कान्तिपुर दैनिकको जागिर छाडेर रेशम चौधरीको पार्टीबाट अध्यक्षको उम्मेदवारी दिँदै गणेश

दुई दसक बढी पत्रकारितामा सक्रिय रहेका कैलाली टीकापुरका गणेश चौधरी राजनीतिमा होम्मिने भएका छन्। उनले टीकापुरसँगै रहेको जानकी गाउँपालिकामा अध्यक्ष पदमा उम्मेदवारी दिँदैछन्। उनले रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिन लागेका हुन्।

देशकै ठूलो मिडिया हाउस कान्तिपुर दैनिकको जागिर छाडेर गणेश चौधरी किन राजनीतिमा होम्मिँदैछन्? त्यो पनि भर्खरै दर्ता गरिएको रेशमको पार्टीमार्फत् नै किन? किनकि उनले थरुहट आन्दोलनलाई नजिकबाट नियालेका छन्। मुक्ति संघर्ष र थरुहट आन्दोलनका विभिन्न आयामहरुका साक्षी छन् गणेश चौधरी। त्यतिमात्र होइन, थारु समुदायलाई नै बदनाम गराएको टीकापुर घटनाका प्रत्यक्षदर्शी पनि हुन् गणेश चौधरी।

७ भदौ २०७२ को घटनामा उनले टीकापुर अस्पतालमा शरण नलिएको भए सायद उनीमाथि बर्बरतापूर्ण मुक्का, लात्ती, भाटा बर्सिनसक्थ्यो। प्रहरी मारिनुको रिस उनीमाथि बर्सिन सक्थ्यो। थारु भएकै कारण उनले आफ्नो ज्यान बचाउनतिर लाग्नुपर्‍यो।

८ भदौको घटनाका पनि उनी प्रत्यक्षदर्शी हुन्। जहाँ प्रहरी, प्रशासनकै आडमा थारुहरुको रिसोर्ट, एफएम, व्यापार, व्यवसाय र थारुहरुको घर छानी छानी जलाइयो। तर आजको दिनमा आइपुग्दा अपराधि सावित भएका छन् त केवल थारुहरु। अधिकारको आन्दोलनका क्रममा भीडबाट भएको घटनामा जसरी थारुहरु अपराधि सावित भए, खै त ८ भदौमा थारुका रिसोर्ट, एफएम र व्यापार व्यवसाय जलाउनेहरु अपराधि सावित भएका?

गणेश चौधरी यिनै प्रश्नहरुको जवाफ खोज्दै राजनीतिमा होम्मिएको बताउँछन्। उनी पहिचानको मुद्दा उठाउने माओवादी पार्टी सबैभन्दा बढी दोषी भएको बताउँछन्। ‘माओवादीले राम्रो काम गरिदिएको भए आज रेशम चौधरीले जेलबाट पार्टी खोल्न जरुरी थियो र? त्यही माओवादीले होइन, हिजोका दिनमा पहिचान र अधिकारका कुरा गरेको, थरुहट थारुवान भनेको?,’ उनी प्रश्न गर्छन्, ‘ती मुद्दा-एजेण्डाहरु कहाँ पुग्यो? उसले त बिर्सिसक्यो यी एजेण्डा। त्यो कुरा अब कसरी स्थापित गर्ने, कसले गर्ने? त्यसका लागि गणेश चौधरीहरु नलागे कसले गरिदिन्छ?’
कैलालीमा पहिचानका कुरा गर्नेहरु धेरै छन्, तर पछिल्लो समय पहिचानको मुद्दा बोक्ने रेशम चौधरीमात्रै भएको उनको बुझाइ छ। ‘कैलालीमा पहिचानको कुरा गर्ने अरु पनि छन्। लक्ष्मण थारुहरुले पनि पहिचानका कुरा गर्लान्। तर पहिचानको नेतृत्व कसले गर्‍यो भन्ने मूल कुरा हो,’ थरुहट आन्दोलनताकाको कुरा स्मरण गर्छन्, ‘हिजोको दिनमा टीकापुर क्षेत्रमा रेशम चौधरी पत्रकार भइरहँदा, एमालेका थारुले, कांग्रेसका थारुले, माओवादीका थारुले हात जोडेर भनेका छन्- रेशमजी हाम्रो नेता कोही भएनन्। नेता बनिदिनुपर्‍यो। उनैहरुले हो टीकापुर क्षेत्रको संयोजक बनाएको।’

त्यसबाट पहिचानको नेतृत्व रेशम चौधरीले बाहेक अरुले गर्न नसक्ने उनको बुझाइ छ। ‘यसबाट के प्रमाणित हुन्छ भने पहिचानको नेतृत्व गर्ने त अरु कोही नेता नै रहेनछन्। त्यसैले लक्ष्मण थारुले के गर्न सक्छन्, रेशम चौधरीले के गर्न सक्छन् भन्ने मूल कुरा हो,’ उनी थप्छन्, ‘लक्ष्मण थारुहरु साँच्चै नै पहिचान पक्षधर हो भने उनीहरु रेशम चौधरीको पार्टीमा समाहित हुनुपर्छ।’

थरुहट आन्दोलनताका विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकको रजगज पनि थियो कैलालीमा। गणेश चौधरी उम्मेदवार बन्दै गरेको गाउँपालिका पनि फोरम लोकतान्त्रिकले जितेको क्षेत्र हो। तर त्यसको अस्तित्व आजको दिनमा छैन। थारु पहिचानका ठूला कुरा गर्नेहरु कांग्रेसी भएको देख्दा गणेश चौधरी उदेक मान्छन्। थारुहरुले अधिकारको आन्दोलन गर्दैगर्दा त्यतिबेला कांग्रेस सभापतिसमेत रहेका शेरबहादुर देउवाले थारुहरुलाई ‘रौँ बराबर पनि नदिने’ अभिव्यक्ति दिएका थिए। तिनै नेताको पछि लागेका थारुहरुलाई गणेश चौधरी भेँडा भन्न रुचाउँछन्।

‘हिजोको दिनमा फोरम भनेर भोट मागे। पहिचनको नारा लगाए। उनीहरुले के गरे त? थारुहरुलाई रौँ बराबर पनि दिन्न भन्नेका पछाडि लागे। थारुहरु किन उनीहरुका पछि टाँसिए?,’ उनी प्रश्न गर्छन्, ‘कि उनीहरुले भनिदिन पर्‍यो हामी सबै थारु भेँडा हौं। जसले फोरमको नेतृत्व गरेका थिए, ती नेताहरु एउटा बगालमा मिसिएपछि सबै भेँडाहरु त्यही बगालमा मिसिनु जरुरी छ? थारु नागरिक होइनन्, थारुलाई भेँडा सम्झिने?’

तर सबै थारुहरु भेँडा होइनन्, पहिचान र अधिकारका पक्षमा आज पनि जनताहरु रहेको उनी दाबी गर्छन्। जितको आधार पनि अन्याय, अत्याचार, शोषण र दमनमा पारिएका थारुहरु नै भएको उनी ठोकुवा गर्छन्।

‘मूल कुरा पहिचानको आन्दोलन हो। यो आन्दोलनले अहिलेसम्म पूर्णता पाएको अवस्था छैन। पहिचानको आन्दोलनलाई पूर्णता दिन यो क्षेत्रका, भेगका जनताले भोट हाल्छन्,’ उनी भन्छन्, ‘टीकापुरको ७ गते घटेको घटनामा थारुहरु अपराधि हुने, तर ८ गतेको घटनामा कोही अपराधि नहुने? यो अन्याय हो कि होइन? शोषण दमन हो कि होइन? शोषण दमन सहेर यहाँका जनताले रुखमा, सूर्यमा, हँसिया हथौडामा भोट हाल्छन् जस्तो मलाई लाग्दैन।’

पहिचानको आन्दोलन पनि एक दिन स्थापित भइछाड्ने उनी बताउँछन्। ‘यस्ता आन्दोलन विश्वभरि भएको हामीले देखेका छौं। तर त्यो आन्दोलनले केही न केही कुरा स्थापित गराउँछ। हिजो कांग्रेसले संविधानसभाको मुद्दा अगाडि ल्यायो। पछि त्यो मुद्दा माओवादीले पनि बोक्यो र संविधानसभाको निर्वाचन भयो, देशमा संविधान पनि बन्यो,’ उनी भन्छन्, ‘अब पहिचानको कुरा उठेको छ। त्यो कुरा स्थापित हुनलाई समय लाग्ला। तर कुनै न कुनैरुपमा आन्दोलन जारी नै रहन्छ।

जितको अर्को आधार उनी थारु मत रहेको बताउँछन्। जानकी गाउँपालिकामा ३५ हजार मतदाता छन्। तीमध्ये ५६ प्रशतिशत अर्थात् १९ हजार बढी थारुहरु छन्। अघिल्लो स्थानीय निर्वाचनमा पनि एमाले र माओवादीले दुई-दुई वडा जित्दा फोरम लोकतान्‍त्रिक एक्लैले ५ वटा वडा जितेको थियो। सोही भोट आफूले पाउने गणेशको दाबी छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *