शनिबार र आइतबार सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रिपरिषद्‍मा

पेट्रोलियम आयात उच्च दरले बढेपछि दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव गरिएको छ। पेट्रोलियम खपत कम हुन्छ र आयातका लागि कम विदेशी मुद्रा खर्च हुन्छ भन्ने विश्लेषणका आधारमा दुई दिन बिदा दिने प्रस्ताव गरिएको हो।
अर्थमन्त्री जनार्दन शर्माको अध्यक्षतामा बसेको बैठकमा वाणिज्य मन्त्रालयले दुई दिन बिदा दिने प्रस्ताव गरेको हो।

अर्थमन्त्रालयमा मंगलबार अपरान्ह भएको छलफलमा अर्थमन्त्री शर्मा, श्रम मन्त्री किसान श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, गभर्नर महाप्रसाद अधिकारी, अर्थसचिव मधुकुमार मरासिनी, वाणिज्य सचिव डा. गणेश पाण्डे, डेपुटी गभर्नर बमबहादुर मिश्रलगायत अर्थमन्त्रालयको टोली उपस्थित थियो।

‘शनिबार र आइतबार बिदा दिनुपर्छ भन्ने प्रस्ताव आएको हो। यसमा लामै छलफल पनि भएको हो,’ वाणिज्य मन्त्रालय स्रोतले भन्यो, ‘तर यसको निर्णय हामीले गर्ने होइन। मन्त्रिपरिषद्ले गर्नुपर्छ। त्यसैले बिदाका लागि ठाडो प्रस्ताव जान सक्छ।’

शनिबार र आइतबार लगातार दुई दिन बिदा दिँदा उद्देश्यविपरीत मान्छेहरु घुम्न जाने र पेट्रोलियम पदार्थ खपत थप बढ्ने हो कि भनेर पनि छलफल भएको थियो। त्यसो हुँदा बुधबार र शनिबार बिदा दिने हो कि भनेर पनि छलफल भएको थियो।

दुई दिन सार्वजनिक बिदा दिनका लागि आयल निगमले पनि प्रस्ताव गरेको थियो। नेपाल बैंकर्स संघले पनि मन्त्रालय र संसदीय समितिमा प्रस्ताव गरेको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *