घोराहीबाट फेरि नरुलाल चौधरी मेयरमा सिफारिस

घोराही उपमहानगरपालिका प्रमुख पदमा नेकपा एमालेबाट दुईजनाको नाम सिफारिस गरिएको छ। एमाले दाङ घोराही उपमहानगर कमिटिले हालका मेयर नरुलाल चौधरी र उपमेयर सीता सिग्देल न्यौपानेको नाम सिफारिस गरिएको जनाएको छ।

हालका मेयर चौधरी पुनः प्रमुख पदमा आकांक्षी छन् भने उपप्रमुख सीता सिग्देल न्यौपाने पनि आकांक्षी छिन्। मेयर चौधरी नेकपा एमालेको पोलिट ब्युरो सदस्य तथा दाङ जिल्ला इन्चार्ज हुन्। त्यस्तै उपमेयर न्यौपाने केन्द्रीय सदस्य तथा पार्टीको जिल्ला सह-इन्चार्ज हुन्।

उपप्रमुख न्यौपानेले ७४ सालको स्थानीय तहको चुनावमा पनि मेयर पदमा दावी गर्दै आएकी थिइन्। न्यौपाने यसपटक भने आफूले मेयर पदमा टिकट पाउनुपर्ने पार्टीमा माग राख्दै आएकी छन्। त्यस्तै घोराहीको उप-प्रमुख पदमा दुई जनाको नाम सिफारिस गरिएको नगर कमिटीको स्रोतले जनाएको छ।

उप-प्रमुखमा हुमा डिसी र हिरा पुनको नाम सिफारिस गरिएको छ। डिसी अखिल नेपाल महिला संघ दाङको जिल्ला अध्यक्ष हुन् भने पुन पार्टीको जिल्ला उप-सचिव हुन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *