कैलाली-कञ्चनपुरमा माओवादीको मुख्य भोटर थारुहरु नै हुन् : हरिराम चौधरी

आसन्न स्थानीय तह निर्वाचनमा सत्ता साझेदार दलहरुले चुनावी गठबन्धन गर्ने सैद्धान्ति सहमति गरेका छन्। तर कुन मोडालिटीमा गठबन्धन गर्ने विषयमा अझै सहमति भइसकेको अवस्था छैन। सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा ८८ पालिकाहरु छन्। ती पालिकाहरुमा नेकपा माओवादी केन्द्रले कस्तो रणनीति लिएर चुनावी मैदानमा उत्रिँदैछ? ‘हेबीवेट’ नेता लेखराज भट्ट एमाले गइसकेपछि माओवादीलाई त्यस क्षेत्रमा कस्तो असर परेको छ? गठबन्धन गर्दा माओवादीले सुदूरपश्चिममा कति पालिकामा दाबी गरेको छ? यिनै विषयमा केन्द्रीत रहेर राष्ट्रियसभा सदस्य एवं माओवादीको सुदूरपश्चिम प्रदेश अध्यक्ष हरिराम चौधरी ‘उत्सव’सँग गरिएको कुराकानी:

स्थानीय निर्वाचनमा सत्ता साझेदार दलहरुले देशव्यापी गठबन्ध गर्ने मोटामोटी सहमति गरेका छन्। सुदूपश्चिममा गठबन्धन गर्ने तयारी कस्तो छ?

गठबन्ध गर्न हामी सबै सैद्धान्तिकरुपमा सहमत छौं। संविधानसभाको विघटन गर्ने केपी ओलीको असंवैधानिक कदमविरुद्ध हामीले गठबन्धन बनाएका हौं। गठबन्धनलाई छोडेर चुनावमा जाँदा फेरि पनि केपी ओलीले हिजोको कुरा दोहोर्‍याउने खतरा देखिन्छ। त्यसकारण संविधानको रक्षा गर्न चुनाबी गठबन्धन गर्न गइरहेका छौं। सुदूरपश्चिममा पनि पाँच वटै दलले गठबन्धन गर्न गइरहेको छ।

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशमा सरकार बाहिर थियो, हामीले हालसालै कांग्रेसलाई सरकारमा सहभागी गराएका छौं। त्यसले गठबन्धको बलियो आधारसमेत बनेको छ। सबै दलहरुबीच सैद्धान्तिक सहमति जुटे पनि कुन मोडालिटीमा गठबन्धन गर्ने भन्ने विषय छलफलकै क्रममा छ। कांग्रेसले यसअघि कति पालिका जितेको थियो, माओवादीले कति जितेको थियो, यसैलाई हामीले मुख्य आधार बनाएका छौं। नेकपा एमालेले जितेका पालिकाहरुका विषयमा भने कसरी अघि बढ्ने भन्ने निष्कर्षमा पुगिसकेका छैनौं।

गठबन्धन गर्दैगर्दा पाँच दलले सुदूरपश्चिममा कसरी भागबण्डा गर्दैछ?

कुन दलको राम्रो आधार कुन पालिकामा छ, मुख्य प्राथमिकता हामीले यसैलाई बनाएका छौं। कुन दलले कुन पालिका वा कति पालिका लिने विषय टुंगो लागेको छैन। वैशाख ५ गतेभित्र एउटा प्रतिवेदन जसरी पनि केन्द्रमा पठाउनुपर्ने छ। त्यसपछि कुन दलले कुन-कुन पालिका लिन सक्छन्, त्यसको तयारी गर्छौं। सुदूरपश्चिममा हामीले सकेनौं भने त्यसको छिनोफानो केन्द्रले गर्छ।

सबैको नजर अहिले धनगढी उपमहानगरमा छ। त्यहाँ यसअघि कांग्रेसले जितेको हो। भनेपछि स्वभाविकरुपमा धनगढीमा कांग्रेसले पाउँछ उसो भए?

धनगढी उपमहानगरपालिका कसले लिने भन्ने कुरा अहिल्यै टुंगो लागेको छैन। त्यहाँ कांग्रेसपछिको दोस्रो ठूलो मत माओवादीको हो। त्यसैले दाबी हाम्रो पनि रहन्छ। तर त्यसलाई सहमतिको आधारमा टुंग्याउने कुरा छ। धनगढीमा कांग्रेस वा एकीकृत समाजवादीले दाबी गर्छ वा लिन्छ भने कैलालीका अन्य पालिकामा माओवादीको संख्या बढ्नुपर्छ। तीनवटा पालिका मिलेर उपमहानर बनेको छ भनेपछि त्यो बराबर अरु तीन पालिका अरु दलले पाउनुपर्छ। धनगढी हामीले कांग्रेसका लागि खुला राखेका छौं।

भागबण्डा वडासम्मै हुन्छ कि पालिका प्रमुख-उपप्रमुखमा मात्र केन्द्रीत रहन्छ?

हाम्रो लक्ष्य वडासम्मै भागबण्डा गर्नुपर्छ भन्ने हो। एउटा वडामा एउटा पार्टीले मात्र लिँदा त्यस ठाउँमा मत केन्द्रीत गर्न गाह्रो हुन्छ।

माओवादीले कस्तो व्यक्तिलाई उम्मेदवार बनाउँदैछ?

पहिलो आधार भनेको जित्नसक्ने, पार्टीको विचार र अहिले अवस्थालाई सामाना गर्न सक्ने व्यक्तिलाई नै उम्मेदवार बनाउँछौं। त्यतिमात्र होइन, हामीले अघिल्लो चुनावालाई पनि समीक्षा गर्छौं। अघिल्लो चुनावमा कुन उम्मेदवारले कस्तो मत ल्याएको थियो। कैलालीको कुरा गर्ने हो भने सबै पालिकामा हाम्रो दोस्रो ठूलो मत हो। कञ्चनपुरमा पनि लगभग उस्तै छ। समग्र सुदूरपश्चिममा हेर्ने हो भने पनि माओवादीको मत दोस्रो ठूलो हो। दोस्रो ठूलो मत ल्याउने उम्मेदवार पनि प्राथमिकतामा हुनेछन्। महिला सहभागिताका कुरा पनि छन्। महिला, दलितका विषयलाई माओवादीले नै सुरुदेखि एजेण्डा बनाउँदै ल्याएको अवस्था छ। वडादेखि प्रमुखसम्म कसलाई कसरी समेट्न सकिन्छ, हामीले सबै कुरामा विचार गरिरहेका छौं। कैलाली र कञ्चनपुर आदिवासी जनजातिको आधार भएको जिल्ला हो। त्यसलाई विशेष ध्यान दिन्छौं।

कैलाली, कञ्चनपुरमा थारु कलस्टरको ठूलो उपस्थिति छ। उनीहरुलाई कसरी समेट्ने योजना बनाउनुभएको छ?

कैलाली, कञ्चनपुरमा हेर्ने हो भने माओवादीबाट थारु कलस्टरले मात्र जितेको छ। अरु कलस्टरले चुनाव नै जित्न सकेन। त्यसैले थारु कलस्टरलाई विशेष ढंगले हेरेका छौं। सुदूरपश्चिम प्रदेशमै पनि थारु कलस्टरको ठूलो भूमिका हुनसक्ने हामीले आँकलन गरेका छौं।

पछिल्लो समय माओवादीलाई पहिचान पक्षधरको वकालत गर्न छोडेको भन्ने आरोप पनि लाग्ने गरेको छ?

विशेषतः हामीलाई थारुको एजेण्डा बिर्सिएको भन्ने आरोप लाग्ने गरेको छ। संविधान निर्माण प्रक्रियादेखि हालसम्म थारुका मात्र होइन, पहिचान पक्षधरका एजेण्डा स्थापित गर्न अग्रपंक्तिमा रहेर काम गर्‍यौं। तर सोँचेअनुरुप नसकेकै हो। किनकि संसदमा हाम्रो ‘मेजोरिटी’ छैन। केपी ओली नेतृत्वमा जुन सरकार हामीले बनाएका थियौं, त्यो दुई तिहाइको नजिक थियो। संविधान संशोधन गर्नसकिने अवस्थामा पनि थियो। विडम्बना हामीले एकता जोगाउन सकेनौं। एकता जोगाउन नसक्नुको कारण पनि पहिचानलगायतका एजेण्डा कारण हुन्।

पर्याप्त जनमत ल्याउन नसक्नु हाम्रो कमजोरी रहेको स्वीकार गर्छौं। आज शेरबहादुर देउवालाई हेरौं वा केपी ओलीलाई हेरौं, उहाँहरु कुनै पनि हालतमा पहिचान पक्षधरको वकालत गर्नुहुन्न। बरु त्यसलाई जातीयरुपमा ब्याख्या गर्नुहुन्छ र विभिन्न आरोप लगाउनुहुन्छ।

माओवादीको एजेण्डाअनुसार संघीयता कार्यान्वयन हुँदैगर्दा आदिवासी जनजातिका धेरै कलस्टहरुमा हामी न्याय गर्न सकेका छैनौं। त्यो समस्या आज पनि उस्तै छ। त्यही भएर हामी हरेक सरकारमा मेजोरिटीमा आउनुपर्छ। पहिचान पक्षधरका एजेण्डा स्थापित गर्न सबैले हामीलाई साथ दिनुपर्छ।

जनमत कमजोर हुनु पनि त तपाइँहरुकै दोष होला नि?

दोषी हामी पनि छौं। माओवादी पार्टी विघटन हुनु, पार्टी विघटन भएपछि जनताहरु स्वभाविकरुपमा विकेन्द्रीकरण हुन्छन्। कमजोरी हाम्रो पार्टीको पनि भएको छ। तर समग्रमा माओवादीलाई कमजोर पार्न षड्यन्त्र भएको छ। माओवादीलाई कमजोर पारेर आफूअनुकूल काम गर्न विभिन्न शक्तिहरु लागिपरेका छन्। तर त्यसै बसेका छैनौं। बरु अपूरा कामहरुलाई कसरी पूरा गर्न सकिन्छ भन्नेतिर केन्द्रीत भएका छौं।

सुदूरपश्चिमा माओवादीको ठूलो ‘फ्याक्टर’ लेखराज भट्ट पनि थिए, तर उहाँ अहिले एमालेमा गएको अवस्था छ। उहाँको अनुपस्थितमा सुदूरपश्चिममा माओवादीलाई कस्तो असर पर्छ?

लेखराजजी एमालेमा जाँदैमा माओवादीको जनमतमा खासै असर पर्छजस्तो लाग्दैन। लेखराजजीले लामो समय माओवादीबाट सुदूरपश्चिमको नेतृत्व लिनुभयो। माओवादीले त ठूलो बलिदानी गरेर आजको दिनसम्म आइपुगेको हो। साँच्चै भन्ने हो भने हजारौं युवाहरुको अगुवाइ गर्ने नेता अर्को पार्टीमा जाँदा उहाँप्रति वितृष्णा पैदा भएको छ। उहाँ पटक-पटक मन्त्री हुनुभयो, पटक-पटक ठूलो जिम्मेवारीमा बस्नुभयो। तर चटक्क एक्लै छाडेर जाँदा र माओवादीको नेता कार्यकर्ता सँगै लैजान नसक्नु उहाँको ठूलो कमजोरी छ। त्यसकारण उहाँले आफ्नो कमीकमजोरीलाई ढाकछोप गर्नका लागि र ती कमीकमजोरीबाट भाग्नका लागि उहाँ पार्टी छोडेको बुझिन्छ। उहाँप्रति समर्थन गर्ने माओवादी नेता कार्यकर्ताहरु छैनभन्दा पनि हुन्छ।

माओवादीले सुदूरपश्चिम प्रदेशमा कति पालिका जित्ने लक्ष्य लिएको छ?

हामीले मोटामोटी २५ देखि ३० वटा पालिका सुरक्षित गरेका छौं। माओवादी एक्लै चुनावमा जाँदा पनि २०-२१ सिट ल्याउँछ। गठबन्धन गर्दा २५ देखि ३० पालिका जित्छौं। त्यतिमा हाम्रो दाबी पनि छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *