बिपतपुर मुक्तकमैया शिविरमा कन्तविजोग, भर्खरै भित्र्याएको बालीसमेत जलेपछि खानसमेत समस्या

कैलालीको कैलारी गाउँपालिका-७ बिपतपुर मुक्तकमैया शिविरमा आइतबार भीषण आगलागी भयो। आगो झण्डै ४ घण्टापछि नियन्त्रणमा आयो। आइतबार दिउँसो साढे १ बजेदेखि सुरू भएको आगलागी साँझ साढे ४ बजे मात्रै नियन्त्रणमा आएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार ७१ घरधुरीले बनाएको घर, गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ। एक्कासि भएको आगलागीले स्थानीयवासीका लत्ताकपडा, खाद्यान्न, चौपाया जलेर नष्ट भएका छन्। तर, मानवीय क्षति भने नभएको प्रजिअ थापाले बताए।

घटनाको कारण र यकिन तथ्यांक आउन बाँकी रहेको बताउँदै उनले घटनाबारे अनुसन्धान जारी रहेको उल्लेख गरे। जिल्लाको निकै दुर्गममा रहेको सो वस्तीमा तत्कालै अग्नि नियन्त्रक स्रोतसाधन पुग्न नसक्दा ठूलो क्षति भएको स्थानीयवासीले बताएका छन्।

आगलागी भएको निकै समयपछि मात्रै टीकापुर, धनगढी, घोडाघोडी नगरपालिकाबाट गएको दमकल र कैलारी गाउँपालिकाको एक्साभेटरको सहायता तथा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको लामो प्रयासले आगो नियन्त्रणमा आएको हो।

वस्ती नै खरानी भएपछि स्थानीय प्रशासनले तत्कालका लागि स्थानीयलाई त्रिपाल, खानेकुराको व्यवस्था गर्न लागेको प्रजिअ थापाले जानकारी दिए। घर भर्खरै भित्र्याएको गहुँसहित खाद्यान्न, शरीरमा भएको लत्ता कपडाबाहेक सबै सम्पत्ति जलेर नष्ट भएपछि स्थानीयको कन्तबिजोग भएको छ। आगलागीपछि वस्ती नै मर्माहत भएको बताउँदै बस्तीका भलमन्सा हिंगुराम चौधरीले कहाँ बास बस्ने र के खा ? बारे कुनै ठेगान नभएको दुखेसो पोखे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *