, कुखुरा, बाख्रा, माहुरी, आदि)
(ग) सामुहिक साना उद्योग (कपडा, दुना टपरी, अगरवत्ति, इत्यादि)
(क) सामुहिक फलफूल तथा तरकारी खेतिः– सम्बन्धित वडा कार्यालयले महिलाको अवस्था वर्गिकरण गरि यो कार्यको प्रारम्भ गर्नेछ । बाँझो तथा सुलभ मूल्यमा जग्गा भाडामा लिई सामुहिक फलफूल तथा तरकारी खेति गर्न लगाउने । आवश्यक उपकरण, मलको जोहोमा वडाले ध्यान दिने । उत्पादन विक्रि वितरणका लागि बजारिकरणमा सहयोग पु¥याउने । यसरी यो प्रणालीमा सहभागी हुने महिला समुहलाई निःशुल्क विउ विजन उपलब्ध सम्बन्धित वडा कार्यालयले उपलब्ध गराउने ।
(ख) सामुहिक पशुपालनः– व्यवस्थित पशु आश्रय स्थल (खोर, गोठ, घार, आदि) बनाउन टेवा पु¥याउने । वीउ पशु सहुलियत दरमा उपलब्ध गराउने । बजारिकरणमा सहयोग गर्ने ।
(ग) सामुहिक साना उद्योगः– स्थानिय महिलाले सीपको सदुपयोग नै साना उद्योग मार्फत गर्ने हो । महिला समुहले दुना टपरी, कपडा, झोला, पौराणिक सामाग्री उत्पादन
(ढकिया, डेलवा, छिटवा, आदि) अगरवत्ति, मैनवत्ति तथा अन्य प्रकारको साना उद्योग सञ्चालनका लागि प्रोत्साहनमूलक कार्यक्रम वडाले ल्याउने छ ।

अन्य के ?
 नगदेबालीमा कृषकलाई प्रोत्साहन गराइनेछ ।
 बाँस, लहरा, मुज, कसुंगाबाट बनाइने सामाग्रीको साना उद्योग संचालन गर्ने । जसबाट छतरी, ढकिया, डेलवा, छिटवा लगायत प्रयोगिय सामाग्री उत्पादन गरेर विक्री वितरण गर्न सकिन्छ ।
 आयातित माछा मासुजन्य खाद्य रोक्नका लागि विकल्पमा माछापालन, रैथाने घोंघि, सुतहि पालन (सिपि) गर्न प्रोत्साहान गरिनेछ ।
 माहुरी पालन, बाख्रापालनमा जोडदिइनेछ ।

संकल्प – ६ “युवा स्वरोजगार कार्यक्रम”
अहिले हाम्रो देशको सबैभन्दा विकराल समस्या भनेकै यूवाशक्तिको श्रम बाह्य मुलुकमा खर्च भैरहेको अवस्था हो । विश्वकप खेल्ने आकर्षक खेल मैदान देखि संसारकै गगनचुम्बि महल बुर्जखलिफा निर्माणमा हाम्रै नेपाली युवा श्रमको मुख्य हात छ । भन्दा आश्चर्य लाग्ला, तर विदेशमा हाम्रै युवाहरुले उत्पादित अधिकांश खाद्य सामाग्री हामी यतै उपभोग गरि रहेका हुन्छौं ।
भौगोलिक स्वर्गको उपहार पाएको नेपाल विश्वमा साँच्चै अल्छि र सूताहाको उपमा पाइ रहेको छ । के हुँदैन यहाँ ? के सम्भव छैन यहाँ ? सब सम्भव भएर पनि असम्भाव्यताको उपमा हामीले नै बोकिरहेका छौं । हामी कहाँ बगिरहेका खोला नालाले हाम्रै भूमि भिजाउन हामी किन सकिरहेका छैनौं ? आफ्नो जमीन आफै खनजोत नगरेर विदेशको भूमि जोत्न किन बाध्य भई रहेका छौं । यो सबै चेतनाको अभावले झेल्न बाध्य छौं हामी ।
१. युवाहरुलाई विदेशिनबाट रोक्न हाम्रो नागरिक उन्मुक्ति पार्टीले युवा स्वरोजगार कार्यक्रमलाई विशेष ध्यान दिएको छ । हिमाल, पहाड, तराइका कुनै जमीनहरु खालि हुन नदिने हामीले विशेष प्याकेज नै तयार गरिरहेका छौं । विदेशबाट आयात हुने फलफूल, तेल, दुग्धजन्य पदार्थ, माछामासु, आदिलाई पूर्ण रुपमा विस्थापित गराई केहि वर्ष भित्रै निर्यात गर्ने अवस्थामा पु¥याउने छौं ।
२. हामी कहाँ भुगोलविद् कृषि विज्ञलाई सम्मान गर्ने र तिनीहरुबाट उचित सुझाव ग्रहण गरि शिरोपर गर्ने अवस्था सृजना भैसकेको छैन । सामान्य र सहज रुपमै खोलानालाको पानीले धर्ति कसरी भिजाउने ? हिमाल, पहाड, तराइमा के कस्ता खेति गरेर प्रचुर मात्रामा लाभ लिन सकिन्छ, सो को अध्ययन गरि यूवा स्वरोजगार कार्यक्रमको विशेष र वृहत योजनाको तर्जुमा गर्नेछौं ।
३. फलफुल तथा लहराजन्य खेतिमा ध्यान दिई हरितकण संकलन गरेर विश्वका विकसित राष्ट्रले दिने क्षतिपूर्ति सिधैं संकलकले पाउने व्यवस्था गर्नेछौं ।
४. सरकारले भर्खरै अनुमति दिएका मासु उपभोग हुने प्रकारका वन्य जीवजन्तु तथा पशुपक्षीलाई पालन गरि विक्री वितरणका लागि विदेश निर्यात गर्ने व्यवस्था मिलाउने छौं ।
५. “टेक्यो कि हरित, देख्यो कि हरित” हाम्रो नागरिक उन्मुक्ति पार्टीले युवाहरुलाई ल्याएको विशेष योजना हो ।
“हाम्रा जनप्रतिनिधिले यि कार्य गर्ने छैनन्”
(क) कृषि जमीनको खण्डिकरण
(ख) सार्वजनिक सम्पत्तिको दोहन
(ग) ठेक्कापट्टाबाट लाभ
(घ) धार्मिक क्षेत्रमा लगानी
(ङ) राजनैतिक विभेद
६. हाम्रो नागरिक उन्मुक्ति पार्टीको जनप्रतिनिधि भएको स्थानमा निशुल्क फलफुलको विरुवा प्रदान गरि उत्पादन हुने अवस्था सम्मको विशेष योजना ल्याउने छौं ।

संकल्प – ७ “उत्पादनसँग नागरिकलाई जोडने”
विचौलियाको अन्त्य विना मुलुक, समाज कसैको भविष्य सम्भव छैन । हाम्रो देशले फड्को मार्न नसक्नुको एउटै कारण विचौलियाको विगविगी हो । आज हाम्रो देशको नेता देखि विकास, व्यापार निर्माण, उत्पादन, यहाँ सम्मकि शिक्षा र स्वास्थ्य जस्ता अति संवेदनशील क्षेत्रमा समेत विचौलियाको वर्चस्व छ । यदि समयमै विचौलिया निरुत्साहित गर्ने योजना नल्याउने हो भने देशैं विचौलियाको हातमा नपुग्ला भन्न सकिन्न । यसका लागि नागरिक उन्मुक्ति पार्टीले “उत्पादनसँग नागरिकलाई जोड्ने” विशेष योजना ल्याएको छ ।
के छ योजनामा ?
१. नागरिक उन्मुक्ति पार्टी विजय भएको पालिकामा कुनै पनि कार्य विचौलिया मार्फत गर्ने छैन ।
२. कृषक, उद्योगी, उद्यमी, आदिले उत्पादन गरेका वस्तु उनै मार्फत विक्रि वितरण गर्ने व्यवस्था गर्ने छौं ।
३. विकास निर्माणका कार्यहरु उपभोक्ता मार्फत गर्ने व्यवस्था मिलाउने छौं ।
अन्त्यमा घोषणा पत्रमा लेखेर भन्दा काम गरेर देखाउने हाम्रो लक्ष्य छ । स्थानिय शासन, प्रशासन सबैको बागडोर जनताको हातमा हुनु पर्दछ । पुरानो मस्तिष्कलाई परिवर्तन नगर्ने हो भने अग्रगमन सम्भव छैन । “अबको भविष्य यूवाको हातमा र जेष्ठ नागरिकको जीवन सुरक्षा हाम्रो काँधमा” नागरिक उन्मुक्ति पार्टीको संकल्प नै हो । समाज, राष्ट्रको समून्नत विकासको एक मात्र विकल्प नागरिक उन्मुक्ति पार्टी नै हो । त्यसैले ढकिया चिन्हमा छाप लगाएर समाज, राष्ट्र रुपान्तरणको जिम्मेवारी हाम्रो काँधमा सुम्पनु हुनेछ भन्ने हामीले विश्वास लिएका छौं ।

जय नागरिक !




Leave a Reply

Your email address will not be published.