एमालेको पर्सा अध्यक्षमा जयप्रकाश थारु चयन

नेकपा एमाले पर्साको ८औँ जिल्ला अधिवेशनबाट संविधानसभा सदस्य जयप्रकाश थारु सर्वसम्मतिले अध्यक्षमा चयन भएका छन्। अधिवेशन सुरु भएको झण्डै तीन महिनापछि शनिबार वीरगन्जको एक होटलमा आयोजित बन्द सत्रबाट अध्यक्ष, पदाधिकारीसहित एक सय ३५ सदस्यीय जिल्ला समिति सर्वसम्मतिले चयन गरिएको हो। अध्यक्षमा निर्वाचित थारु दोस्रो संविधानसभा निर्वाचनमा पर्सा क्षेत्र नं. ४ बाट निर्वाचित भएका थिए।

एमाले वीरगन्ज महानगर कमिटीका उपाध्यक्ष महेश दासका अनुसार उपाध्यक्षमा फरमान अन्सारी, सचिवमा मनोज गुप्ता, उपसचिवमा सन्जीव मिश्र एवं प्रदुमन सेढाई सर्वसम्मतिले चयन भएका छन्। नयाँ कार्यसमितिमा एक सय ३० जना सदस्यसमेत सर्वसम्मतिले चयन भएका दासले जानकारी दिए।

पुस २७ मा उद्घाटन भएको जिल्ला अधिवेशनको बन्द सत्र अनिश्चितकालका लागि स्थगित गरिएको थियो। अध्यक्ष मण्डलका अध्यक्ष प्रभु हजराले बन्द सत्र विशेष कारणले स्थगन गरिएको जनाएका थिए।

अध्यक्ष मण्डलले सर्वसम्मतिले पदाधिकारी र सदस्य चयन गर्न अधिकार अध्यक्ष मण्डललाई दिन प्रतिनिधिहरुबीच प्रस्ताव राखेपछि बन्द सत्रमा विवाद भएको थियो। दुई पक्षबीच कुर्सी हानाहानसमेत भएको थियो। बन्द सत्रमा उपस्थित धेरैजसो प्रतिनिधिहरुले अध्यक्ष मण्डललाई सर्वसम्मतिको अधिकार नदिने र आन्तरिक निर्वाचनबाट पदाधिकारीलगायत कार्यसमिति चयन गर्नुपर्ने अडान राखेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *